site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तेस्रो त्रैमासमा अर्थतन्त्र खुम्चिएको सरकारको स्वीकारोक्ति 

काठमाडौं । आव २०७६–७७ को तेस्रो त्रैमासमा नेपालको अर्थन्त्र खुम्चिएको देखिएको छ । २०७५ को तेस्रो त्रैमासको कुल गार्हस्थ उत्पादनको तुलनामा २०७६ को सोही अवधिको कूल गार्हस्थ उत्पादन करिब ३ प्रतिशतले कम भएको पाइएको हो । केन्द्रीय तथ्यांक विभागले तयार पारेको विवरणमा मौसमी प्रभाव समायोजित राष्ट्रिय लेखा तथ्यांकअनुसार तेस्रो त्रैमासिक अवधिमा नेपालको अर्थतन्त्र अघिल्लो आवको सोही अवधिको तुलनामा खुम्चिएको उल्लेख छ । 

निर्धारित समयभन्दा डेढ महिना ढिला गरी सार्वजनिक भएको आर्थिक विवरणमा २०७६ साल माघदेखि चैत अवधिको अर्थतन्त्र २०७५ माघदेखि चैतसम्मको भन्दा करिब २.७२ प्रतिशतले खुम्चिएको खुलेको हो ।

यसको अर्थ त्रैमासिक आर्थिक वृद्धिदर २.७२ प्रतिशतले ऋणात्मक छ ।

Dabur Nepal

केन्द्रीय तथ्यांक विभाग स्रोतबाट प्राप्त तथ्यांकअनुसार आव २०७६–७७ तेस्रो त्रैमासिकमा मौसमी प्रभाव असमायोजित त्रैमासिक कूल गार्हस्थ उत्पादन (सिजनल्ली अनएड्जस्टेड क्वार्टर्ली जीडीपी) अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ । 

बाह्रखरीलाई प्राप्त राष्ट्रिय लेखा तथ्यांकको मुख्य सारांशमा विभागले भनेको छ, “मौसमी प्रभाव समायोजित त्रैमासिक कूल गार्हस्थ उत्पादन (सिजनल्ली एड्जस्टेड क्वार्टर्ली जीडीपी) भने अघिल्लो आवको तेस्रो त्रैमासिकभन्दा २.७२ प्रतिशतले कमी हुने प्रारम्भिक अनुमान विभागको छ ।” यसले अर्थ विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ ले नेपालमा तेस्रो त्रैमासमै पूर्णरुपमा प्रभावित पारेको देखाउँछ । 

चैत ११ देखि देशव्यापी रुपमा लगाइएको लकडाउनले आर्थिक गतिविधि ठप्पै पार्दा तेस्रो त्रैमासको कूल गार्हस्थ उत्पादन घटेको हो ।

विभागले त्रैमासिक राष्ट्रिय लेखा तथ्यांक हरेक त्रैमासिक अन्त भएको ९० दिनभित्रमा सार्वजनिक गर्ने नीति छ । स्रोत तथ्यांक समयमा उपलब्ध हुन सकेमा सोभन्दा कम समयमा पनि उपलब्ध हुने विभागको दाबी छ ।

तर, चौथो त्रैमास सकिएको डेढमहिना व्यतित भएपछि मात्र तेस्रो त्रैमासिकको राष्ट्रिय लेखा तथ्यांक बाहिर आएको हो ।

प्राप्त मौसमी प्रभाव समायोजित विवरणअनुसार गतआर्थिक वर्षको अघिल्ला त्रैमासमा पनि सोचेअनुसार वृद्धि हासिल भएको छैन । पहिलो (साउन–असोज) त्रैमासको त्रैमासिक कूल गार्हस्थ उत्पादन (क्वाटर्ली जीडीपी) अघिल्लो आवको सोही अवधीभन्दा १.०५ प्रतिशतले विस्तार भएको थियो भने दोस्रो (कात्तिक–पुस) त्रैमास पनि ०.८६ प्रतिशतले विस्तार भएको थियो ।

स्रोतका अनुसार अघिल्ला दुई त्रैमाससमेतमा त्रैमासिक जीडीपी अपेक्षाअनुसार नभएपछि अर्थमन्त्री युवराज खतिवडाको निर्देशनमा यो विवरण सार्वजनिक हुन दिइएको थिए । केहीदिन अघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले निर्देशन दिएपछि विवरण सार्वजनिक भएको हो । खतिवडा अर्थमन्त्रीबाट बिदा भइसकेका छन् ।

मौसमी प्रभाव समायोजन गर्दा यातायात–गोदाम–सञ्चार, अन्य सामाजिक कार्य, सार्वजनिक प्रशासन तथा सुरक्षा, शिक्षा, स्वास्थ्य–सामाजिक कार्य र कृषि उत्पादनमा सामान्य वृद्धि हुने अनुमान गरिएपनि अरु क्षेत्रमा भारी गिरावट आएको अनुमान छ । तेस्रो त्रैमासमा औद्योगिक वस्तुको उत्पादन, निर्माण, होटल–रेस्टुरेन्ट, थोक–खुद्रा व्यापार, खानी तथा उत्खनन, विद्युत्–ग्यास–पानी लगायतका आर्थिक क्षेत्रका आर्थिक वृद्धि ऋणात्मक रहने अनुमान विभागको छ ।

मौसमी प्रभाव समायोजित विवरणअनुसार तेस्रो त्रैमासमा कुन क्षेत्रको आर्थिक वृद्धि कति ?
कूल  –२.७२ प्रतिशत

उत्पादन                 –१६.३ प्रतिशत

निर्माण                     –१३.५३ प्रतिशत

होटल तथा रेस्टुरेन्ट            –१३.५१ प्रतिशत

खानी तथा उत्खनन            –९.२१ प्रतिशत

थोक तथा खुद्रा व्यापार            –५.१२ प्रतिशत

वित्तीय मध्यस्तता            –२.९४ प्रतिशत

विद्युत्, ग्यास तथा पानी        –२.६८ प्रतिशत

मत्स्यपालन                –०.४० प्रतिशत

स्वास्थ्य तथा सामाजिक कार्य        +०.१८ प्रतिशत

रियल स्टेट तथा व्यावसायीक गतिविधि    +०.२ प्रतिशत

शिक्षा                +०.२४ प्रतिशत

सार्वजनिक प्रशासन तथा सुरक्षा        +०.४३ प्रतिशत

कृषि तथा वन                +०.५३ प्रतिशत

अन्यसामाजिक तथा व्यक्तिगत सेवा गतिवधि +०.६ प्रतिशत

यातायात, गोदाम तथा सञ्चार        +१.६० प्रतिशत

तेस्रो त्रैमासको जीडीपी आकारमात्र खुम्चिएको हो, आर्थिक वृद्धि ऋणात्मक हैन : महानिर्देशक

तर, केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठ तथ्यांक लुकाएको मान्न तयार छैनन् । बाह्रखरीसँग उनले भने, “तथ्यांक समयमा प्राप्त र प्रोसेस नहुँदा राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक हुनमा ढिला भएको हो ।”  उनले तेस्रो त्रैमासको कुल गार्हस्थ उत्पादन अघिल्लो आवको तुलनामा २.७२ प्रतिशतले खुम्चिएको स्वीकारे ।
उनी भन्छन्, “यद्यपी यो तथ्यांक अघिल्लो आवको माघ–चैत अवधिको तुलनामा गत आवको माघ–चैत अवधीको हो । वर्षभरको जीडीपी वृद्धिदर भने विभागले यसअघि नै सार्वजनिक गरिसकेको छ ।”

विभागले आइतबार मौसमी प्रभाव समायोजित राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्ने तयारी गरेको छ । महानिर्देशक श्रेष्ठले आइतबार प्रेस ब्रिफिङ गरेर वर्षभरको आर्थिक वृद्धि ऋणात्मक नभएको जानकारी गराउने जानकारी पनि दिए । विभागले गत वैशाख १७ गते नै आव २०७६–७७ मा २.२७ प्रतिशतको आर्थिक वृद्धि भएको हुने अनुमान गरेको थियो । जसमा वैशाखपछि कोभिड–१९ को प्रभाव कम हुँदै जाने विश्वास गरिएको थियो ।

तर, जेठ महिनाभर कोभिड–१९ संक्रमण उपायका रुपमा लिइएको लकडाउन जारी रहँदा अर्थतन्त्रका विविध अवयब प्रभावित रहेका थिए ।

कस्तो छ, मौसमी प्रभाव असमायोजित त्रैमाससिक जीडीपी वृद्धिको मुहार ?

विश्वव्यापी महामारीको रुपमा देखा परेको कोभिड–१९ संक्रमणलाई रोकथाम गर्न गरिएको प्रयासको कारण तेस्रो त्रैमासिकमा अपेक्षित आर्थिक वृद्धि हुन नसकेको केन्द्रिय तथ्यांक विभागको दाबी छ । तथापि यस वर्ष २०७६–७७ को तेस्रो त्रैमासिक र अघिल्लो वर्ष २०७५–७६ को तेस्रो त्रैमासिक तुलना गर्दा (मौसमी असमायोजित तथ्याङ्क) सबै भन्दा बढी आर्थिक वृद्धिदर विद्युत्, ग्यास तथा पानी क्षेत्रमा १९.९ प्रतिशत र त्यसपछि मत्स्यपालन क्षेत्रमा ७.१ प्रतिशत वृद्धि भएको छ । यसैगरी यातायात गोदाम तथा सञ्चार क्षेत्रमा ६.४ प्रतिशत र सार्वजनिक प्रशासन तथा सुरक्षाको क्षेत्रमा ५.५ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ ।

तेस्रो त्रैमासमा औद्योगिक वस्तुको उत्पादनमा १२.१ प्रतिशतले कमी आउने अनुमान गरिएको छ भने होटल तथा रेस्टुरेन्ट, थोक तथा खुद्रा व्यापार र निर्माण क्षेत्रमा क्रमशः ८.६ प्रतिशत, ६.६ प्रतिशत र ६.१ प्रतिशतले गिरावट हुने विभागले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७६–७७ को तेस्रो त्रैमासिकलाई अघिल्लो वर्ष २०७५–७६ को तेस्रो त्रैमासिकसँग तुलना गर्दा २०७६ माघ–चैत अवधिमा कृषि तथा वन, माछापालन, विद्युत, ग्याँस तथा पानी, वित्तिय मध्यस्थ्यता, घरजग्गा कारोवार, बहाल तथा व्यवसायिक क्रियाकलाप, शिक्षा, स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रका उत्पादनमा वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ भने खानी तथा उत्खननको क्षेत्रमा आर्थिक वृद्धिदर ऋणात्मक रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७  ०८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro