site stats
बाह्रखरी :: Baahrakhari
विदेश
 इजरायलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर

वाशिङ्टन । इजरायलले युनाइटेड अरब इमिरेट्‌स र  बहराइनसँग 'ऐतिहासिक' सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । यस सम्झौतालाई संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले 'नयाँ मध्यपूर्वको मिरमिरे बिहानी' भन्दै प्रशंसा गरेका छन् ।

इजरायलसँग सम्बन्ध पूर्णरूपमा सामान्य बनाउन दुई खाडी मुलुकले सम्झौतामा हस्ताक्षर गरेपछि ट्रम्पले त्यस्तो बताएका हुन् ।  हस्ताक्षरकर्ता तीनवटै देशले सहमतिलाई ऐतिहासिक भनेका छन् । यस सम्झौताको मध्यस्थता गरेको ट्रम्प प्रशासनले पनि ऐतिहासिक सम्झौता भएको उल्लेख गरेको छ । 

सन् १९४८ मा स्थापना भएयता इजराललाई मान्यता दिने यूएई तथा बहराइन तेस्रो र चौथो अरब राष्ट्र हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अन्य मुलुकहरुले पनि यस कदमलाई पछ्याउने ट्रम्पले आशा व्यक्त गरेका छन् । तर, प्यालेस्टिनीहरूले आफूहरूसँगको द्वन्द्वको समाधान नभएसम्म त्यसो नगर्न आग्रह गरेका थिए । प्यालेस्टाइनसँगको विवाद अन्त्य गरेपछि मात्रै मान्यता दिने भन्दै दशकौंदेखि अधिकांश अरब राष्ट्रहरूले इजरायललाई बहिष्कार गर्दै आएका छन् ।

ह्वाइट हाउसमा मंगलबार आयोजित कार्यक्रममा ट्रम्पले भने, "दशकौंपछिको विभाजन र द्वन्द्वपश्चात्‌ आज हामीले 'मध्यपूर्वको मिरमिरे बिहानी' देख्न पाएका छौं ।" इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले सम्झौताको स्वागत गर्दै भनेका छन्, "यो इतिहासको एउटा निर्णायक दिन हो । यसले शान्तिको एउटा मिरमिरे बिहानीको उद्घोष गरेको छ ।"

तर प्यालेस्टिनी नेता महमुद अब्बासले अधिनस्थ भूभागहरूबाट इजरायल हटेपछि मात्रै मध्यपूर्वमा शान्ति आउन सक्ने चेतावनी दिएका छन् । एएफपीका अनुसार तीन देशले सम्झौतामा हस्ताक्षर गरेपछि अब्बासले भने, "इजरायली कब्जा अन्त्य नभएसम्म यो क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व हासिल हुन सक्दैन ।"

इजरेली सेनाका अनुसार हस्ताक्षर कार्यक्रम चलिरहँदा गाजा क्षेत्रबाट इजरायलमा दुईवटा रकेट प्रहार गरिएका थिए । यूएई र बहराइनभन्दा पहिला मध्यपूर्वमा इजिप्ट र जोर्डनले मात्र इजरायललाई औपचारिक रूपमा मान्यता दिएका थिए ।

इजिप्टले सन् १९७८ मा र जोर्डनले सन् १९९४ मा इजरायलसँग शान्ति सम्झौता गरेका थिए ।

उत्तर-पश्चिमी अफ्रिकामा अरब लिगको एउटा सदस्य मरिटेनियाले सन् १९९९ मा इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापित गरे पनि  सन् २०१० मा सम्बन्ध तोडेको थियो । - बीबीसी

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १५:०९
प्रतिक्रिया दिनुहोस्