site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
दाइ याद छ, तपाईंले भन्नुभएको थियो– देश खाने गजल लेखेछौ...

मिति : २०१८ को जुलाई १६
स्थान : भर्जिनिया (अमेरिका)
समय : बिहानको १२ः३० 

संगीतका गुरु श्याम सुन्दर, स्वरुप र दीपक आचार्य (तबला वादक)ले भने– जाऊँ स्विमिङ गर्न । सत्यलाई खोइ किन हो स्विमिङ गर्न जाने जाँगर चलेको थिएन । उनले भने,– “म आज जान्न है ।” 

उनी एक्लै थिए । त्यतिकैमा अमृत खतिवडा (भान्जा) गजल लेख्छन् । आफ्नै टोलमा कम्युनिकेसन सेन्टर चलाएर बसेका उनी कम्युटरमा गजल लेखेर दिन काट्दा रहेछन् । सत्यले एक दिन देखे– अमृतले गजल लेखिरहेको । भने– “तिमी गजल लेख्छौ ?” 

उनले कम्प्युटर अर्कोतर्फ कोल्ट्याएर लजाउँदै भने– “होइन, कहाँ लेख्नु ।” 

सत्यले कम्प्युटर आफूतर्फ फर्काएर भने– “खोई, हेरौँ त । गजल छन् त !”

बल्ल भने– “हो दाइ, गजल नै हो ।” 

जुन हेर्यो त्यही राम्रा, गज्जब गज्जबका ! सत्य गजल प्रिन्ट गरेर घर फर्किए । 

फूर्सदमा अमृतका गजल सत्यले कम्पोज गर्न थाले । श्याम सुन्दर आचार्यलगायतले उनका गजल गाएका छन् ।

सत्य–स्वरुप अमेरिका गएका बेला श्याम सुन्दरको  (भर्जिनिया)मा नै बस्छन् । 

त्यसैबेला म्यासेन्जरमा अमृत झुल्किए । उनले भनेका थिए, “दाइ मैले यो एउटा गजल लेखेको छु, हेर्नु त, तपाईंलाई कस्तो लाग्छ ।”

गजल थियो– 
मैसाबले घाइते दिलमा आरा चलाइसियो 
लौननी के अच्ममको पारा चलाइसियो 

मतला यही थियो । तर सेरहरू भने मिलाउनुपर्ने देखे सत्यले । 

आफैपनि गजल लेख्ने भएकाले सत्यले अमृतलाई भने, “यसलाई केही मिलाउनुपर्नेछ, म मिलाउँछु है ? राम्रो होला जस्तो छ, भयो भने ट्युन गर्छु है ?” 

उनका सेरहरूलाई सत्यले केही मिलाए । केही थपघट गरे । 

कम्पोजका लागि हार्मोनियम समाते । स्थायीको ट्युन खोज्न थाले । हार्मोनियमको पटरीमा औँलाहारी के चल्न सुरु गरेका थिए, ई–मेजर ६–८ मा ट्युन फुरिहाल्यो ।

यसरी नै उनी धुनमा घोत्लिरहेका थिए । केही परिमार्जन पो राम्रो होला कि भनेर पनि खोजिरहेका थिए । 

डेढ घण्टा बितेछ । स्विमिङ गर्न गएको टोली फर्कियो । त्यतिबेलासम्म उनले– सुकला र ज्युनार पनि गरिसिन्न अचेल, यो कस्तो मुलुकी ऐनको धारा चलाइसियो थपिसकेका थिए । 

अमृतले लेखेको सेर र यसमा फरक थियो । उनी शब्दमै खेलिरहेका थिए । अन्तराको धुन बनाउन पाएकै थिएनन् । 

“श्याम सर हेर्नु न मलाई एउटा धुन आयो, शब्द पनि गज्जब लाग्यो । आइसियो, गइसियो भन्ने दरबारिया शब्दहरू छन् ।” यति भन्दैगर्दा सत्यले समाएको हार्मोनियमबाट धुन निस्किन थालिसकेको थियो । 

श्याम र स्वरुप दुबैले मन पराए । दिनहुँ गीत गाउने र हप्ताहप्तामा बैठकी गर्नेहरू जुटिहाले । स्वरुपले गीतार उठाए, दीपकले तबला बजाउन थाले । स्थायी गाए । चारपटक स्थायी गाइसकेपछि अन्तरामा जाने बेलामा स्वरुपले अन्तरा सुकला र ज्युनार पनि गरिसिन्न अचेलको  ट्युनमै उठाए । त्यही ट्युन हो अहिलेको । मेलो लागेपछि बाँकी सलल बगाए उनीहरूले । १०औं पटक गाए । धारा..., तारा... र नारा... वाला सेरमा गाइरहे । गाइरहे । 

पाँच महिना अमेरिका र एक महिनाको क्यानडा बसाईपछि सत्य–स्वरुपले मातृभूमि टेके । 

उदयराज पौडेललाई एरेञ्जमेन्टका लागि सम्झिए । कारण उनी समय लिएर शब्द र ट्युनिङलाई न्याय गर्छन् । 

