site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खसेको अर्थतन्त्र ‘भी’ आकारमा उकासिएला ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस (कोभिड–१९) ले अहिले विश्वको अर्थतन्त्र शिथिल बनाएको छ । त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ । कोरोनाका कारण भएको लकडाउनले पुर्‍याएको आर्थिक क्षतिको पुनरुत्थान कसरी गर्ने भन्ने विषयमा अहिले बहस पनि सुरु भएको छ ।

निजी क्षेत्र, संसदीय समिति, बजेट निर्माणका क्रममा भएका छलफल र सरोकारवालाको अहिले यो विषय प्रमुख चासो भएको छ । अर्थतन्त्रलाई कसरी पुरानै अवस्थामा ल्याउने भन्ने बारेमा विशेषगरी सरकार बजेट निर्माणमा व्यस्त हुँदा राहत र प्रोत्साहन (स्टिमुलस) प्याकेजमार्फत् अर्थतन्त्रलाई पुनर्जागृत गर्न सकिनेमा अर्थविद्हरु विश्वस्त देखिन्छन् ।

कोरोनाभाइरसको विश्वबजारमा कुनै औषधि र खोप निर्माण नभएसम्म नेपालको अर्थतन्त्रको सबैभन्दा बढी प्रभावित समय कुन हो भनेर आकलन भने कसैले गर्न सकेका छैनन् । निजी क्षेत्र, सरकार, अर्थविद् वा सम्बन्धित क्षेत्रका विज्ञ कसैले पनि अहिलेकै अवस्था सबैभन्दा प्रभावित हो या यो भन्दा बढी हुन सक्छ भन्ने आकलन गर्न सकेका छैनन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यस्तो अवस्थामा जुन समय र दरमा विथोलियो त्यही दरमा अर्थात् अंग्रेजी अक्षर ‘भी’ आकारमा माथि उठ्ला त ? व्यवसायी र एकथरी अर्थविद्को माग र सुझावअनुसार अर्थतन्त्रको पुनरुत्थान अंग्रजी अक्षर ‘भी’ आकारमा हुनुपर्ने छ । त्यो हुन नसके आर्थिक सन्तुलन बिग्रन सक्नेछ ।

तर ‘भी’ आकारमा पुनरुत्थान हुनका लागि आर्थिक र मौद्रिक नीतिबीच सन्तुलन हुन आवश्यक रहेको अर्थविद्हरुको सुझाव छ । उनीहरुका अनुसार अहिले नै अत्याधिक विथोलिएको मानेर तत्कालै नीतिगत व्यवस्था गर्नुपर्नेछ । अर्थतन्त्र ३ देखि बढीमा ६ महिना बिथोलिँदा आर्थिक वृद्धिको ग्राफमा यस्तो (भी) आकार देखिन्छ ।
अर्थतन्त्र पुरानो स्थितिमा फर्किने अर्को तरिका हो, अंग्रेजी अक्षर ‘यू’ आकारको पुनरुत्थान । 

Royal Enfield Island Ad

विथोलिएको परिवेश केही समय यथावत् रहेर नीतिगत सुधारसहित क्रमिक सुधार आत्मसात गर्न सकिन्छ ।  त्यसका लागि सरकारले क्रमिक रुपमा आवश्यकता हेरेर राहत र त्यसपछि प्रोत्साहन प्याकेज तयार पार्न आवश्यक छ । यस्तो आकार कोरोनाको कारण बजार ७ महिनाभन्दा बढी समय खराब अवस्थाबाट गुज्रँदा देखिनेछ ।
विश्वव्यापी अध्ययनले सन् २०२० को दोस्रो त्रैमासमा विश्वको आर्थिक वृद्धिदर सबैभन्दा खराब अवस्थामा पुग्ने देखाएको छ । विश्वव्यापी आपत्कालको अवस्था सिर्जना भए सो त्रैमासको वृद्धिदर ३ प्रतिशतले घट्ने अनुमान लगाइएको छ । त्यसपछि क्रमिक रुपमा सुधार हुने अपेक्षा गरिएको छ । सो आकार यू जस्तो देखिने अनुमान लगाइएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष, फ्रस्ट र सुलिभानको तथ्यांकका आधारमा निजीक्षेत्रले सरकारलाई प्रस्तुत गरेको सुझावमा दक्षिण एसिया र अमेरिकाको आर्थिक वृद्धिको ग्राफ ‘भी’ आकारको रहने अनुमान गरिएको उल्लेख छ । तर, मध्यपूर्व र युरोप क्षेत्रले ‘यु’ आकारमा प्रगति गर्नेछन् ।
यस्तोमा नेपाली अर्थतन्त्र कुन रुपमा पुनर्जागृत होला भन्ने प्रश्न छ ।

