site stats
बाह्रखरी :: Baahrakhari
खेल
गोपी र पुष्पालाई नेपालगन्ज म्याराथनको उपाधि

नेपालगन्ज । सशस्त्र प्रहरी बल (एपीएफ) का गोपीचन्द्र पार्कीले छैटौं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् । महिला हाफ म्याराथनमा एपिएफकै पुष्पा भण्डारी च्याम्पियन बनेकी छिन् ।

दुवै गत वर्ष नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी हुन् । गोपीले ५ हजार मिटरमा स्वर्ण र पुष्पाले म्याराथनले रजत पदक जितेका थिए । उपाधिसँगै पार्कीले अर्को वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकका लागि आफ्नो स्थान सुरक्षित गरेका छन् । २५ खेलाडीको सहभागिता रहेको म्याराथनमा पार्कीले २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा दौड पूरा गरेका थिए । नेपाली खेलाडीले स्वदेशमा दौड पूरा गरेको यो उत्कृष्ट समय हो । यसअघि भूमिराज राई २ घण्टा २० मिनेट ४० सेकेन्डको उत्कृष्ट समय थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बीपीचोक सुरु भएर कोहलपुर चौराहा, उत्तरतर्फ कौशिलानगर पुगेर सोही रुट हुँदै बीपीचोक पुगेर दौड पूरा गर्ने क्रममा नेपाली सेनाका कृष्ण बस्‍नेत दोस्रो भएका थिए । बस्‍नेतले २ घण्टा २० मिनेट ४९ सेकेन्डमा दौड पूरा गरे । त्यस्तै सेनाका खगेन्द्र भाटले तेस्रो स्थान हासिल गर्न २ घण्टा २७ मिनेट २८ सेकेन्ड समय लगाए ।

पुष्पाले १ घन्टा २६ मिनेट ५४ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । महिलातर्फ १० खेलाडी दौडँदा जुम्लाकी मन्जु राउत (१ घण्टा ३० मिनेट ०७ सेकेन्ड) दोस्रो र दाङकी शर्मिला घर्ती (१ घण्टा ३८ मिनेट १४ सेकेन्ड) तेस्रो भएकी थिइन् ।

सुदूरपश्चिमकी शकुन्तला ठगुन्‍ना चौथो, दाङकी अनिशा चौधरी पाँचौं, बर्दियाकी कल्पना चौधरी छैटौं, बाँकेकी अंकिता गुरुङ सातौं र कास्की ललिता लामिछाने आठौं भएकी थिइन् । पुष्पाले ३० हजार, मन्जुले २० हजार र शर्मिलाले १० हजार रुपैयाँ प्राप्त गरिन् । शकुन्तलाले ८ हजार, अनिशाले ७ हजार, कल्पना ५ हजार, अंकिताले २ हजार ललिताले १ हजार रुपैयाँ प्राप्त गरिन् ।

म्याराथनमा सेनाका नवराज साउद चौथो, ज्ञानप्रसाद भट्टराई पाँचौं, सुदूरपश्चिमका मुकेशबहादुर पाल छैटौं, कालीकोटका जगदीश गिरी सातौं र दाङका सनम घर्ती आठौं भए ।

गोपीले ७५ हजार, कृष्णले ३० हजार, र खगेन्द्रले १० हजार रुपैयाँ प्राप्त गरे । नवराजले १०, ज्ञानप्रसादले ८, मुकेशले ७ हजार, जगदीश ६ र सनमले ५ हजार रुपैयाँ प्राप्त गरे । 

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७  २३:४३
प्रतिक्रिया दिनुहोस्