site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालुवाटारमा हस्ताक्षर, ओलीको पक्षमा बहुमत सांसदले सही गरेको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सांसदहरूलाई हस्ताक्षर गराएका छन् । सरकारविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि ओलीले बालुवाटारमा प्रतिनिधिसभा सदस्यहरूलाई बोलाएर हस्ताक्षर गराएको सांसद कृष्ण राईले जानकारी दिए । संसदीय दलका बहुमत सांसदहरूले ओलीको पक्षमा हस्ताक्षर गरेको राईको दाबी छ ।

“पार्टीकै शीर्ष नेताहरूले प्रधानमन्त्री फेर्ने तयारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रतिरक्षा गर्नै पर्‍यो । हामीले हस्ताक्षर गर्‍यौं । प्रधानमन्त्री संसदीय दलमा बहुमतमा हुनुहुन्छ,” राईले बाह्रखरीसँग भने ।

Argakhachi Cement Island Ad

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि काङ्ग्रेस, मधेसवादी दलका नेताहरूलाई भेटेर अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको सूचना पाएपछि प्रधानमन्त्रीले संसदीय दलभित्र बहुमतमा रहेको सिद्ध गर्न खोजेका हुन् ।

“कांग्रेसका केही नेता र मधेसवादी दलका नेताहरूसँगको छलफलपछि प्रचण्डले अविश्वासको प्रस्ताव ल्याउने सूचना पाएपछि हामीले नै पहल गरेका हौं,” उनले थपे ।

कांग्रेस या मधेसवादी दलका तर्फबाट अविश्वासको प्रस्ताव दर्ता गर्ने सूचना पाएपछि दुई अध्यक्षबीच असमझदारी उत्कर्षमा पुगेको थियो । प्रचण्डले पार्टीका सांसदहरू बोलाएर हस्ताक्षर गराउने तयारीसमेत गरेका थिए । गठबन्धनको भावनाविपरीत प्रचण्डले अरू दलसँग मिलेर सरकार ढाल्न खोजेको भन्दै उपाध्यक्ष वामदेव गौतमले आफूनिकटका सांसदलाई हस्ताक्षर नगर्न भनेको बालुवाटार स्रोत बताउँछ ।

“केही दिनअघि प्रधानमन्त्रीले प्रचण्डलाई पनि सोध्नुभएको सूचना हामीले पाएका छौं । जसरी पनि हटाउने योजनामा प्रचण्ड अग्रभागमा देखिएपछि उहाँले बहुमत सिद्ध गर्नै पर्‍यो,” राई पनि भन्छन् ।

राईका अनुसार प्रधानमन्त्रीका पक्षमा हस्ताक्षर गर्न सांसदहरू बालुवाटार जाने क्रम जारी छ । ओलीका पक्षमा रहेका अतिरिक्त उपाध्यक्ष वामदेव गौतम खेमाका सांसदहरू पनि बालुवाटार पुगेका छन् ।
स्रोतका अनुसार गौतमनिकट भनिएका गणेशसिंह ठगुन्ना, राधा ज्ञवाली, दलबहादुर राना, रामवीर मानन्धरलगायत सांसदहरूले हस्ताक्षर गरिसकेका छन् ।

नेकपाका १ सय ७२ जना सांसद् छन् । संसदीय दलमा बहुमत सिद्ध गर्न ८८ सांसदको आवश्यकता पर्छ । प्रधानमन्त्री ओली केही दिनदेखि सांसदहरूसँग छलफलमा जुटेका थिए । सोमबार र मङ्गलबार सांसदहरूलाई बोलाएर शीर्ष नेताहरू नै सरकार परिवर्तन गर्न लागेकाले पार्टी विभाजन हुने खतरा औंल्याएका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  १४:०१
प्रतिक्रिया दिनुहोस्