Skip Advt.

नेकपा फुटेकै जाती !

नेकपा फुटेकै जाती !

अक्षर काका


तत्कालीन एमालेका लागि बल्खु दरबार साना दुःखले आर्जेको वैभव थिएन । तर, झापा आन्दोलनका योद्धा डिगेन्द्र राजवंशीका लागि त्यो त्यो ‘मदननगर’ कुरूप चिहानघर भन्दा केही भएन ।

डिगेन्द्रले कहिल्यै सोचेका थिएनन्, आफैंले सिर्जना गरेको आन्दोलनले छद्म रूप धारणा गर्छ र त्यसैको रापतापले आफैंलाई खाक तुल्याउँछ भनेर । झापा आन्दोलनको आगो पिएर आएकाहरू चाँदीको थालीमा राखेर सत्ता भोग गर्न थाले । बालुवाटार र सिंहदबारभित्र बसेपछि उनीहरूको अनुहार पनि दुरुस्तै राणाशाही र राजामहाराजाहरूको जस्तो देखिन थाल्यो । बोलीवचन र चालढाल पनि उस्तै भयो ।

शोषित, उत्पीडितको मुक्तिका लागि दिनरात एकै बनाएर सङ्घर्ष–आन्दोलनको रूपरेखा कोरेका डिगेन्द्र सर्वथा ‘कुपोषित’ नै रहे । परिवर्तनको स्वाद चाख्न सर्वथा बर्जित नै रहे । 

अन्ततः आफैं हिँड्दै आएको बाटो उनैलाई अभिशाप भयो । आफैंले उठाएको आन्दोलन आफैंलाई गलपासो भयो । भरजीवन नेता मान्दै आएको, कम्युनिस्ट आन्दोलनको दीक्षा लिएको र वर्ग सङ्घर्षबारे अनुशिक्षा लिएका दिवंगत मदनको सालिकलाई साक्षी राखेर आरुबखडाको हाँगामा जीवनको इहलिला समाप्त पारे । देश र जनताको पक्षमा सहकाल भित्र्याउन क्रान्तिको फिलिङ्गो बोकेर हिँडेका डिगेन्द्रले आफ्नै पार्टी काल बन्छ भनेर शायदै सोचेका हुँदा हुन् । झापाबाट सुरु भएको साम्यवादी सपनाको बक्ररेखा बल्खुमै आएर टुङ्गिन्छ भनेर उनले चिताउन् पनि कसरी ?

हिजोको एमाले डिगेन्द्र राजवंशीको कङ्कालको कुरूप विम्ब हो । शोषित, उत्पीडित जनताको पक्षमा लड्दालड्दै आफैं शोषक बनेको र डिगेन्द्र राजवंशीजस्ता भुइँ मानिसहरूलाई भुइँबाट उठ्नै नदिएर भुइँमै सोत्तर बनाएको जिउँदोजाग्दो उदाहरण पनि थियो ।

आजको नेकपा ? आजको नेकपाको कुरूप र विद्रूप विम्ब पर्सामा हाजिर छ ।

मधेसको चलायमन र सत्तापूजक राजनीतिको गतिलो उदाहरण हुन् मुकेश चौरसिया । मधेस क्षेत्रीय आन्दोलनबाट २०६५ सालमा मात्रै उनले राष्ट्रिय राजनीतिको हाँगाबिँगा समातेका थिए । 

२०७५ को जेठतिर उनले समातेको हाँगो नेकपा भइदियो र देशको ठूलो पार्टीको आकार लियो । तर, मुकेशले कहिल्यै सोचेका थिएनन् होला, आफैँले फेरो समातेको आन्दोलनको लाठी आफ्नै थाप्लामा बज्रन्छ र हठात् मृत्यु बेहोर्नुपर्छ भनेर ।

नियति निर्मम हुन्छ ! नेपालका सत्तासीनहरूको मथिङ्गलमा दानवी चेत घुसिसकेको छ । जतिबेला पनि मृत्युको मुखमा धकेल्दिन सक्छन् भनेर उनले ठम्याउनै सकेनन् ।

अन्याय र असमानता अन्त्य गर्न नेकपाको घरद्वार छिरेका मुकेश आफ्नै सहधर्मीको लाठी खाएर बङ्ग्रङ्ग ढले । फर्सीझैं टाउको चिराचिरा पर्‍यो । छटपटिँदाछटपटिँदै जीवनदेखि हारमान्नु भए !

देश–दुनियाँलाई न्याय दिन्छु भनेर मार्क्स, मदनको फोटो छोएर कसम खाएको नेकपाले मुकेशलाई मृत्युपश्चात् पनि चरम अन्याय गर्‍यो । 

न्यायाधीशका आसनमा विराजमान पार्टीका मठाधीशले अध्यक्षकै कुर्सीबाट आदेश जारी गरे– घटनास्थलमै नभएको मानिसविरूद्ध उजुरबाजुर गर्न मिल्छ ?

तिनले आँखा चिम्लिए– रौतहट, राजपुर बमकाण्डका नाइके अफताव आलम पनि बारदात स्थलमा थिएनन् । उनी घटनास्थलमा भएको सुराख अद्यापि मिलिसकेको छैन । अभियुक्तहरूले पोलेका पनि छैनन् । तर, बम पड्किएर अङ्गभङ्ग भएकाको हातखुट्टा बञ्चराले छिमलेर इँट्टा भट्टाको दन्कँदो आगामा हाल्न उनकै योजना थियो । र त, अहिले उनी त्यसको सजाय भुक्तान गरिरहेका छन् ।

यो कटु सत्य हो– माओवादी आन्दोलन रगतको तमोर तरेर सिंहदबार आइपुग्यो । मानव कङ्कालमाथि उभिएको माओवादी आन्दोलनले सत्ताको बाटो समातेपछि यतिविघ्न कलुषित र प्रदूषित भयो, दुर्गन्ध वहन र सहन गर्न नसकेर पाका नेता मोहन वैद्य पाखा लागे । 

युवावयका नेता नेत्रविक्रम चन्द जनयुद्धकालमा देखेका मूच्र्छित सपना ब्युँताउन सकिन्छ कि भनेर समयको पाङ्ग्रा उल्टो दिशातिर धकेल्दैछन् । 

प्रचण्डले सत्तासँग साटेर निभेको फिलिङ्गो जगाउन सकिन्छ भनेर कण्ठ सुकाइरहेका छन् ।

माओवादी आन्दोलनको स्वप्नशील कार्यकर्ताहरू आधाजसो खाडीका प्रिय भए । बचेखुचेका खाडी पस्न अधैर्य भए । कसले चिताएको हुँदो हो, जनयुद्धमा बगेको रगतको उपलब्धी केही सीमित नेताको रगतको वरिपरि परिक्रमा गरिरहनेछ । 

उनीहरूमात्रै लाभ र सुविधामा मस्त हुनेछन् । अरू कहाँ जाने कुन बाटो हिँड्ने द्विविधामै अस्त हुनुपर्नेछ ।

बैतडी डिलाशैनी गाउँपालिकाका इन्द्रराज खत्री मृत्युको जोखिम उठाउँदै केपी ओलीको गाथगादी ताक्न महाकाली फाल हालेका थिएनन् । बग्दै–बग्दै नेपाल प्रवृष्ट पनि भएका थिएनन् । न उनी हातमा बमबारुद बोकेका संदिग्ध–अपराधी नै थिए । 

उनी कोभिडले गाँजेछ भने पनि आफ्नै माटोमा मरौं भनेर देश खोज्दै आएका थिए । माटो पछ्याउँदै आएका थिए । तथापि, सत्ताले नाङ्गेझार तुल्यायो । इन्द्रराजलाई नग्न तुल्याउँता ओलीराज आफैं उदाङ्गो भयो ।

सत्ताको नाङ्गो आवरण देखेर नेकपाका कोही पनि कमरेड लज्जित भएनन् । उनीहरूको अन्तरआत्मामा ग्लानिको डढेलो सल्किएन । 

न, मजदुरको नेतृत्वको खुट्किला उक्लिएर प्रधानमन्त्री कार्यालय चढेका विष्णु रिमाललाई नै लाज भयो ।

कोरोना सङ्क्रमणबाट बच्न नेकपा नेतृत्वको सरकारसँग लकडाउनको आदेश सिवाय कुनै विकल्प थिएन । तर, भोकको ज्वारभाटा शमन तुल्याउन नसकेपछि नागरिकहरूले शासकको आदेश अटेर गरे । आफैंप्रति निर्मम भए । हप्तौं दिन पैदल हिँडेर मर्न आफ्नै आँगन पुग्ने अठोट लिए ।
भोक नै बक्सिस थमाइरहेको सत्तालाई मध्यचैतको भोकको लङमार्चको विदारक दृश्यले के छुँदो हो ! नेकपाका चट्टानी कार्यकर्तालाई पनि त्यो दृश्यले द्रवीत तुल्याएन । 

सत्ताको कालो सिसाबाट भुइँमान्छेहरू ठम्याउन छाडेका आफ्नो नेतृत्वलाई घच्घच्याउने हिम्मत नै गर्न सके । तिनको प्रगतिशील चेत शासक बन्ने सपनाले खर्लप्पै छोप्यो र निर्वस्त्र शासकलाई तिमी नाङ्गै छौ भन्ने सामर्थ्य र विवेक दुवै गुमाए ।

देशमा सूर्यबहादुर तामाङहरूकै सत्ता हुँ भन्ने सूर्य छाप सरकार थियो । सूर्यबहादुरहरूकै भोट पाएर चुनावी परिणाममा सूर्य चहकिलो बनेको थियो । संसदको दुईतिहाइ भाग सूर्यकै आभा र आशाबाट उज्यालो पनि थियो ।

सूर्यबहादुर, १७ हजार नागरिकलाई परिवर्तनको सपना देखाएर जनयुद्धको डढेलोमा चरुझैं होम्ने र अन्तत संसदको ढलमुनि नाक जोत्ने प्रचण्ड थिएनन् । न, जनआन्दोलनताक गोकर्ण रिसोर्टतिर थन्क्याएको ‘बयलगाढा’लाई बालकोटमा बिसाएर सिंहदरबारको यात्रा तय गर्ने ओली नै थिए ।

उनी माधव नेपाल पनि थिएनन्– रातदिन विधि–पद्धतिको दीर्घ धून (कर्कश ?) अलाप्ने पद देख्नेबित्तिकै झम्का मारिहाल्ने ! मुख उद्याइहाल्ने ! न उनी वामदेव गौतम नै थिए– १७ वटा कुना चहार्दा पनि प्रतिनिधिसभा पस्ने खट्प्वाल फेला नपरेपछि धुरी उधिनेर भित्र छिर्ने र सत्ताको तर मार्न खोज्ने । 

त्यसो त उनी झलनाथ खनाल पनि थिएनन्– सत्ताको बोहोता आफूतिर पनि पार्दै सर्प खेती गर्ने र मौका पर्नासाथ दुना तेर्स्याइदिनेहरूविरुद्ध नै विषवमन गर्ने । विष्णु पौडेल पनि होइनन् उनी– कौडीको भाउमा बालुवाटार हत्याउने, कर्तुत ढाकेको बर्को फुत्त झरेपछि हत्त न पत्त जग्गा फिर्ता गरेर साखुल्ले पल्टने र अर्थमन्त्रीमा पुरस्कृत हुने !

यी र यस्ता प्रवृत्ति बाहेकले मुन्टो उठाउन नसक्ने देशमा सूर्यबहादुर कसरी जीवित रहन सक्थे ? कोभिडका कहरबीच भोकसँग हारमान्नु हुँदै र साम्यवादी सपनाका तृणहरूलाई स्तव्ध तुल्याउँदै, कीर्तिपुरको सडकपेटीमा परेला बटार्नुपर्‍यो । 

जुन देशका नागरिकहरू चार पुस्तादेखि मल थाप्ने उही लाइनमा छन् । धोक्रो बोकेर वर्षभरि उभिइरहने श्रापित् नियतिको भागिदार छन् भन्दा सर्वहारा वर्गीय चिन्तनका गुरु कार्ल मार्क्स कति खिन्न हुँदा हुन् ? नेपाली कम्युनिस्ट आन्दोलनकै ज्येष्ठ पितामह पुष्पलाल पनि माथिबाटै धारे हात लगाइरहेका होलान् । पितामह मनमोहन र मदन पनि थकथकी मानिरहेका होलान् । तर, समाजवादका चिन्तक र दलाल पुँजीवादका भाष्यकार घनश्याम भुसाल नै मन्त्री हुँदा पनि समाजवादका सपनाधर्मीहरू मलको सदाबहार हाहाकारमा छन् । मल अभावको बाह्रमासे पिरलोबाट मुक्ति पाउन सकेका छैनन् ।

सिद्धान्तका हरफमा सहजै समाजवादमा पुग्ने सपना देखेका भुसाललाई असारमा पाउनुपर्ने मल गहुँ छर्ने बेला घर्कंदा पनि कृषकले पाउन नसकेकोमा पटक्कै पीडाबोध छैन ।

चुनावताक एमाले र माओवादी केन्द्रले सपनाको रेल निकै सवार गराए । समृद्धिको आश देखाए र मनग्ग मत बटुले पनि ।

पार्टी एकतापछि जनताको त्यही मत हुर्मत लिने बाहेक नेकपाको देखिने ठोस र मूर्त उपलब्धी केही छैन । एकताको अढाइ वर्ष नेकपा देश र जनताको प्राथमिकताको सामु जसरी उपस्थित भयो, त्यसले इमान्दार नेता कार्यकर्ताको शिर लज्जाले बाँसझैँ नुगेको हुनुपर्छ ।

देश र जनताको समृद्धिको चाहनालाई रछ्यानमा मिल्काएर नेकपा घरझगडामा रुमलियो । सरकार र पार्टीको जिम्मेवारीलाई कुनामा पन्छाएर दन्त बझानमै अलमलियो । पार्टीको घरभित्र भाँडावर्तन नबजेको र धुवाँ नपुतपुताएको कार्यकर्ताले देख्नै दुरुह भयो । भोकले आहत भएर खुलामञ्चमा टपरी थापिरहेका नागरिकहरूलाई पार्टीको विवादबाहेक केही पस्कन सकेन ।

कोभिड सङ्क्रमणको उपचार नपाएर बौद्धको सडकपेटीमै अस्ताएका ओखलढुङ्गा, सुनकोसी गाउँपालिका वेदबहादुर कार्कीको शोकाकुल परिवारले पनि नेकपा विवाद थान्को लागेकामै चित्त बुझाउनुपर्‍यो । प्रियजनको वियोगमा पनि मन मसक्क बाँधेर नेकपाको एकताको रक्षाको कामना गर्न अभिशप्त भए उनीहरू । 

नेकपा नेतृत्वको सरकार बेलगाम छ । कानुनका सबै बन्धन चुँडालिसकेको छ । न्यायपालिका, व्यवस्थापिका र अरू संवैधानिक अङ्गहरूमा उसको हस्तक्षेप क्रमिरूपमा बढ्दो छ । उसलाई शासकका सीमाहरूको ख्याल छैन । कूटनीतिक मर्यादाबारे आधारभूत स्कुले ज्ञान पनि छैन । 
सिंहदरबारका भित्तैपिच्छे सुशासनका नारा टाँसिएका छन् ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको रङ्गीचङ्गी पोस्टर पनि झुण्ड्याइएको छ । तर, ती दिनहु टुहुरा बन्दै गइरहेको, बेसहारा बन्दै गइरहेको प्रतीत हुन्छ । यसकार कारण कि, मन्त्रिपरिषद्का सदस्यहरू नै ७० करोड कमिसनको मोलमोलाइ गर्दै गरेका भेटिन्छन् । 
सरकारका मन्त्रीहरू एकपछि अर्को भ्रष्टचारका कीर्तिमान खडा गर्दैछन् ।

दण्ड गर्नुपर्ने ठाउँमा गजधम्म बसेका प्रधानमन्त्री उनैलाई ‘दीर्घायु’को आशीर्वाद थमाइरहेका हुन्छन् । पथभ्रष्टहरूलाई छाती पिटीपिटी ‘म छु’ को अनुभूति दिलाइरहेका हुन्छन् ।

नेकपाको पापको घैला भरिइसकेको छ । जुनसुकै बेला फुट्नु अनिवार्य छ । नेता कार्यकर्ताको सपनाको रक्षा गर्न नसक्ने, आफ्नै कार्यकर्ताको आँसु पुछ्न नसक्ने र हमेसा विचौलिया, दलाल, घूस– कमिसनखोरीहरूलाई मात्रै काखी च्याप्ने र देश र जनताका प्राथमिकलाई पैतालाले कुल्चने पार्टी चोइटने, टुटफुट, विभाजित हुने मात्र होइन समूल अन्त्य हुनु अनिवार्य छ । 

अतः निर्मम भएर भन्नैपर्ने हुन्छ, टुकुचाको बाटो भएर बगेको मूल धारको कम्युनिस्ट आन्दोलन सुकेकै जाती ! नेकपा फुटेकै जाती !

 

 


 

प्रतिकृया दिनुहोस
ad