
स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाले बंगुर ओसारपसारमा प्रतिबन्ध लगाएको छ । चापाकोट नगरपालिका–९ स्थित एक व्यावसायिक फार्ममा ‘अफ्रिकन स्वाइन फिवर’ नामक रोग पुष्टि भएसँगै यसको रोकथाम तथा नियन्त्रणका निम्ति नगरपालिकाले चापाकोटबाट अन्यत्र ओसारपसार गर्न रोक लगाएको हो ।
घरपालुवा सुँगुर, बंगुर र जंगली बँदेल प्रजातिमा विषाणुका कारण लाग्ने उच्च मृत्युदर भएको खतरनाक महामारीजन्य अफ्रिकन स्वाइन फिवर रोग प्रयोगशालामा परीक्षणबाट पुष्टि भएको चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले बताए ।
“यहाँको एक व्यावसायिक फार्ममा शंकास्पद लक्षणका आधारमा प्रयोगशालामा परीक्षणका लागि पठाएका थियौँ,” उनले भने, “परीक्षणका क्रममा अफ्रिकन स्वाइन फिवर पुष्टि भएकाले चापाकोट नगरपालिकाबाट तत्काललाई सुँगुर, बंगुर तथा बंगुरजन्य पदार्थहरू ओसारपसारमा रोक लगाएका हौँ ।”
अफ्रिकन स्वाइन फिवर रोगले छोटो समयमा महामारीको रूप लिन सक्ने भएकाले पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा १५ बमोजिम अर्को सूचना नभएसम्मका निम्ति ओसारपसारमा प्रतिबन्ध लगाइएको उनले बताए ।
चापाकोट–९ का कृषक दीपेन्द्र गहतराजले सञ्चालन गरेको गहतराज बहुउद्देश्यीय कृषि तथा पशुपालन फार्ममा पालिएका बंगुरहरू एकाएक मर्न थालेपछि चापाकोट नगर पशु शाखाले शंकास्पद बंगुरको नमुना परीक्षणका निम्ति केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा पठाएको थियो ।
प्रयोगशालाबाट बंगुरमा अफ्रिकन स्वाइन फिवर भएको पुष्टि भएपछि थप संक्रमण फैलन नदिन ओसारपसारमा विशेष ध्यान दिइएको पशु सेवा शाखा चापाकोटका प्राविधिक सहायक समीक्षा रोकायाले बताइन् । रासस