site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
चिनियाँ राजदूतको अकूटनीतिक सक्रियता  
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादमा नेपालस्थित चिनियाँ राजदूतको सक्रिय संलग्नता नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हो । यस्तो हस्तक्षेप नेकपाका नेताहरूका आपत्तिजनक नभए पनि देशको हितमा हुँदैन । सत्तारुढ नेकपामा विवाद चर्किँदा विगतमा पनि पटकपटक चिनियाँ राजदूत हाउ यान्छी पटकपटक सक्रिय हुने गरेकी थिइन् । गत वैशाख र असारमा जस्तै यसपटक पनि राजदूत हाउ यान्छी सक्रिय हुन पुगेकी छिन् । नेकपाको विवाद चरममा पुगेकै बेला मंगलबार राति चिनियाँ राजदूतले प्रधानमन्त्री केपी ओलीसँग भेट गरिन् । राजदूत हाउ यान्छीसँग भेटेपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको समाचार सार्वजनिक भएको छ । राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीभन्दा पहिले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा राष्ट्रपति भण्डारीको सक्रिय संलग्नता पदको गरिमा सुहाउँदो विषय होइन । राष्ट्रको सर्वोच्च पदमा रहेको व्यक्ति दल विशेषको आन्तरिक मामिलामा नमुछिएको भए नै देश, जनता र स्वयं राष्ट्रपति भण्डारीका लागि हितकारी हुन्थ्यो । त्यसमाथि छिमेकी देशका राजदूत यसरी कुनै पार्टी विशेषको आन्तरिक विवादमा सक्रिय हुनु त झन् बढी अमर्यादित र आपत्तिजनक विषय हो । प्रधानमन्त्री ओलीलगायत नेकपाका नेताहरू स्वयंले नै यस्ता विषयमा ध्यान दिनुपर्ने थियो । दलगत राजनीतिक स्वार्थका लागि राष्ट्रपति पदको मर्यादामा चोट पुर्‍याउँदा वा विदेशी हस्तक्षेप आमन्त्रित गर्दा राष्ट्रिय राजनीतिमा दूरगामी नकारात्मक प्रभाव पर्छ । राष्ट्रपति भण्डारी र राजदूत हाउ यान्छीको अनुपयुक्त सक्रियताबाट स्वयं नेकपा र त्यसका नेताहरूको लोकतन्त्र र राष्ट्रिय स्वाभिमानप्रतिको प्रतिबद्धतामा प्रश्न उठेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चिनियाँ कम्युनिस्ट पार्टीको ‘मेन्टरसिप’ स्वीकार गर्न सक्छ । कम्युनिस्ट पार्टीहरूबीच यस प्रकारको सम्बन्ध रहिआएको पनि हुन्छ । तर, त्यसको अर्थ पार्टीको आन्तरिक विवादमा राजदूत सक्रिय हुनु उचित हुन्छ भन्ने होइन । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले जनवादी गणतन्त्र चीनको प्रतिनिधित्व गर्ने हो । राजदूत दुई कम्युनिस्ट पार्टीबीचको सम्पर्क अधिकृत पक्कै होइनन् । छिमेकी मुलुकको आन्तरिक राजनीतिमा यसरी सक्रिय हुने राजदूत यान्छीको शैलीले चीनप्रति नेपाली जनतामा रहेको सद्भाव खलबल्याउन सक्छ । चीनप्रतिको सद्भाव नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्ने चिनियाँ कूटनीतिक शैलीका कारण कायम रहेको हो । विगतमा भारतीय राजदूतहरूले गरेको गल्ती अहिले चिनियाँले दोहोर्‍याउँदा त्यसको प्रतिफल पनि फरक हुनेछैन । नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप नरुचाउने नेपालीहरूले चिनियाँ हस्तक्षेप पनि पक्कै राम्रो मान्ने छैनन् । चीनप्रति नेपाली जनताको सद्भाव खलबलिन नदिने हो भने चिनियाँ राजदूतले नेपालको राजनीतिमा अनावश्यक चासो र सक्रियता पनि देखाउनु हुँदैन। कूटनीतिमा संयम भन्ने पनि त हुन्छ होला नि ! 

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७  १४:४३
प्रतिक्रिया दिनुहोस्