site stats
बाह्रखरी :: Baahrakhari
देश
‘जसलाई अझै भुल्न सकिएको छैन’

काठमाडौं । २०७२ वैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पको आज पाँच वर्ष पूरा भएको छ ।

गोरखाको बारपाक केन्द्रविन्दु भएर आजकै दिन ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा देशभर ८ हजार ७ सय ९० मानिसको मृत्यु भएको थियो । यस्तै २० हजारभन्दा बढी नागरिक घाइते भएका थिए । भूकम्पका कारण गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रे, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर गरी १४ जिल्लामा सबैभन्दा धेरै क्षति भएको थियो । जसलाई नेपालीले अझै भुलेका छैनन् । नेपालीका मनमा कहर बनेर रहेको २०७२ को भूकम्पले अझै पनि पूर्ण रूपमा तंग्रिएको अवस्था भने छैन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भूकम्पबाट समग्रमा ३२ जिल्लामा क्षति पुगेको थियो । भूकम्पबाट मानविय क्षतिसँगै घर, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सार्वजनिक भवन, सडक, खानेपानीलगायत पूर्वाधारमा खर्बौं रुपैयाँबराबरको क्षति भएको थियो । भूकम्पबाट ८ लाखभन्दा बढी निजी घर, ७ हजार ५ सय ५३ विद्यालय, १ हजार १ सय ९७ स्वास्थ्य संस्था, ९ सय २० सम्पदा, ४ सय १५ सरकारी भवन, २ सय १६ सुरक्षा निकायका संरचना, ७ सय ६२ किलोमिटर सडक र हजारभन्दा बढीको संख्याका खानेपानी आयोजनामा क्षति पुगेको थियो । खर्बौंको नोक्सानी हुनेगरी क्षति भएका भौतिक संरचनाहरुको पुननिर्माणको काम भूकम्प गएको पाँच वर्ष पुग्दासमेत सम्पन्न हुन सकेका छैनन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अहिले सम्म ४ लाख ९४ हजार ४४ निजी आवास निर्माण भइसकेको र १ लाख ९० हजार १ सय ४५ पुनर्निर्माणको चरणमा रहेको गरी ८८ प्रतिशत प्रगति भएको जनाएको छ ।

तर अझै पनि करिब ७० हजार निजी आवासको प्रवलीकरणको काम भने बाँकी छ । यस्तै अहिलेसम्म ७४ प्रतिशत विद्यालय अर्थात् ५ हजार ५ सय ९८ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको र १ हजार ४ सय ९२ विद्यालय पुनर्निर्माणको क्रममा रहेको प्राधिकरणले जनाएको छ । १ हजार १ सय ९७ क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये अहिलेसम्म ६ सय ६९ वटाको पुनर्निर्माण सम्पन्न भएको छ भने १ सय ४५ पुनर्निर्माणको चरणमा छन् ।

३२ जिल्लामा क्षतिग्रस्त ९ सय २० सम्पदामध्ये ४ सय २ वटाको मात्र पुनर्निर्माण सम्पन्न भएको छ भने १ सय ४१ पुननिर्माणको चरणमा छन् । तर, महत्त्वपूर्ण धरोहरहरू धरहरा, रानीपोखरी, काष्ठमाण्डप, सिंहदरबार, नुवाकोट दरबारलगायत सम्पदाको पुनर्निर्माणको काम भने अझै बाँकी छ । ४ सय १५ सरकारी भवनमध्ये ३ सय ४९ वटाको पुनर्निर्माण भएको छ । ४९ वटा पुनर्निर्माणका चरणमा छन् । यस्तै १ सय ९४ सुरक्षा निकायका संरचनाको पुननिर्माण सम्पन्न भइसकेको र २२ वटा पुनर्निर्माणका चरणमा छन् । 

७ सय ६२ किलोमिटर सडक पुनर्निर्माण गर्नुपर्नेमा अहिलेसम्म ४ सय ४३ किलोमिटर सडकको पुनर्निर्माण सम्पन्न भइसकेको छ । यस्तै खानेपानीतर्फ हजार योजनाको पुनर्निर्माण सम्पन्न भएको छ भने १ सयवटा पुननिर्माणको चरणमा रहेको प्राधिकरणले जनाएको छ ।
तस्बिर : सुनील प्रधान/बाह्रखरी
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १४:२४
प्रतिक्रिया दिनुहोस्