नभन्दै उनले भने, “दाइ निकै राम्रो लाग्यो, यसलाई म समय लगाएर मेहनत गर्छु ।”

“एकदिन घरमा बसिरहेका बेला मलाई लाग्यो रफमा छ शब्द । रेकर्ड गर्ने दिन आउन लाग्या, अब फेयसरमा सार्नुपर्यो । सार्दै जाँदा अनायासै अर्को सेर आयो दिमागमा–‘ऐया पनि भन्न नपाई मरिने भो सरकार, जालीम नजर  कस्तो ज्यानमारा चलाइसियो’, सत्य सम्झिन्छन्, “यसरी पाँच सेर भएपछि शब्द फाइनल भयो ।”

उदयले खुब मेहनत गरे । बेलाबेलामा भन्थे, ‘मलाई अझै चित्त बुझेको छैन । अझै वर्कआउट गर्दैछु है ।’

एकदिन ह्वाट्सएपमा उदयको म्यासेज आयो– दाइ एरेञ्जमेन्ट छ, सुन्नुस् है एकपटक कस्तो लाग्छ ।

सुनेर यति उत्साही भए सत्य । बेडमै रहेका उनी जुरुक्क उठेर स्वरुपको कोठा पुगेर सुनाए । स्वरुपलाई पनि एरेञ्जमेन्टले झ्याप्पै छोयो । 

“उदयले यति धेरै मेहनत गरेको रहेछ की हामीले सोचेभन्दा पनि धेरै राम्रो बनाएछ,” सत्य उदयको खुलेर प्रशंसा गर्छन् । 

एरेञ्जमेन्ट बोकेर सत्य–स्वरुप मित्र लामाको संगम स्टुडियो पुगे । मित्र लामाले जिल खाँदै भने– ‘यत्रो ट्रयाक चलाको  ८३ वटा ? यो त मिक्सिङ गर्न पनि धेरै समय लाग्छ ।’

उदयले केही दिनपछि फेरि फोन गरेर भने, “सुरुको एरेञ्जमेन्ट मलाई मन परेन, त्यसैले गीतारमा फेरि बनाएको छु ।’

उनले पठाए । सत्य–स्वरुपले सुने । पहिलाकै राम्रो जस्तो लाग्छ । तर, निरन्तर सुन्दै गएपछि हो रहेछ, पछि पठाको नै राम्रो । अनि रिप्लेस गरे । 

कोभिड–१९ को महामारी सुरु हुनुभन्दा केही समय अगाडि गीत रेकर्ड गरे । 

मिक्सिङ हुन बाँकी थियो । ‘रोयल खानदानको भाषा समेटिएको छ । भिडियो कसरी बनाउने होला’ मनमा छटपटी थियो । यत्तिकैमा सिक्किमे साथी विशाल चाम्लिङको फोन आयो । 

उनले पहिलादेखि नै भनिरहेको थिए– तिमीहरूको एउटा गीत म बनाइदिन्छु । सत्य–स्वरुपलाई लगानीकर्ता भइदिए हुनेथियो भन्ने लागिरहेका बेला कस्तो संयोग ? 

मैसाबले आफ्नो बाटो आफैं खोज्दै गएजस्तो भयो । 

विशालले कैलास राईले लगानी गर्ने बताए । सँगै उनले भने, ‘तिमीहरूको गीतको भिडियोबाट एउटी बहिनी छुकिला शेर्पालाई डेब्यू गराउनुपर्यो । राम्रो डान्स र अभिनय पनि गर्छिन् ।’

पल शाहलाई खेलाउनु पर्छ । अपोजिटमा छुकिलालाई राख्नुपर्छ, विशालको प्रस्ताव थियो । 

पल आफैंमा खारिएको कलाकार । तर उनको जोडी नयाँ ? त्यो पनि कस्ती छिन् थाहा छैन । सत्य–स्वरुपले भने– ‘फोटो हेरौँ त ।’ 

फोटो राम्रो थियो । अर्थात्, सुन्दरी मैसाबको लुक्स थियो । फोटोमा त कन्भिन्स भए सत्य–स्वरुप । तर डान्स ? विशालसँग कुरा सुरु भयो । उनीहरूबीच सहमति भयो– काठमाडौं बोलाएर केही समय डान्स र अभिनय सिकाउने । कुरा मिल्यो । 

चलचित्र ‘हजार जुनिसम्म’ खिच्दा उतै चिनजान भइसकेको रहेछ कविराज गहतराजसँग विशालको । उनीहरूले उनैलाई भिडियो निर्देशन गर्न दिने सहमति गरे । कविले सुदीप बराललाई छायांकारका रूपमा लिए । 

अब चाहियो दरबार । सिंहदरबारबाट कुरा सुरु भयो । मिलेन । भक्तपुर दरबार, शंकर होटल पुगे । त्यहाँ पनि भएन । अन्तिममा उनीहरू पुगे होटल याक एन्ड यति । 

“ज्वरो नापेर, भौतिक दूरी कायम गरेर मात्रै सहभागी प्रवेश गराउँछौँ भनेपछि होटल व्यवस्थापन तयार भयो,” सत्य भन्छन्, “कैलास भने दुई सय कोरस चाहिन्छ भन्छन् । तर महामारीको समयमा यो संख्या घटाउनुपर्छ भनेर स्वरुपले सयजना मात्रै राख्ने भनेपछि त्यसमा कैलासले सहमति जनाए ।”

कविराज र पल गीत सुन्न स्टुडियो मै आएका थिए । कविले भने, “यो गीतले त ठूलो क्यानभास लिन्छ । फिल्मको भन्दा पनि महंगो हुने देख्छु म ।”

सिक्किमबाट छुकिलालाई काठमाडौं झिकाए । डान्स सिकाए । अभिनेत्री लक्ष्मी वर्देबाले उनलाई अभिनय सिकाइन् । 

होटल व्यवस्थापनले छायांकनका लागि १२ घण्टाको समय दिएको थियो । बिहान ७ बजे पुगेर १० बजे सुरु गर्ने कार्यक्रम थियो । तर सोचेजस्तो किन हुन्थ्यो र ? पूरा २३ घण्टा लाग्यो छायांकन सक्दा । 

अडियो मिक्सिङ गर्ने मित्र लामा बिरामी भए । उनी दार्जिलिङ गए । मिक्सिङ कसले गर्छ ? 

८३ वटा ट्रयाक लिएर सत्य–स्वरुप पुगे बीबी अनुरागीको स्टुडियो प्रिज्म । श्यामस्वेत रासाइलीलाई जिम्मा लगाए । उनले पनि अथक मिहिनेत गरेर मिक्सिङ र मास्टरिङ गरे । 

भिडियोमा पललाई डबल रोलमा देख्न सकिन्छ । त्यो स्वरुपको आइडिया हो । 

भिडियोमा कोरसले मुलुकी ऐनको पुस्तक बोकेका छन् भने प्लेकार्ड पनि प्रयोग गरेका छन्; त्यो सत्यले थपेको आइडिया हो । चन्द्रमा र ताराको कन्सेप्ट पनि सत्यकै हो ।

“भिडियोमा २० लाख रुपैयाँ खर्च भयो । लगानी उठ्छ उठ्दैन त्यो तपसिलको पक्ष हो । भोलि यहि गीतका कारण स्टेजमा माँग होला । त्यताबाट पनि लगानी उठ्ला । युट्युबमा भ्युज कस्तो जान्छ । त्यो अझै जानै बाँकी छ । तर गीतले ठूलो क्यानभास माग्यो । प्रोड्युसरले खर्च गरे,” सत्य भन्छन्, “अमृतले मलाई शब्द पठाउँदादेखि हामीले गरेको अपेक्षा गीतले पूरा गरेको छ । गीत त दिनहुँ गाइन्छ । तर यो हाम्रो २८ वर्षको सांगीतिक करिअरमा अर्को कोसे ढुङ्गा हो ।” 

उनले सम्झिए केही दिन अगाडि आफ्नो साथीले गरेको फोन, ऊ भन्दै थियो– ‘यदि अहिले कोभिडको महामारी हुँदैनथियो भने देशविदेशमा हुने अधिकांश कार्यक्रममा तिमीहरूलाई यो गीत गाउन बोलाइन्थ्यो । विवाह, व्रतबन्ध तथा मेला–महोत्सवमा तिमीहरूलाई बोलाइन्थ्यो ।’

सत्यलाई त्यो साथीले भनेको हो जस्तो पनि लाग्यो । कारण उनको २७ वर्षको करिअरमा जति पनि उनलाई गीत सुनेर प्रतिक्रिया आए ति सबैलाई यो गीतको फिडब्याकले उछिन्यो । 

सत्य–स्वरुपले प्रायः राम्रो गीत लेखे वा कम्पोज गरे भने बुवा (भक्तराज आचार्य)लाई सुनाउँछन् । त्यसो भए के उनीहरूले यो गीत भक्तराजलाई सुनाए ?

सुनाएनन् ।

कारण सत्य स्पष्ट पार्छन्– “गीतलाई हामीले सकेसम्म सिम्प्लिसिटी पार्नुथियो । ताकी एकपटक सुन्दैमा सबैको जिब्रोमा झुण्डियोस् । गलाको काम धेरै ठाउँमा गर्न सकिन्थ्यो । तर हामीले गरेनौं । किनकी गीतलाई सामान्य बनाउनु पर्नेथियो । बुवालाई सुनाएपछि अझै गलाको काम गर्नुपर्छ । गलाको काम गर्नुपर्ने धेरै ठाउँ छ । त्यसैले सुनाएनौं ।” 

गीत सार्वजनिक भएपछि अमृतले सत्यलाई सुनाए– “दाइ तपाईंलाई याद छ, मैले म्यासेन्जरमा यो गजल पठाउने बित्तिकै तपाईंले मलाई भन्नुभएको थियो, देश खाने गजल लेखेछौ ।” 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७७  ०८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro