कोरोनाभाइरसको औषधिको खोजी

डा. राम कुवर 

कोरोना भाइरस नितान्त नयाँ भएकोले यसका धेरै कुरा स्वास्थ्यकर्मीलाई पनि थाहा छैन । त्यसैले यससम्बन्धमा भइरहेका केही वैज्ञानिक अध्ययन अनुसन्धानको चर्चा गर्दैछु । आशा छ, कोरोनासँग जुध्न यी जानकारी उपयोगी हुनेछन् । अहिले कोरोनाको संक्रमणबाट जोगिन एक आपसमा ६ फिटको दूरी कायम गर्न भनिएको छ । के यो काफी छ त ? हावामा यो भाइरस कति समय सक्रिय रहला ? अनि मास्क लगाउँदा कति सुरक्षित रहिन्छ ? यसको औषधि कहिले बन्ला भन्ने ? यस्ता विषयमा सबैमा कौतुहल छ । पहिले सोचेका कुरा सबै असत्य हुँदै गए । गर्मी लागेपछि संक्रमण मत्थर होला भन्ने अपेक्षा पनि अन्तत गलत नै भयो भन्दा हुन्छ । थाहा भएसम्म कोभिड - १९ लगाउने सार्स कोभ-२ भाइरसका छिटा हाच्छिउँ गर्दा र बोल्दा वरपर फैलिन्छन् । यी छिटा स्वस्थ मानिसको नाक, मुखमा र आखामा टाँसिन पुगेमा कोभिड - १९ लाग्ने जोखिम धेरै हुन्छ । त्यसैले अहिले संसारभरकै मानिसहरू एकआपसमा दूरी कायम गरेर हिँडिरहेका छन् । यसै सन्दर्भमा जर्नल 'फिजिक्स अफ फ्लुड'मा भर्खरै प्रकाशित एउटा लेखअनुसार हल्का हावा चलेको अवस्थामा पनि भाइरसका छिटा ५ सेकेन्डमा १८ फीट ( ५.५ मिटर) टाढा पुग्नसक्ने देखियो । त्यसैले यो यति चाँडो फैलिएको अनुमान गरिएको छ । 

कति समय सक्रिय रहला त सार्स कोभ-२ भाइरस हावामा ?  

साधारण गफगाफ गर्दा निस्केको संक्रमितको छिटा हावामा भाइरसका कण १४ मिनेटसम्म सक्रिय रहने मे १३ मा प्रकाशित प्रतिष्ठित 'पी.एन.ए.एस.' जर्नलमा उल्लेखित छ। त्यस्तै अमेरिकाको प्रतिष्ठित पेन्सेल्भानिया विश्वविद्यालयको अनुसन्धानबाट 'कडा बोल्दा प्रतिसेकेन्ड हजारौंको संख्यामा छिटा बाहिर निस्किने' तथ्य निस्कियो । त्यसैले बन्द कोठामा संक्रमितले बोल्दा, कराउँदा, सारो कुराकानी गर्दा पनि भाइरस सर्न सक्ने देखियो । तसर्थ बारमा, नाइट क्लबमा, भिडभाडमा नजानु नै राम्रो हो ।

मास्कको प्रयोग : कतिपय मानिसमा लक्षणरहित कोरोना संक्रमण हुने भएकोले गर्दा उनीहरूको सम्पर्कमा आउने स्वस्थ मानिसलाई कोरोना सर्ने जोखिम धेरै हुन्छ । हङकङ विश्वविद्यालयमा गरिएको अनुसन्धानमा अनुहारमा लगाइने मास्कले ७५ प्रतिशतसम्म कोरोना सर्न रोकिएको, कम भएको देखियो । एक किसिमको ठूलो मुसामा गरिएको अनुसन्धानमा अनुसन्धानकर्ताले संक्रमित मुसा र स्वस्थ मुसाहरूलाई दुईअलग पिँजरा (केज )मा राखेर ती पिँजरालाई मास्कले ढाकेर र नढाकी अनुसन्धान गरेका थिए । केज भनेको अनुसन्धानको लागि मुसा राख्ने सानो भाडो हो । संक्रमित मुसाको केज ढाकेर राख्दा १५ प्रतिशत स्वस्थ मुसालाई मात्र संक्रमण देखियो । अनि स्वस्थ मुसाको केज मास्कले ढाकेर राख्दा ३३ प्रतिशत स्वस्थ मुसा संक्रमित भए । त्यस्तै संक्रमित र स्वस्थ मुसाको केज दुवैमा मास्कले नढाक्दा करिब ६६ प्रतिशत स्वस्थ मुसा संक्रमित भए ७ दिनभित्र । यो अनुसन्धानमा एउटा पंखाको प्रयोग गरेर संक्रमित मुसा भएको केजबाट स्वस्थ मुसा भएको केजसम्म छिटा पुग्नसक्ने बनाइएको थियो । यो अनुसन्धानले फेस मास्क लगाउनु एकदम उपयोगी देखायो । लक्षणरहित कोरोना संक्रमितबाट स्वस्थ मानिसमा कोरोना सर्न नदिनको लागि सबैले मास्क लगाउनुपर्ने भयो । अर्को, अमेरिकाको प्रतिष्ठित सेन्टर फर डिजिज कन्ट्रोलले भर्खरै गरेको अनुसन्धानले ८० प्रतिशत मानिसले माक्स प्रयोग गरेको खण्डमा कोरोनाको संक्रमण उल्लेखनीयरूपमा घट्ने देखाएको छ । 

कोभिड - १९ को उपचार  

अहिलेसम्म यसको भरपर्दो उपचार विकास भइसकेको छैन । मे ८ सम्मको अमेरिकाको फुड एन्ड ड्राग  एडमिनिस्ट्रेसनले  केही आपतकालीन औषधिलाई अनुमति दिएको छ । 

१.    मलेरियाको उपचारमा प्रयोग हुने : क्लोरोकुइन  र हिड्रोकुइन, खासै राम्रो नतिजा देखाएको भने छैन । अमेरिकन रास्ट्रपति डोनाल्ड ट्रम्पले प्रबर्धन गरेको औषधि हो । 

२.     एन्टी भाइरल : यसले भाइरसलाई कोषभित्र बढ्न नदिने अनि भाइरसको वृद्धि विकासलाई रोक्छ । रेम्देसिभिर नाम गरेको इबोलाको लागि बनाइएको तर इबोलामा असफल यसले केही सकारात्मक नतिजा दिएको भनिए पनि सोचेजस्तो काम नगरेको एन्टी भाइरल हो । अर्को एन्टी भाइरल

कोलेट्रा भन्ने लोपिन्भिर र रितोनभिर दुइटा मिलाएर एचआईभीको लागि दिइने पनि औषधि पनि कोभिड - १९ को लागि प्रयोग गरियो । प्रतिष्ठित न्यु इङलैंड जर्नल ओफ मेडिसिनका अनुसार यो पनि प्रभावकारी देखिएन ।अन्य एन्टी भाइरलमा फेबिपिरभिर : जापानले इन्फ़्लुएञ्जा को लागि बनाएको हो । चिनियाँहरूले यसको प्रयोग गरेको बताइन्छ ।  

३.    एन्टीबडी :  भर्खरै एउटा सानो बायोटेक कम्पनी सोरेन्टोले  कोभिद - १९ विरुद्ध एन्टीबडीको विकास गरेको जानकारी सार्वजनिक भएको छ । यो   एन्टीबडीले भाइरसलाई शरीरमा छिर्न नदिने  अनि छिरेको भाइरस पनि बढ्न नदिने  कम्पनीको दाबी छ। तर, यसको परस्क्षण हुन बाँकी नै छ ।

