नेपाली कांग्रेसका नयाँ यात्री थापासँग

कुलचन्द्र वाग्ले 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेर सुनिलबहादुर थापा आफ्ना समर्थकसहित नेपाली कांग्रेसमा मिसिएपछि नेपाली राजनीतिमा ससानो तरंग उत्पन्न भएको छ । तरंग कांग्रेसभित्रै छ र बाह्य राजनीतिमा पनि गहिरो चासो व्यक्त भएको छ । थापाको कांग्रेस प्रवेशका धेरै अर्थ र सम्भावना केलाउने कार्य स्वाभाविक छ । नेता थापाको राजनीतिक यात्रा लामो नभए पनि पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुनुको नाताले नेपाली राजनीतिमा उनको महत्त्व चाँडै नै उचालिएको हो ।

राप्रपाको उपल्लो तहमा आसीन थापाले मन्त्री पदको अनुभवसमेत सँगाली सकेका छन् । बिरासत र भूमिकाले राजनीतिमा पहिचान बनाइसकेका थापाले आफ्नै पिताले स्थापना गरेको राप्रपा परित्याग गर्नुलाई साहस, दूरदर्शी र समय बुझेको निर्णय भन्न सकिन्छ । बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनापछि सूर्यबहादुर थापाले कांग्रेसको प्रतिस्पर्धी बन्ने अपेक्षाले नेपाली राजनीतिमा स्थापित गर्न चाहेको मान्यताको बाटोलाई छोरा सुनिलले तीलाञ्जलि दिएका छन् ।

नेपाली कांग्रेसका लागि उनको प्रवेश सन्तोषको विषय हो । बढी खुसी सभापति शेरबहादुर देउवा भएको हुनुपर्छ । छयालीस सालको जनआन्दोलनले बहुदलीय प्रजातन्त्र पुनः ल्याए तुरुन्तैका वर्षमा कांग्रेस प्रवेशको लहर नै चलेको थियो । तर, ती प्रवेशीहरु अहिले कहाँ छन् र के गर्दैछन् ? सुनिल थापाको प्रवेशलाई भने यस्तै अर्थ र सम्भावनामा हेर्नु हुँदैन र मिल्दैन । उनी राजनीतिक आकांक्षासहित लामो यात्र तय गर्ने उद्देश्यले कांग्रेसमा आएको बुझिन्छ । 

राप्रपामा उपल्लो स्थान बनाएका थापा आन्तरिक अव्यवस्थापनले जकडिएको कांग्रेसमा कुन आकर्षण देखेर आए ? प्रश्न गर्न सकिए पनि थापाको सिद्धान्त चयनको इमानमा आशंका नगर्दा कांग्रेस प्रवेशको प्राथमिक चयन सिद्धान्त नै हुनुपर्छ भन्न सकिन्छ । यसपछि तात्कालिक र दूरगामी अपेक्षा होलान् । अहिलेको अवस्थाको कांग्रेस प्रवेश उनको सोद्देश्य साहस नै हो ।  

राजनीतिक यात्राअघि थापा कुनै अन्तर्राष्ट्रिय ‘एजेन्सी’मा कार्यरत थिए । संस्थाको प्रत्यक्ष, अप्रत्यक्ष प्रशिक्षण प्रजातन्त्र अनुकूल थियो । त्यो बिरासत पनि उनीसँग होला । बाँकी धैर्य, सहिष्णुता र दलभित्रको समन्यायिक व्यवहारले उनको भावी यात्रालाई तय गर्ने छ वा उनको राजनीतिमा लय भर्नेछ । 

सुनिल थापाको कांग्रेस प्रवेशलाई कति महत्त्व दिने वा छ ? तर प्रचारमा आएजस्तै उनले पार्टीमा सहमहामन्त्रीको भूमिका पाएपछि कांग्रेस बनाउन लामो संघर्ष गरेका लाखौं नेता, कार्यकर्ताले उनको पदीय हैसियतलाई भए पनि ‘जय नेपाल’ गर्नेछन् । आफूले पनि जय नेपाल भन्नुपर्ने स्थान चयन गरेपछि साथीहरुले दिने जय नेपाल अभिवादनको मर्मलाई उनले ख्यालमा राख्नुपर्छ । आफूसँगै आएका समर्थकलाई पनि उनले यही मान्यतामा कांग्रेससँग घुलमिल बनाउनु पर्नेछ । 

कांग्रेसमा आएका थापालाई पिता थापाको भनाइ र गराइको सन्दर्भ जोडेर तीव्र आलोचना पनि गरिएको छ । खासगरी प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई फाँसी दिनुपर्ने प्रस्ताव र निर्दलीय पञ्चायती व्यवस्थालाई जिताउन सूर्यबहादुर थापाबाट गरिएको भनिने धाँधलीलाई उनको आलोचनाको विषय बनाइएको छ । राजाको सक्रिय नेतृत्वमा निर्दलीय राजनीति गरेका सूर्यबहादुर थापाका छोराले कांग्रेसको प्रजातान्त्रिक वा खुला समाजको अवधारणालाई खँदिलो बनाउन योगदान नगर्ने आशंकाको बलमा थापाको प्रवेशलाई हल्का बनाउन तर्क दिनेहरु पनि छन् । 

यस सन्दर्भमा सुनिल थापाले राप्रपा संस्थापक बाबुले बनाउन खोजेको राजनीतिक मार्ग त्यागेर नै कांग्रेसमा आएको बुझ्नुपर्छ । महामना बीपी कोइरालाले स्थापित गरेको दर्शन आत्मसात गर्ने प्रतिबद्धतासहित उनी कांग्रेस बनेको हुनुपर्छ । यस चयनमा इतिहास र सिद्धान्तलाई मान्यतामै नराखी धनकुटाबाट चुनाव जित्ने सुरक्षित अवसरका लागि मात्र उनी कांग्रेसमा आएका हुन् भन्न मिल्दैन । 

कांग्रेसमा आउनु नै सहज जित अपरिहार्य हुनु पनि होइन । त्यसो त कांग्रेसको भित्री सहयोगले नै संविधान सभाको दोस्रो निर्वाचनमा उनी धनकुटाबाट विजयी भएका हुन् । धनकुटा उनको पैतृक थलो पनि हो । हुनसक्ने आलोचना र बढ्ने प्रतिस्पर्धालाई बुझ्दै नबुझी उनी कांग्रेस बनेका होइनन् । एक प्रकारले राप्रपाको आन्तरिक प्रतिस्पर्धाबाट पराजित त नभनौ तर त्यहाँबाट बाहिरिएर कांग्रेसजस्तो ठूलो स्पर्धाको भुङ्ग्रोमा पस्ने हिम्मत उनले निरर्थक गरेका होइनन् । उनको राजनीति अब धनकुटामा मात्र सीमित रहेन । जाने भने कांग्रेसको फराकिलो फाँटमा राष्ट्रव्यापी हुने अवसर छ ।  

पहिचानको बिरासतबाट भएको राजनीतिक लाभ पाए पनि सूर्यबहादुर थापाको राजनीतिक बिरासतको भारी अब उनले बोकेका छैन्न । त्यो भारी यात्राकै बीच बिसाएका चाहिँ हुन् । अबको मूल्यांकन कांग्रेस सुनिल थापाको भूमिका वा हैसियतमा गर्नु न्याय र सम्मान हुन्छ । व्यक्त्याउनु हुँदैन, व्यक्त्याउने स्पर्धाले नै कांग्रेस झन्डै क्षतविक्षत भएको छ । उनले फेरि दल बदल्छन् भन्ने आशंका गर्न पनि सुहाएन । 

नेपालमा जघन्य मानवीय अपराध गर्नेहरु राजनीतिमा ‘हिरो’ देखिन पुगेका छन् । सुनिल थापा नेता सूर्यबहादुर थापाको छोरा हुनुमा दोष देख्नुलाई प्राकृतिक न्यायले पनि स्वीकार्दैन र बाबु राजाको कार्यकर्ता बन्नुमा जघन्यता पनि थिएन । नेपाली राजनीतिमा लामो समय प्रधानमन्त्री बनेका थापाको उल्टो वा सुल्टो योगदान रह्यो नै ।

सुनिन्छ, सूर्यबहादुर थापाको प्रारम्भिक राजनीतिको आकर्षण पनि कांग्रेस नै थियो । अहिले बाबुको राजनीतिक ध्येयलाई विस्मृतिमा राखेर जुन सिद्धान्त, हैसियत र स्पर्धामा उत्रने फराकिलो तर कठिन मैदान सुनिल थापाले रोजेका छन्, यो कांग्रेसजनले मन खुम्च्याउने कारण होइन । बरु प्रतिस्पर्धीले खुला दिलले स्पर्धात्मक स्वच्छ चुनौती दिने हो  ।

आफ्नै पिताका कार्यकर्ताले चलाएको राप्रपा छोडेर कांग्रेस पसेका थापाले आफ्नो दायित्वलाई पक्कै बुझेको हुनुपर्छ । उनलाई पक्कै थाहा छ, नेपाली कांग्रेस गुट उपगुटको विवादले रन्थनिएको अहिलेको स्थिति । पार्टी सभापति देउवाले आसन्न महाधिवेशनको मुखमा विभागहरु गठन गर्नु, पार्टीका पुराना कार्यकर्तालाई यसैबीच कारबाही चलाउनु वा सुनिल थापाहरुलाई प्रवेश गराउनु आफ्नो गुट बलियो पार्ने वा पार्टी कब्जा गर्ने मनसाय प्रेरित भन्नेहरु पनि प्रशस्त छन् । 

सुनिल थापा पनि यस्तै गुट उपगुटमा अल्झिए भने सिंगो नेपाली कांग्रेसलाई सबल बनाउन उनले योगदान नगर्ने त छँदैछ आफ्नो राजनीतिक भविष्यमा समेत तुवाँलो लगाउनेछन् । कांग्रेस त्यागेर पनि पुनः कांग्रेसमा आएका नेता विजयकुमार गच्छदारलाई गुट उपगुटको प्रताडना राम्रैसँग अनुभव रहेको हुनुपर्छ र यसरी कांग्रेसमा आएका थुप्रै अरु छायाँमा परेको पनि बिर्सनु हुँदैन । बाहिरबाट देख्दा सुनिल थापा माझिएकै व्यक्तित्व हुन् भन्ने लाग्छ र अहिले उनको निर्णयले पनि त्यही साबित गर्न खोज्दैछ । आगत भने अन्जान नै छ ।

मूल्यांकन उनको कार्यशैलीले गरिने हो । अन्तर्राष्ट्रिय क्षेत्रको पनि अनुभव सँगालेका थापाका पिता सूर्यबहादुर थापा नेपाली राजनीति वा कूटनीतिमा दक्षिणी झुकाव राख्ने पहिचान भएका व्यक्तित्व हुन् । बिरासतको त्यो प्रभाव कांग्रेस थापामा रहन्छ वा रहँदैन, त्यो चाहिँ भन्न सकिँदैन ।          

मूलरुपमा स्थापित आदर्श वा प्रजातान्त्रिक सिद्धान्तलाई पारम्परिक शैलीमा समाएको कांग्रेसले त्यसमा सान्दर्भिक गतिशीलता थप्ने क्षमता देखाएको छैन । शिथिल र निष्प्रभावी संगठन झन्डै दलदलमा फसेको हात्तीजस्तो छ । प्रतिपक्षको भूमिकामा पनि उसको असफलताको टिप्पणी छरपस्ट छ । ठूला, साना वा भुरे टाकुरे गुटहरुले निराश बनाएको कांग्रेसको कस्तो भविष्य देखेर सुनिल थापा प्रवेश गरे होलान् ? थलिएको राप्रपामा थलिने कि अर्को सैद्धान्तिक चुनौती रोज्ने भन्ने विकल्पबीच थापाले कांग्रेस छानेको वा मानेको हुनुपर्छ । यस्तो कांग्रेसको कस्तो सारथी बन्ने सपना थापासँग होला ? 

नेपाली राजनीतिमा दल बदल सामान्य कुरा हो ।  लामो समयपछि कोही कुनै पार्टीमा माथिल्लै पहिचान र हैसियतसहित कांग्रेसमा थापाको प्रवेश उल्लेखनीय घटना हो । उनी हिजो बाबुको नामले राप्रपामा धम्काउने हैसियत राख्थे अब त्यो रहेन, त्यागे । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा सबै कार्यकर्ताको अभिभावक बन्न नसकेको र व्यवहारले गुटको मात्र सभापति बनेको आरोपले आलोचित भएका बेला थापाको प्रवेश देउवाको लागि भने सुखद प्रसंग हो । 

कांग्रेस संगठन लथालिङ थियो वा गतिहीन र गुटमात्र बनेको थियो भने राप्रपाका नेता सुनिल थापा किन यहाँ प्रवेश गर्थे ? सभापति देउवाले सबैलाई जबाफ दिने बाटो भेटेका छन् र आफ्नो दक्षता वा आकर्षणको राग भर्ने उपाय बनाउनेछन् । यस अर्थमा सभापति देउवाको खुसी महाधिवेशनको मुखैमा असीमित हुनुपर्छ । सुनिल थापाको चाहिँ कांग्रेस बन्ने परीक्षार्थी साहस सुरु भएको छ, उनको रोजाइ पनि यही होला ।        
 

प्रतिकृया दिनुहोस
ad