सोही विषयमा कतिपय मुलुकले कोरोना प्रभाव अध्ययन गरिसकेका छन् । लाखौंको रोजगारी गुम्ने बताइसकेका छन्, ‘आर्थिक वृद्धिदर कति परिमाणले विथोलिन्छ ?’ भन्ने अनुमान लगाइसकेका छन्, अर्थविद्हरुले पनि चेतावनी दिइसकेका छन् । नेपालले भने अहिलेसम्म स्वेतपत्र तयार पारेको छैन । केन्द्रीय तथ्यांक विभागले आर्थिक वृद्धिको अनुमानमा कोरोनाले जेठपछि पार्ने प्रभावलाई नजरअन्दाज गरेर तथ्यांक सार्वजनिक गरेको छ ।

विभागको अनुमानमा ‘पर्यटनबाहेक अन्य क्षेत्रको आर्थिक गतिविधि जेठबाट क्रमशः नियमित हुने विश्वास गरि अनुमान गरिएको’ उल्लेख छ । 

कोरोना संक्रमण दिनानुदिन बढ्दै जाँदा जेठमा आर्थिक गतिविधि पुरानो अवस्थामा फर्किहाल्न अझै समय लाग्ने पक्का छ । यस्तोमा सरकारले क्षेत्रगत हिसाबमा स्वेतपत्र सार्वजनिक गरेर कोभिडको वास्तविक प्रभाव सार्वजनिक गर्नुको विकल्प नरहेको अर्थविद्हरु बताउँछन् ।

तर, एकातिर तथ्यांकको अभाव र अनौपचारिक गतिविधि बढी हुनाले वास्तवित स्थिति सार्वजनिक हुनेमा शंका गर्ने ठाउँ छ ।

अर्कातर्फ अर्थतन्त्रमा कोरोना प्रभाव सामान्य भुइँचालोबाट प्रभावित जनजीवन भोलिपल्टै सुधारको क्रममा जाने वा राजनीतिक उपलब्धिको भोलिपल्टै एकअर्कासँग मिल्न थाल्ने जस्तो होइन ।  सन् १९३० को ‘द ग्रेट डिप्रेसन’बाट माथि उठ्न अमेरिकालाई ९ वर्ष लागेको थियो । सन् १९३३ मा फ्र्यांकलिन रुजभेल्ट राष्ट्रपति भएपछि ल्याइएको ‘न्यु डिल’को ६ वर्षपछि मात्र अर्थतन्त्र तङ्ग्रिएको थियो ।

सन् २००८ को आर्थिक मन्दीबाट माथि उठ्न पनि केही वर्ष लागेको थियो । यिनै विश्वव्यापी परिदृष्यलाई आत्मसात गर्दै आर्थिक–मौद्रिक नीति ल्याएर भी–आकारको आर्थिक वृद्धि ग्राफ आत्मसात गर्न यथाशक्य काम गरिनुपर्ने अर्थविद्हरुको सुझाव छ । अर्थविद् प्रा.डा. विश्वम्भर प्याकुरेल विश्वभरको अनुभवले आर्थिक र मौद्रिक नीतिमा सन्तुलन आएको देश र क्षेत्रमा भी आकारको रिकभरि आउने अनुमान गरिएको बताउँछन् । 

उनले भने, “हामीले बुद्धि पुर्‍याएनौं भने भी आकारको रिकभरि नसोचे पनि हुन्छ ।” 

प्याकुरेलले सकेसम्म चाँडै नै विभिन्न परिवेश आकलन गरेर बलियो ढंगको तथ्य तयार पारिनुपर्ने सुझाव दिए ।

अर्थविद् डा. शंकर शर्मा पनि श्वेतपत्र ननिकालिएकोमा प्रश्न गर्छन् । उनले देशको क्षमता के ? सरकारसँग कस्तो पूर्वाधार छ ? कति बिरामीलाई उपचार गर्न सकिन्छ ? भन्ने जानकारी सरकार आफैंलाई नभएको टिप्पणी गरे । शर्माले भने, “सबै जानकारी अनुमान र हचुवाको भरमा मात्र राखिएको छ ।”

अर्का अर्थविद् डा. चन्द्रमणी अधिकारी कोभिडका कारण लकडाउन भएको भन्दै जेठदेखि परिस्थितिलाई ‘डिल डाउन’ को विकल्प नभएको बताउँछन् । अर्थ अर्थतन्त्रलाई सुस्त बन्न दिन नहुने उनको तर्क छ । त्यसो गरेमात्र ‘भी–आकार’को ग्राफ देख्न सकिने तर यो असम्भव नै रहेको उनी बताउँछन् ।

अधिकारीले भने, “आशावादी भएर बढीमा ‘यू’ आकारको र नभए ‘कप’ आकारको पुनरुत्थान आत्मसात गर्न सकिएला, भी त असम्भव नै छ ।” अधिकारीले पनि क्षेत्रगत अध्ययन गरेर श्वेतपत्र ल्याउन सुझाव दिए ।

भारतले कुल गार्हस्थ उत्पादनको १० प्रतिशत बराबरको अर्थात् २०० खर्बको स्टिमुलस प्याकेज ल्याएको बताउँदै उनले भने, “अमेरिकाले १३ प्रतिशत, मलेसियाले १७ प्रतिशत र जापानले २१ प्रतिशतको स्टिमुलस प्याकेज घोषणा गरेको छ । नेपालले पनि ५ देखि १० प्रतिशतसम्मको गर्नुपर्छ ।”

कोभिड–१९ प्रभाव र आगामी बजेटबारे अर्थविद्को सुझावः

विश्वम्भर प्याकुरेल

‘अध्ययनहरुले लकडाउन खुकुलो बनाउँदा आर्थिक वृद्धि शून्य हुने अनुमान गरेका छन् । तर, कडा गर्दा २० प्रतिशतले ऋणात्मक हुने अनुमान छ । यसअर्थमा लकडाउन कडा गर्दा खासै ठूलो प्रभाव त पर्ने रहेनछ भन्ने बुझिन्छ । हामीले मानवजीवन नै समस्यामा परे अर्थतन्त्र फेरि कसरी पुनर्जाग्रित गर्ने ? भन्नेबारे पनि सोच्नुपर्छ ।
ती अध्ययनले विकसित मुलुकको अर्थतन्त्र नै पुरानो अवस्थामा फर्कन २ वर्ष र रोजगारी यही परिमाणमा सिर्जना हुन ६ वर्ष लाग्ने अुनमान गरेका छन् । यसअर्थमा हामी जति सजिलै फर्किन्छौं भनेर लख काटिरहेका छौं, त्यति सजिलो त नहोला ।
कोरोनाले ४ देखि ६ लाखको संख्यामा गरिबी थपिने अनुमान गरिएको छ तर वित्तीय क्षेत्र ठूलो मन्दीमा जाने देखिँदैन ।

डिल्लीराज खनाल
देशले स्वास्थ्य, मानवीय र आर्थिक संकट एकैपल्ट खेप्नु परेको छ । जेठबाट अवस्था सामान्य आउने आकलनमा चालू आवमा २.२७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको थियो । तर, हिजोको अनुमान आज नमिल्ने देखिन्छ । अर्थतन्त्र र यसका अवयवले थप नकारात्मक स्थिति सामना गर्नुपर्ने हुन्छ ।
संकटलाई मध्यनजर गर्दै तयार पारिएको विनियोजन विधेयकको सिद्धान्त र प्राथिमकिता हेर्दा अहिलेका संकट कम गर्ने देखिँदैन । संविधान र सरकारको थप प्राथमिकता पनि यथावत् छ ।
यो असामान्य र असाधारण परिस्थितिले अवसर पनि सिर्जना गरेको छ । बजेटको आधार र परिपाटीमा सुधारको खाँचोपट्टि ध्यान दिनुपर्छ । नयाँ कार्यक्रम नल्याउने र पन्ध्रौं आवधिक योजनामा प्राथमिकीकरण गर्ने मानिरहँदा सरकारले यो समस्यालाई सहजै रुपमा लिनसक्ने डर छ ।
बजेटले एउटा क्षेत्रले अर्कोलाई परिपुरक गर्ने गरी कार्यक्रम प्रस्तुत गरिनुपर्छ । सरकारले निजीक्षेत्र वा अन्य क्षेत्रले दएको सुझावलाई नभएर देश र जनतालाई हित हुने किसिमको बजेट ल्याउनुपर्छ ।

 

शंकर शर्मा

सरकारले चालू आव २० लाख रोजगारी दिने भन्ने योजना बनाएको सुनिए पनि त्यसो गर्न सक्ने क्षमता छैन । पर्यटनबाट ८० प्रतिशत, साना तथा मझौला उद्योगबाट ६० प्रतिशतसम्म रोजगारी गुम्नेछ ।  यसअर्थमा राहत र रोजगारीलाई बजेटमा ‘फ्ल्यागशिप’ कार्यक्रमका रुपमा राखिनुपर्छ ।

चन्द्रमणी अधिकारी

बजेटले प्राथमिकता परिवर्तन गर्नुपर्छ । अबको २–३ वर्ष मान्छे घरबाट बाहिर निस्कँदैनन् । घुम्नका लागि रकम खर्च गर्दैनन् । यसकारण पुरानै हिसाबले पर्यटनलाई प्राथमिकतामा राख्नु हुँदैन । त्यसको ठाउँमा स्वास्थ्य प्राथमिकतामा हुनुपर्छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, आपूर्तिकर्मी र सञ्चारकर्मीको स्वास्थ्य ग्यारेन्टी हुनुपर्छ ।
कोभिडका कारण यातायात क्षेत्रमा २ लाख, पर्यटनमा १२ लाख आदि गरी लाखौंको रोजगारी गुम्नेछ । तीमध्ये धेरै पुरानै अवस्थामा फर्किने सम्भावना छ ।  तर, विदेशबाट नेपाल फर्कने भनेर खुट्टा उचालिसकेका ४–५ लाख जनशक्ति छन् ।  र, अरु त्यति नै संख्यामा नेपाल फर्कन इच्छुक छन् । 

जनसंख्याका आधारमा थप ४–५ लाख श्रमशक्ति बजारमा थपिनेछ । यी सबैलाई रोजगारी दिनसक्नु निकै ठूलो चुनौती हो । सरकारले यसरी तथ्यमा आधारित नीति बनाउनुपर्छ । न्याय र सामाजिक सुरक्षा पहिलो प्राथमिकता हुनुपर्छ ।  उत्पादन, उत्पादकत्व सिद्धान्त र रोजगारी दोस्रो प्राथमिकतामा राखेर राहत र स्टिमुलस प्याकेज तयार पारिनुपर्छ ।
उत्पादन गर्न काम गर्नुपर्छ, उत्पादन बढाउन दाम चाहिन्छ र बजारमा बिकाउन नाम चाहिन्छ । एग्रि–कल्चरलाई एग्रि–बिजेनस बनाउनुपर्छ । अनिमात्र देशको उन्नती सम्भव छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  १८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro