site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मनोवैज्ञानिक दृष्टिमा तिहार

तिहार नेपालीहरूको सांस्कृतिक पर्व हो । बहुआयामिक पर्व तिहारको मुख्य दिन भाइटीका भएकाले यसलाई दिदीभाइबीचको सम्बन्धलाई प्रगाढ बनाउने पर्वका रूपमा लिइन्छ । हिन्दु संस्कृतिमा दाइ र बहिनीबीचको सम्बन्धलाई निकै पवित्र एवम् भावनात्मक मानिन्छ । आफ्नो अति व्यस्त समयको कुनै पर्वाह नगरी यमराजसमेत बहिनी यमुनाको घरमा पाँच दिनलाई अतिथिका रूपमा बसेकाले यी पाँच दिनलाई यमपञ्चक भनिन्छ । यी दिनमा यमराजसँग सम्बन्धित काग, कुकुर तथा मातृशक्ति लक्ष्मी र गाईगोरुको पूजा गर्ने परिपाटी हिन्दु समाजमा छ । फूल र रङको पर्व एवम् उज्यालो पर्वका रूपमा समेत चिनिने तिहारका धार्मिक, सांस्कृतिक, सामाजिक तथा मनोवैज्ञानिक महत्त्व देखिन्छ । यस आलेखमा भने तिहारको मनोवैज्ञानिक महत्त्वमाथि सिंहावलोकन गर्ने प्रयास गरिएको छ ।

ऋग्वेदको दसौँ मण्डलमा यमयमी संवाद रहेको छ । भर्खर किशोरावस्थामा प्रवेश गरेकी यमीले आफ्ना जुम्ल्याहा दाजु यमलाई आफूसँग यौन सम्पर्कका लागि अनुरोध गर्छिन् । यमले धर्मविरुद्ध भएकाले सहोदर बहिनीसँगको सम्बन्ध अस्वीकार गर्दै कुनै अन्य पुरुषको खोजी गरी शारीरिक सन्तुष्टि लिन बहिनीलाई सुझाउँछन् । गर्भमा समेत सँगै बसेकाले आफूहरुको सम्बन्ध नैसर्गिक र प्राकृतिक हुने भएकाले पुंसत्वहीन कुरा नगर्न यमीले आग्रह गर्दा कत्ति पनि विचलित नभई भाइबहिनीबीच शारीरिक होइन आत्मिक सम्बन्ध रहनुपर्नेमा यम कटिबद्ध रहँदै बहिनीको प्रस्ताव स्वीकार गरेमा आफ्नो हृदय र प्राणको नाश हुने बताउँछन् । बहिनीले जतिसुकै जिद्दी र घुर्की लगाए पनि आफ्नो नैतिक चेतनाबाट विचलित नभएकाले दाजुबहिनीबीचको आत्मिक प्रेमको प्रतीकका रुपमा धर्मराज यम रहेको देखिन्छ । यमीमा चढेको यौनवासना नैतिक बलका माध्यमबाट साम्य पार्न सकेका यम आफ्नी बहिनीसँग यौन सम्बन्ध नराखी आत्मिक सम्बन्ध स्थापना गर्ने अनुकरणीय व्यक्तित्वका रुपमा रहेका छन् । समयान्तरमा सत्चरित्रवान् आदर्शपुरुष आफ्ना दाजु यमलाई श्रद्धा र सम्मान गर्न यमीले आफ्नो घरमा अतिथिका रुपमा बोलाएको कथासँग तिहारको परम्परा जोडिएको छ ।     

Prabhu Bank
Agni Group
NIC Asia

मनोविज्ञानमा फ्रायडको मनोविश्लेषण सिद्धान्तको आफ्नै महत्त्व रहेको छ । यस सिद्धान्तले बाल्यकालीन अनुभव र अनुभूतिबाट व्यक्तित्व निर्माण भई व्यक्तिको सम्पूर्ण जीवन निर्देशित र नियन्त्रित हुने मान्यता राख्छ । यस सिद्धान्तअनुसार दाजुभाइ तथा दिदीबहिनी आफैँमा प्राकृतिक शत्रु हुन् । दाइ वा दिदीले खाँदै आएको दुधमात्र नभएर आमाबाबुको मायाममता समेत भाइबहिनीले खोसिदिने भएकाले उनीहरूको सम्बन्धलाई प्राकृतिकरूपमै वैरभावपूर्ण मानिएको हो । फ्रायडले ‘इडिपस’ र ‘इलेक्ट्रा’ ग्रन्थी (कम्प्लेक्स)लाई निकै महत्त्व दिएका छन् । उनका अनुसार मान्छे जन्मेदेखि नमरुन्जेल लिबिडो (यौन)द्वारा सञ्चालित हुन्छ । जन्मेको ५–७ वर्षको उमेरमै बच्चाबच्चीहरू छोरा आमाप्रति र छोरी बाबुप्रति आकर्षित हुने तथ्य उनले अघि सारेका छन् । हुर्कँदै जाँदा बिस्तारै व्यक्ति विपरीत लिङ्गीप्रति आकर्षित हुने क्रममा दाइभाइ दिदीबहिनीबीचमा पनि एक प्रकारको आकर्षण सुरु हुने मान्यता यस सिद्धान्तमा पाइन्छ । यतिबेला किशोरकिशोरीलाई नैतिक शिक्षा दिन सकिएन भने उनीहरूबाट अकल्पनीय घटना  हुन सक्छ । पश्चिमा मुलुकमा सहोदर किशोरकिशोरीका बीचमा शारीरिक सम्पर्क भएका घटना निकै सुनिन्छन् तर पूर्वमा दाइभाइ दिदीबहिनीबीच लक्ष्मणरेखा कोर्ने काम तिहारजस्ता पर्वले गरेका छन् । दिदीबहिनीबाट आशीर्वाद थाप्ने तथा दिदीबहिनीलाई श्रद्धा र सम्मान व्यक्त गर्न सिकाउने पर्व तिहारले दिदीभाइ र भाइबहिनीका बीचमा अनैतिक सोचसम्म आउन नसक्ने वातावरण सिर्जना गरेको हुन्छ । यस अर्थमा तिहार भाइबहिनी तथा दाइदिदीबीच स्वच्छ र स्वस्थ सम्बन्ध विकासको आधार बनेको छ । दिदीबहिनीलाई श्रद्धा गर्नुपर्ने धारणा विकसित भएपछि उनीहरूबीचमा आफ्ना भावना साटासाट गर्न र गल्ती भएका ठाउँमा सुधार र क्षमादान गर्नसमेत निकै सहज हुन्छ ।

