
पोखरा । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आइतबार (जेठ ११)देखि सुरु भएको छ । अधिवेशनको पहिलो दिन दलगत आधारमा नेताहरूले सम्बोधन गर्ने अभ्यास छ । आइतबार त्यसमा शून्य समय पनि थपियो ।
शून्य समयमा उठाइएका विषयलाई सरकारले त्यति महत्त्व दिने गरेको पाइँदैन । तर, कतिपय अवस्थामा सांसदहरूले गम्भीर विषय उठान गरिरहेका हुन्छन् । आइतबार पनि शून्य समयमा सांसदहरूले संवेदनशील विषय उठान गरे । विशेष गरी आउँदो मनसुन अवधिमा वर्षासँगै हुने क्षति न्यूनीकरणका निम्ति उनीहरूले सरकारको ध्यानाकर्षण गराए ।
जल तथा मौसम विज्ञान विभागले यसपालि मनसुनमा औसतभन्दा बढी वर्षाको आकलन गरेको छ । त्यसमा पनि वर्षाको सम्भावना सबैभन्दा बढी गण्डकीमा औँल्याइएको छ । तापक्रम समेत बढी हुने अनुमान छ । यही विषयलाई गम्भीर रूपमा लिन प्रदेशसभा सदस्यले ध्यानाकर्षण गराएका हुन् ।
गत वर्ष जेठ २८ देखि असार २८ गतेसम्मको अवधिमा गण्डकीमा बाढीपहिरो, चट्याङका कारण १०१ जनाले ज्यान गुमाएका थिए । १०८ जना घाइते भएका थिए । ६ जना बेपत्ता भए । तीन हजार ४७३ जना विस्थापित भएका थिए । गत सालको जस्तो क्षति हुन नदिन र विपद्को पूर्वतयारीका निम्ति सरकारलाई उनीहरूले आग्रह गरेका हुन् ।
प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले विभागले गरेको वर्षाको आकलनप्रति सबैको चासो रहेको बताए । जोखिम न्यूनीकरणका निम्ति अतिरिक्त व्यवस्थापनको खाँचो रहेको भन्दै उनले सरकारका सबै संरचनालाई चुस्त र दुरुस्त राख्नुपर्नेमा जोड दिए ।
अर्का प्रदेशसभा सदस्य टीकाकुमारी बस्यालले मनसुनजन्य विपद्बाट हुन सक्ने मानवीय र भौतिक क्षति कम गर्न सरकार संवेदनशील भएर ‘इमर्जेन्सी फन्ड’ र उद्धारका निम्ति तालिम प्राप्त जनशक्तिको व्यवस्था गर्नुपर्ने बताइन् ।
यस्तै, मुस्ताङका प्रदेशसभा सदस्य विकल शेरचनले गत वर्षको तुलनामा सरदरभन्दा ४५ प्रतिशतभन्दा बढी पानी पर्ने र तापक्रम पनि वृद्धि हुने पुर्वानुमान गरिएको भन्दै हिमतालको अवस्था र त्यसबाट हुन सक्ने जोखिमको आकलन गर्नुपर्ने बताए ।
अर्का प्रदेशसभा सदस्य पञ्चराम गुरुङले स्याङ्जाको आँधीखोला गाउँपालिका–५, जुग्लेबजारका १० घर अहिल्यै जोखिममा परिसकेको भन्दै बस्ती जोगाउनुपर्ने माग गरे ।
सुशीला सिम्खडाले उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३, सिर्दीबासको दोयलबस्ती तत्काल सार्न माग गरिन् ।
हरिबहादुर भण्डारीले गण्डकी प्रदेशमा यो वर्षायाममा ५५ देखि ६२ प्रतिशतसम्म बढी वर्षा हुने सम्भावना देखाएको भन्दै यसबाट सबैभन्दा बढी जोखिममा म्याग्दी रहेको उल्लेख गरे । मनसुनजन्य विपद्को न्यूनीकरण, उद्धार, व्यवस्थापन, राहतको अवस्था के छ भनेर उनले प्रदेश सरकारसँग प्रश्न गरे ।
स्याङ्जाका प्रदेशसभा सदस्य भोजराज अर्यालले चारपटकसम्म सदनमा आवाज उठाउँदा पनि सरकारले ध्यान नदिएको गुनासो गरे । उनले आफ्नो निर्वाचन क्षेत्रमा गत वर्षायाममा हजारौँ रोपनी जग्गा, घर, सिँचाइ र खानेपानीका योजना क्षतिग्रस्त भएर अर्बौं रुपैयाँको क्षति भएको दोहोर्याए ।