४.     ब्लड प्लाज्मा ट्रान्सफर : कोरोना लागेर निको भएका मानिसको रगतमा सार्स कोव-२ विरुद्धको एन्टीबडी हुने भएकोले त्यो प्लाज्मा बिरामीलाई दिएको खण्डमा त्यो भाइरससँग लड्छ हुन्छ र भाइरसलाई ब्लक गरेर कोषभित्र पस्न नदिने भएकोले प्लाज्मा ट्रान्सफर प्रयोग गरिएको हो । कसै कसैलाई यसले फाइदा गरेको देखिन्छ । 

५.    इम्मुनो सप्रेंट:  कसैकसैमा कोभिड - १९ हुँदा शरीरको इम्मुन प्रणाली चाहिनेभन्दा बढी सक्रिय भएर धेरै साइटोकाइन भन्ने रसायन निकाल्छ । यो साइटोकाइनले  शरीरको कोषमा नकरात्मक असर पार्छ अनि बिरामी गम्भीर अवस्थामा पुग्छ । अर्ड्स (एक्युट रेस्पिरेटरी डिस्ट्रेस सन्ड्रमं) भएका यस्ता बिरामीलाई भेल्टिलेटर आवश्यक पर्छ । यस्ता बिरामीलाई इम्मुनो सप्रेंट दिनुपर्ने हुन्छ ।

६.    खोप : खोपले शरीरमा इम्मुन प्रणालीलाई तयारी अवस्थामा राख्छ तर यो भाइरस शरीरमा पस्नुभन्दा अगाडि नै दिनुपर्ने हुन्छ । खोपले शरीरमा भाइरस विरुद्ध एन्टीबडी तयार गर्छ । अमेरिकाको नेसनल इनस्टिच्युड अफ हेल्थका अनुसार जनवरी २०२१ सम्ममा खोप आउन सक्छ । 
अब खोप बनाउने कम्पनीबारे जानकारी : 

मोडेना:  अमेरिकाको सियाटलमा रहेको यो बायोटेक  कम्पनी ले एमआएनए खोप बनाउँछ । यसले बनाएको खोपले पहिलो चरणको परीक्षण पार गरेको छ । यो खोप मानिसका लागि सुरक्षित पाइयो । अब जुलाईसम्ममा यसले तेस्रो चरणको परीक्षण गर्दै छ । 

इनोवियो : यो कम्पनीसँग मार्स भन्ने अर्को कोरोनाभाइरसको खोप बनाएको अनुभव छ । यसले बनाएको खोपले पहिलो चरणको परीक्षण पार गरेर दोस्रो र तेस्रो चरणमा पुगेको छ । 

अक्सफोर्ड विश्वबिद्यालय : बायोटेक कम्पनी एस्ट्रोजेन्कोसँग मिलेर अक्सफोर्डले खोपको विकास गरेको छ जुन बाँदरमा सफल परीक्षणा पनि भइसकेको छ । अहिले अन्तिम चरणको परिक्षणमा छ । सबै कुरा भनेजस्तै भएको खण्डमा सेप्टेम्बर सम्ममा ३ करोड मात्रा बनाउने लक्ष्य छ । 
अन्य कम्पनीहरू जस्तो जोहनसन् एंड जोहनसन्, सनोफी र अस्ट्रेलियाको क्विनसल्यान्ड विश्वविद्यालय पनि खोपको विकासमा जुटेका छन् ।

संक्षेपमा कोरोनाभाइरस विरुद्धको खोप विकासकै चरणमा रहेकोले अझै ६ -७ महिना अगाडि प्रयोगमा आउन गाह्रो छ । त्यसैले केही समयसम्म सामाजिक दूरी कायम गर्ने, भिडभाडमा नजाने, बन्द कोठामा धेरै जना नबस्ने अनि सार्वजिनक ठाउँमा हुँदा मास्क अनिवार्य प्रयोग गर्नु नै कोभिड -१९ बाट बाँच्ने उपाय देखिन्छ ।

(अमेरिकाको भर्जिनिया कम्मनवेल्थ विश्वविद्यालयमा अनुसन्धानरत) 

प्रतिकृया दिनुहोस
ad