site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नौ महिनापछि नेपाल भारत उडान हुँदै, नेपाली र भारतीयमात्रै यात्रा गर्न पाउने

काठमाडौं । नेपाली र भारतीय नागरिक मात्रै यात्रा गर्न पाउनेगरी नेपाल भारत हवाइ उडानको तयारी गरिएको छ । करिब नौ महिनापछि नेपाल–भारत अन्तर्राष्ट्रिय उडान हुन लागेको हो ।  यसका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ । तर, उडानको मिति भने तय भइसकेको छैन ।   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईका अनुसार मन्त्रिपरिषद् बैठकको निर्णयबारे मन्त्रालयलाई औपचारिक जानकारी आइसकेको छ । 

उनका अनुसार छिट्टै नेपाल भारत उडान सुरु हुनेछ ।  “मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ । छिट्टै उडान सुरु हुन्छ,” उनले भने ।  उनका अनुसार नेपाली र भारतीय नागरिकमात्रै यात्रा गर्ने गरी उडान सुरु गर्न लागिएको हो ।  गत चैतदेखि नेपाल भारत उडान रोकिँदै आएको छ । कोरोनाभाइरस संक्रमणको जोखिम बढेको भन्दै सरकारले गत चैतदेखि अन्तर्राष्ट्रिय उडान बन्द गराएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो बीचमा अन्य मुलुकबाट यसअघि नै हवाइ सेवा सुरु गरिएको भएपनि दुई देशबीच उडान हुन सकिरहेको थिएन । भारत सरकारले प्रस्तावअनुसार नै दुई देशका नागरिकमात्रै यात्रा गर्न पाउने गरी उडान सुरु गर्न लागिएको बताइएको छ ।  भारतले तीनमहिनाअघि नै ‘एयर बबल’ मार्फत उडान सुचारु गर्न नेपाल सरकारलाई पत्र पठाएको थियो । 

भारतको उक्त पत्रपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पनि पठाएको थियो ।  तर, मन्त्रिपरिषद्ले निर्णय नगर्दा उक्त प्रस्ताव रोकिएको थियो । मन्त्रालयको उक्त प्रस्ताव मंसिर १० गतेको मन्त्रिपरिषद्ले स्वीकृति गरेको हो । सरकारले गत भदौमा विदेशमा अलपत्र परेका नेपाली ल्याउन भन्दै खाडी मुलुकबाट नियमित उडान खुला गरेको थियो । 

नेपाल भारत उडान नखोलिँदा नेपाली र भारतीय नागरिक सडकमार्गबाटै आउजाउ गर्दै आएका छन् । मन्त्रिपरिषद्को स्वीकृति पाएलगत्तै मंगलबार मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई पनि पत्र प्राप्त भएको छ ।  प्राधिकरणका उपमहानिर्देशक एवम् प्रवक्ता राजकुमार क्षेत्रीले दैनिक दुईवटा उडान हुने गरी मन्त्रालयलबाट जानकारी आएको बताए ।
परराष्ट्र मन्त्रालयमार्फत भारतको नियामक निकायसँग ‘एयर बबल’ स्वरुपमा हवाइ उडान गर्न दिने नेपाल सरकारको औपचारिक निर्णयबारे जानकारी गराइने छ ।  त्यसपछि भारत सरकारले भारतीय कुनै पनि विमान कम्पनीलाई नेपालमा उडान गर्न दिनेछ । त्यसपछि प्राधिकरणले उडान तालिका सार्वजनिक गर्नेछ । दैनिक एक–एक उडान हुने

सरकारले तत्कालका लागि दुबै देशबाट एक–एकवटा उडान हुने गरी अनुमति दिएको छ ।  नेपालबाट नेपाल वायुसेवा निगमले भारतमा नियमित उडान गर्दै आएको थियो ।  सोहीअनुसार नेपाल एयरलाइन्सले काठमाडौं–दिल्ली–काठमाडौं उडान गर्नेछ ।  भारतबाट नेपाल आउने विमान कम्पनीको टुङ्गो भारतले नै गर्नेछ । 
त्यसपछि उडान सुरु हुनेछ । सम्भवतः एक सातामा उडान हुन सक्ने प्रवक्ता क्षेत्रीले बताए ।

नेपाल एयरलाइन्सले लकडाउन अगाडि भारतको मुम्बई, दिल्ली र बैंग्लोर उडान गर्दै आएको थियो ।  नेपाल एयरलाइन्सले मुम्बई र बैंग्लोरमा सातामा तीन–तीन उडान गर्दै आएको थियो भने दिल्लीमा दैनिक २ उडान गर्दै आएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  १८:४२
प्रतिक्रिया दिनुहोस्