रिसको मौन इतिहास

निर्जला अधिकारी

 रिसको मौन इतिहास

मानिस आवेगात्मक प्राणी हो । चाहेर नचाहेर प्रेम, घृणा, रिस, सहानुभूति, तिरस्कारजस्ता आवेगबाट मानव जीवन टाढा छैन । ’रिस’ जस्तो संवेदनाका बारेमा  खुलेर चर्चा गर्न हामी अझै धक मान्छौँ । रिसको इतिहास अरु मानव संवेदनाको इतिहास झैँ छलफलको मूलधारमा  आएको देखिँदैन । हामी रिसविनाको जीवन त बाँच्दैनौ तर त्यसलाई मानव संवेदनाको रुपमा लिएर बहस गर्न पनि सकिरहेका छैनौ ।

रिस व्यवस्थापनमा जति पुस्तकहरु स्वयंमा रिसका बारेमा लेखिएका रहेनछन् । रिसलाई हामीले कहिल्यै अरु मानव संवेदना झैँ सामान्यीकरण गरेनौ । फलस्वरुपः  ’रिस’ का बारेमा बोल्नु कहिल्यै उचित ठानिएन ।  आज पनि रिसको नाम सुन्नेबित्तिकै  यो त खराब आदत हो भन्ने हामीलाई लाग्छ । यसले रिस बारे हुने बृहतर छलफललाई रोक्ने गर्छ ।

हामी किन रिसाउँछौ ? किन असन्तुष्टिका हुन्डरी चलेका बेला अरुको झैँ हाम्रो आवाज पनि चर्को हुने गर्छ ? दुई चार शब्द गालीका दिएरै भए पनि किन हामी आफ्नो रिस शान्त पार्छौँ ? रिस बारे प्रश्नहरु कैयौं छन् तर किन हामी रिस शब्द सुन्नेबित्तिकै पन्छिन्छौँ ? किन भन्न सक्दैनौ अरुजस्तै म पनि रिसाउँछु, मेरो पनि रिस कडा छ ? मैले पहिलोपटक सार्वजनिकरूपमा ‘म रिसाउँछु’  भनेर उद्घोष गरेको सुनेको केदारभक्त माथेमाले हो । सुन्दासुन्दै मलाई लाग्यो यसभन्दा सही र सटीक अभिव्यक्ति अरु हुन सक्दैन ।

मानिस रिस बेगरको प्राणी त पक्कै होइन तर हरेकपटक रिसको अस्तित्वलाई हामी नकार्न खोज्छौँ । नाट्यशास्त्रका व्याख्याता भरत मुनिले व्याख्या गरेका नवरसमध्ये क्रोध पनि एक हो  जसको सामान्य अर्थ रिस नै हो । उनका अनुसार रौद्रताको स्थायी भाव नै क्रोध हो जसको अस्तित्व मानवीय संवेदनाको  अभिव्यक्त्तिमा  सधैँ रहन्छ ।
हो हामी रिसाउछाैँ जस्तो की प्रेम गर्छौँ, खुसी हुन्छौँ, दुःखी हुन्छौँ । हामीसँग अपूर्णता, अप्राप्ती, र  असन्तुष्टीहरु छ  त्यसैले त क्रोध पनि छ ।  त्यसैले त हामी झर्कन्छौँ, खुट्टा बजार्छौँ, चिच्याउछौँ, रुन्छाैँ, गाली गर्छौँ । अपूर्णता, असन्तुष्टि नभए सायद रिस पनि हुँदैनथियो ? तर किन रिसको इतिहास प्रेमको इतिहास झैँ खुलापनको राजमार्गमा  आएन ? किन हामीलाई रिस पनि आवश्यक छ भन्ने लागेन ?  मलाई लाग्छ, सामाजिकीकरणसँगै रिस बिस्तारै सामाजिक वर्जना (ट्याबु) बन्यो जसलाई खुलारुपले हामीले स्वीकार्न सकेनौ । जब यो नियन्त्रणको सीमाबाट नाघ्यो तब यस्ले अर्को विध्वंसको रुप लियो जस्तो हत्या, मानहानि, दुर्व्यवहार आदि इत्यादि ।

सामान्य शब्दमा रिस असन्तुष्टि, अपूर्णता, अप्राप्तिहरु व्यक्त गर्ने  माध्यममात्र हो । रिसाउन हामी स्वतन्त्र छौँ भने हाम्रा असन्तुष्टिहरु पनि अरु सामान्य संवेदना जसरी  अहिंसात्मकरुपमा नै बाहिर निस्कन्छन् । उदाहरणका लागि उदार समाजमा  गरिने बौद्धिक बहस वा  प्रतिक्रिया रिसको अभिव्यक्ति नै हो  तर यो व्यक्त गर्दा कोही हिंसात्मकरुपमा प्रस्तुत हुँदैन । तर, जब हामी असन्तुष्टि व्यक्त गर्न सक्दैनौ तब रिसको अभिव्यक्ति कठोर पनि बन्न पुग्छ ।  हामी चिच्याउछाैँ, चिच्याउँदा पनि भएन भने हामी गालीसम्म पुग्छाैँ । समयमै रिसलाई अभिव्यक्त गर्न नसके त्यसको परिणाम सुमधुर नहुन पनि सक्छ ।

रिसका सम्बन्धमा एउटा पौराणिक प्रसङ्ग एकदमै रोचक लाग्छ ।  धेरैलाई थाहा छ, दुर्वासालाई रिसाहा ऋषि भन्ने गरिन्छ । उनका रिसका प्रसङ्गहरु पुराणहरूमा प्रशस्तै भेटिन्छ ।  तीमध्ये  उनले शकुन्तलालाई दिएको दिएको श्राप पनि एक हो । अचम्म, त्यस्ता विद्वान् ऋषि भएर पनि किन उनले राजा दुष्यन्तको प्रेममा डुबेकी शकुन्तलालाई त्यस्तो श्राप दिए — जसलाई उनले प्रेम गरिन् उसैले बिर्सियोस् भनेर । उनको रिसको अभिव्यक्ति ऋषि सुहाउँदो छैन । 

रिसको इतिहासलाई पुरुषत्वसँग पनि जोडेर हेरिन्छ । छोराहरु छोरीको तुलनामा सजिलै रिस व्यक्त गर्छ्न् । आज पनि छोरीहरु रिसाएर दुई चार शब्द श्लील अश्लील गालीका दिनुलाई  अचम्म मानिन्छ भने पुरुषले प्रशंसा गर्दा तिनै शब्दहरु प्रयोग गर्नुसमेत स्वाभाविक ठानिन्छ । 

रिसाउनु असन्तुष्टि व्यक्त गर्नु पनि हो ।  कहिलेकाहीँ रिसाउन पनि जान्नुपर्ने रहेछ । तीन वर्ष एउटा निजी संस्थामा काम गरेँ । सयभन्दा  बढी महिला कर्मचारी भएको उक्त  संस्थामा जब केही विषयमा छलफल हुन्थ्यो चर्को बोली सधैँ पुरुषहरूकै हुन्थ्यो । असन्तुष्टि त हाम्रा पनि थिए । रिस त हामीलाई पनि उठ्थ्यो । तर किन हामी नरिसाएझैँ गर्छौँ ?  कहिलेकाहीँ लाग्थ्यो कोही महिला उठोस् र भनोस् तिमी जे बोल्दैछौ त्यो गलत हो ।  हामी कसैले सकेनौ । किनभने घरबाट निस्कदाँ सधैँ एउटै वाक्य सुन्नुपथ्र्याे न रिसाएस् है !  कसैले भनेनन् हामीलाई  केही मन नपरे रिसाउने पनि गर, टेबल ठोक्ने पनि गर भनेर ।  आजकल त्यस्तै मिटिङसिटिङमा रिसाउन नजानेकोमा पनि पछुतो लाग्छ ।

रिसलाई हामी दबाउन सकौँला तर मानव संवेदनाबाट सिंगो रिस अस्तित्व नकार्न सक्दैनौ । हामी माथेमा सरले जसरी म रिसाउँछु मलाई रिस उठ्छ भन्न नसकौला । रिसका पनि व्यक्तिगत र सामूहिक आयामहरु हुँदा रहेछन् । व्यक्तिगत रिसलाई शान्त पार्न जति सजिलो छ सामूहिक रिसलाई त्यति नै गाह्रो । जब रिस व्यक्तिप्रति लक्षित नभई सामूहिक प्रतिक्रिया चासो र सुनुवाइ रोज्छ भने त्यो रिसको सामूहिक आयाम नै हो । सायद सभा, सम्मेलन, आन्दोलन, मोर्चा सामूहिक रिस व्यक्त गर्ने माध्यम नै हुन् । सामूहिक रिसको व्यक्तिगत स्तरको अभिव्यक्ति कमजोर बन्न पुग्छ । त्यसका लागि सामूहिक अभिव्यक्ति नै चाहिन्छ ।  

रिसको बारेमा कम छलफल भएको त हो तर पूर्वीय दर्शनमा क्रोधको व्याख्या भरतमुनिको नाट्यशास्त्रदेखि रामायण, महाभारत सबैमा भेटिन्छ । समयसँगै हामीले रिसको इतिहास र अस्तित्वलाई नकार्न खोजेका मात्र हाैँ । दुनियाँमा रिसलाई अभिव्यक्त गर्ने तरिका पनि विभिन्न किसिमका भेटिन्छन् । मलाई लाग्छ, रिसलाई अभिव्यक्त गर्नु भनेको कम मानव हुनु होइन त्यो त मानव हुनुमात्रा नै हो । अब त रिस व्यक्त गर्न ‘ह्यासट्याग’मात्र पनि काफी छ ।  त्यसैले रिसलाई कुण्ठित राख्ने होइन अभिव्यक्ति गर्ने सुन्दर तरिका रोजौँ । फलस्वरूप हाम्रो रिसको अन्त्य कम हानिकारक बनोस् ।
 

प्रतिकृया दिनुहोस
ad