छोरीलाई बिहे गरेर पराई घरमा पठाउने परम्परा भएकाले छोरीमा लघुता ग्रन्थी (इन्फेरियर कम्प्लेक्स) विकसित भएको हुन्छ भने बाबुआमाको सम्पूर्ण सम्पत्तिसहित घरमै बस्ने दाइ वा भाइमा यहीँ कारण उच्चता ग्र्रन्थी (सुपेरियर कम्प्लेक्स) सिर्जना हुन्छ । पितृसत्ताका कारण धनसम्पत्तिमा दाजुभाइको बढी हक लाग्ने देखिए पनि श्रद्धा र सम्मान दिदीबहिनीलाई दिनुपर्ने सांस्कृतिक मर्यादाले यी दुवैबीचमा सन्तुलन गर्ने सेतुकै काम गरेको देखिन्छ । सबै प्राणी आत्मकेन्द्री (इगोसेन्ट्रिक) हुन्छन् । अर्थात्, आफ्नो स्वार्थलाई पहिलो महत्त्व दिन्छन् । मानिस सबै प्राणीमध्ये श्रेष्ठ प्राणी भएकाले इगोलाई नियन्त्रण गर्ने प्रयास गरेको हुन्छ तर पनि उसमा आफूसँग भएको चिजलाई कम महत्त्व दिने अनि गुमेको चिजलाई निकै महत्त्व दिने प्रवृत्ति हुन्छ । यसैले ‘फुत्केको माछो ठूलो’ भन्ने गरिन्छ । आमाबुबा तथा जन्मघर छोडेर गएकी चेलीलाई माइतीघर प्रिय लाग्नु स्वाभाविकै हो । यसका अतिरिक्त आफ्ना घरका अभाव र अप्रिय चिजबाट आफ्नो मनमा परेको चोटबाट आफूलाई बचाउन माइतीघरको ममता सुरक्षा कबच (डिफेन्स मेकानिजम)का रूपमा आउन सक्छ । युवावस्था रक्त सम्बन्धबाट टाढिँदै विपरीत लिङ्गीप्रति बढी आकर्षित हुने अवस्था भएकाले एउटै लाम्टो चुसेका तथा एउटै गर्भबाट जन्मेका सन्तानका बीचको सम्बन्धलाई पुनर्ताजगी गराउने काम पनि तिहारजस्ता पर्वले गर्छन् । अन्तर्सम्बन्ध विकासलाई समेत बढावा दिने तिहारले दिदी र भाइबुहारी तथा भाइ र भिनाजुबीचसमेत भावनात्मक सम्बन्धको विकासमा सहयोग पु¥याउँछ । एउटै दुध खाएका भाइबहिनीका बीचमा मात्र नभएर उनीहरूका सन्तानबीचको सामीप्य वृद्धिमा समेत तिहारले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।

Global Ime bank

साना बालबालिकाका लागि दसैँ महत्त्वपूर्ण भएजस्तै युवायुवतीका लागि सामाजिक सम्बन्ध, नैतिक मर्यादा, पशुपन्छीप्रति ममता प्रदर्शन गर्ने भावनाको विकास तथा प्रकृति, मानव र ईश्वरबीचको त्रिकोणात्मक सम्बन्धको अनुभूतिका लागि पनि तिहार निकै उल्लासमय र समृद्ध पर्व हो । समूहकार्य विस्तार गर्नका साथसाथै सहिष्णुताको सन्देश दिने तिहार सांस्कृतिक पर्व त हो नै यसका अतिरिक्त मानसिकरूपमा स्वस्थ राख्न युवायुवतीलाई अनुप्रेरित गर्ने अवसर पनि बनेको छ । वर्तमान सन्दर्भमा आफ्नो घरबाट अध्ययन वा रोजगारीका लागि टाढिएका व्यक्तिलाई आफ्नै समाजमा उपस्थित हुने अवसर समेत प्रदान गरेकाले बाल्यकालीन साथीसङ्गाती बीचको पुनर्मिलन गराउने रङ्गीन पर्वका रूपमा समेत तिहार स्थापित हुँदै आएको छ । देउसी र भैलोका माध्यमबाट समाजलाई दान गर्न पे्ररित गर्ने एवम् सङ्कलित रकमबाट समाजसेवा हुने काम गर्ने प्रचलनले सामाजिक घुलमिल तथा सार्वजनिक कार्यमा युवालाई सक्रिय पार्ने माध्यम समेत तिहार बनेको देखिन्छ । महामारीका कारण यस पटक देउसी भैलो जस्ता कार्यक्रम गर्न नसकिए पनि अवस्था सामान्य भएको समयमा सामाजिक भावको विकास तथा सामुहिक एकताका दृष्टिले समेत तिहारको महत्त्व विशिष्ट रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७  १५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC