बाह्रखरी
भर्खरै
sticky  ncell
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
विचार उद्योग वाणिज्य महासंघमा कस्तो नेतृत्व ? रामचन्द्र संघई
बाह्रखरी - सोमबार, कात्तिक २४, २०७७
Laxmi Bank
Laxmi Bank

नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान करिब ७८ प्रतिशत रहेको छ । देशले उदार अर्थनीति अवलम्बन गरेसँगै निजी क्षेत्रको संख्यात्मक र गुणात्मक वृद्धि बढ्दो क्रममा छ । पहिलो राष्ट्रिय आर्थिक गणना, २०७५ ले नै देशभर कुल ९ लाख २३ हजार ३५६ औद्योगिक व्यावसायिक प्रतिष्ठान रहेको तथ्यांक सार्वजनिक गरेको थियो । राष्ट्रिय योजना आयोगमातहतको केन्द्रीय तथ्यांक विभागको यो अध्ययन नै निजी क्षेत्रका सम्बन्धमा देशैभर गरिएको पहिलो विस्तृत अध्ययन हो । यसलाई आधिकारिक मान्ने हो भने मुलुकको अर्थतन्त्रको मेरुदण्डमात्र नभई सम्पूर्णरुपमा जीवन नै निजी क्षेत्र हो भन्न संकोच मान्नु पर्दैन । 

निजी क्षेत्रबाट सञ्चालित यी सबा ९ लाख प्रतिष्ठानमा ३४ लाख ८ हजार ७४६ जनशक्तिले रोजगारी पाएको छ जसमध्ये ४ लाख ६२ हजार ६ सय ५ वटा प्रतिष्ठान अर्थात् कुल संख्याको ५०.१ प्रतिशत दर्ता भएका छन् । तर, ४ लाख ६० हजार ४ सय २२ वटा प्रतिष्ठान अर्थात कुल संख्याको ४९.९ प्रतिशत संस्था कुनै पनि सरकारी निकायमा दर्ता नभएरै सञ्चालन भइरहेको देखिन्छ । यसरी हेर्दा मुलुकमा निजी क्षेत्रको विकास र विस्तारको गति अविश्राम छ भने सँगसँगै अनौपचारिक अर्थतन्त्रको जालो पनि निकै ठूलो देखिन्छ । 

निजी क्षेत्रका देशैभरका ससाना इकाइलाई राज्यसँग जोड्ने काम भने व्यवसायीका प्रतिनिधिमूलक संघ संगठनहरुले नै गर्छन् । निश्चय पनि नेपालमा हामी उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले नै उहाँहरुको मतको प्रत्यक्ष वा अप्रत्यक्ष प्रतिनिधित्व गरिरहेको छ ।

Rohto Landing

Agani Group

यसैले महासंघप्रति सामान्य व्यवसायीको मात्र नभई राज्यको पनि भरोसा छ र नागरिकको पनि उत्तिकै अपेक्षा रहेको देखिन्छ । हामीले यति गौरवमय संस्थाको छातामुनी रहेर काम गर्ने अवसर पाउनुलाई आफ्नो अहोभाग्य ठानेका छौँ । 

महासंघ आफैँमा ६ दशक पुरानो संस्था हो भने यसको गौरवमय गरिमा र अग्रजहरुको विरासत धान्ने अवसर हामीले पाएका छौँ । महासंघमा आवद्ध भएर मुलुकको निजी क्षेत्रसहित समग्र चेम्बर अभियान तथा मुलुकको आर्थिक विकासका लागि ‘थिंकट्यांक’का रुपमा काम गर्न पाउनुलाई हामीले जीवनको अमूल्य अवसरका रुपमा लिएका छौँ र त्यसलाई सदुपयोग गर्नु आवश्यक छ । यसैले महासंघको कार्यकारिणी समितिमा विगत डेढ दशकदेखि म रहँदै गर्दा मुलुकको समुन्नति र समृद्धिका लागि महासंघको भूमिका कतिसम्म रहन सक्छ भनेर मैले पनि बुझ्ने अवसर पाएको छु । महासंघ कार्यकारिणी संस्था नभई सरकारको ‘थिंकट्यांक’ र सर्वसाधारण व्यवसायीको भने हित प्रवद्र्धन र सहजीकरण गर्ने संस्था भएकाले यसको भूमिका अझ प्रभावकारी बनाउँदै लैजानु  आवश्यक छ ।

sarbottam cement

निजी क्षेत्र र सरकारबीच सहअस्तित्वको सहसम्बन्ध रहेको छ । निजी क्षेत्रले गर्ने व्यापार व्यवसायबाट प्राप्त आम्दानीको हिस्सा करबापत बुझाउने र राज्यको सञ्चालन तथा लोककल्याणकारी खर्च यसैबाट गर्नुपर्ने अवस्था छ भने राज्यले व्यापार व्यवसाय सहजीकरण एवं प्रवद्र्धनका लागि नीति निर्माण गरेर निजी क्षेत्रलाई अगाडि बढाउने गरेको छ । यसरी राज्य र निजी क्षेत्रमा एकविना अर्को संस्था चल्न सक्दैनन् । यही तथ्य आत्मसात गरेर अगाडि बढ्ने हो भने आर्थिक समृद्धि असम्भव पनि छैन । बलियो निजी क्षेत्र नै समृद्धिको आधार हो ।  

कोरोना महामारीपछि निजी क्षेत्र ठूलो संकटमा छ । निजी क्षेत्रसँग आश्रित मजदुरको चुलो बाल्नैपर्ने अवस्था एकातर्फ छ भने अर्कोतर्फ वाह्य गतिविधि ठप्प हुँदा स्रोत व्यवस्थापनमै चुनौती रहेको छ । यसैले यो बेला अर्थतन्त्र पुनरुत्थानसँगै बदलिँदो विश्व परिस्थितिअनुसार हामीले पनि सजग भएर अगाडि बढ्नुपर्छ । कोभिड शून्यमा झर्ला र पुरानै लयमा फर्कौंला भनेर पर्खेर बस्ने हो भने कहीँ पनि पुगिँदैन । बरु, यसले नयाँ नयाँ समस्या जन्माउन सक्छ । यसैले अहिलेको अवस्थामा कोभिडपछिको चुनौती सामना गर्ने तथा वर्तमान संकटबाट जोगाएर निजी क्षेत्रलाई अगाडि बढाउने नेतृत्व आवश्यक देखिन्छ । कोभिडले चुनौतीसँगै अवसर पनि ल्याएको छ ।

केही समयअघिसम्म प्रत्यक्ष भेटघाटबाट मात्र सम्भव हुने काम अहिले भर्चुअल माध्यमबाट सहजै हुन थालेका छन् । यसले व्यावसायिक लागत घटाउन पनि सहयोग पुग्नेछ भने सूचना प्रविधिको अधिकतम प्रयोगले व्यवसायमा पारदर्शिता कायम गर्न पनि सहयोग पुग्ने देखिन्छ । यतिमात्र नभई कोभिडबाट बच्न विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्ड अवलम्बन गरेर दैनिक गतिविधि सञ्चालन गर्न सकिन्छ र यस्तो मापदण्डलाई हाम्रो संस्कृति र साधन स्रोतका आधारमा व्यावसायिक ढंगले रुपान्तरण गर्नु जरुरी छ । यो र यसजस्ता धेरै विषयवस्तु व्यवसायका लागि नयाँ अवसर पनि हुनसक्छन् । 

उद्योग वाणिज्य महासंघ भनेको हाल रहेका ११३ जिल्ला नगर उद्योग वाणिज्य संघ, १०३ वस्तुगत संघ तथा ९६९ एसोसिएट सदस्य र २० द्विराष्ट्रिय उद्योग वाणिज्य संघको मात्र संस्था होइन । यो त देशैभरका सवा ९ लाख निजी व्यावसायिक प्रतिष्ठानको साझा चौतारी हो जसको प्रतिनिधित्व गर्दै माथि उल्लेखित संघ संस्था र प्रतिष्ठानले महासंघको गरिमा र शाखलाई उच्च बनाउन हमेशा सक्रिय रहनुपर्ने अवस्था छ ।

यसका लागि सुझबुझ तथा अनुभव र नयाँ परिस्थितिसँग जुध्नसक्ने नेतृत्व आवश्यक हुन्छ । म आफैँ महासंघको एसोसिएटतर्फ उपाध्यक्षको उम्मेदवार भएकाले मात्र यो भनिरहेको छैन । यतिबेला निजी क्षेत्र गम्भीर घडीमा छ र महासंघले मात्र निजी क्षेत्रको घाउमा मलम लगाउन सक्छ भन्नेमा सायद कसैको विमति नहोला ।

महासंघभित्र पनि व्यवसायीको घाउमा मलम लगाउन सक्षम, सबल र अनुभवी नेतृत्व आवश्यक छ । व्यवसायको लामो अनुभव तथा परिस्थितिलाई सामना गर्नसक्ने दृढ इच्छाशक्ति भएको नेतृत्वबाटै यो संकट पार लगाउन सकिन्छ । यसैले यो समय सबै व्यवसायीका लागि एकदमै महत्वपूर्ण छ । आफ्नो व्यवसायभन्दा बढी समय महासंघलाई दिनसक्ने नेतृत्व नै आजको दिनमा आवश्यक छ ।

यसैले आसन्न निर्वाचनमा व्यवसायी साथीहरु भावनामा बहकिएर नभई संयम र विवेकका आधारमा नेतृत्व चयनमा सहभागी हुनु जरुरी देखिन्छ । यसको परिणामस्वरुप निश्चय पनि निजी क्षेत्रसँगै मुलुकले नै लाभ प्राप्त गर्नसक्नेछ । 
(त्रिवेणी समूहका निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएट उपाध्यक्षका उम्मेदवार ) 
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, कात्तिक २४, २०७७ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्