बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
ब्लग प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
संकटमा साथी बन प्रहरी !  प्रद्योतराज पाण्डे 
Godraj nepal
Godraj nepal
बाह्रखरी - बुधबार, वैशाख ३, २०७७
Laxmi Bank
Laxmi Bank

कोभिड–१९ का कारण विश्व त्रसित छ । धेरैले ज्यान गुमाइसके । नेपाल बन्दाबन्दी (लकडाउनमा) छ । सरकारको आदेश र आफ्नै स्वास्थ्यलाई ख्यालमा राखेर हामी घरभित्रै छौँ । सरकारले विनातयारी एकाएक लकडाउन गर्यो । लकडाउन गर्न ढिलो भइसकेको थियो तर एक साता अगाडि नै तयारी गरेर सूचना प्रवाह गरेको भए हामीले अत्यावश्यक सामान संग्रह गरेर राख्न सक्थ्यौँ होला । हुनत, जति नै संग्रह गरे पनि तरकारी, फलफूल, दूधजस्ता दैनिक उपभोग्य सामग्री र हामीले किन्न बिर्सेका सिटामोल र खोकीका औषधि किन्ने समयसम्म हामीलाई भएन । त्यसैले अहिले १–२ दिन बिराएर एकपटक तरकारी, दूध किन्नैपर्ने हुन्छ । 

हाम्रो घरतिर किराना पसल र फलफूल पाइने ठाउँ नजिक छैनन् र भएका प्रायः बन्द नै छन् । लकडाउनमा पसलेहरू पनि आफ्नो सुरक्षाको लागि घरभित्र बस्नु स्वाभाविकै हो । घरबाट ५ –७ मिनेटको दूरीमा रहेको किराना पसल बिहान र बेलुका खुल्छ । तरकारीलगायतका केही सामान पाइन्छ भन्ने सुनेर ‘‘आमाले जाऊ न त जवान छोरा भएपछि के चिन्ता ? तरकारी किनेर ल्याऊ’’ भन्नुभयो । मैले नाइँ भन्ने कुरै भएन । ‘‘हस्’’ भनेर झोला बोकेर निस्केँ । 

गत आइतबार साँझ ६ः३० बजेतिरको कुरा हो । म त्यो किराना पसल पुगे । अरू १ –२ जना मानिस तरकारी छान्दै थिए । म किराना पसल अगाडि उनीहरू गएपछि तरकारी जोखौँला भनेर उभिएको थिएँ । एक्कासि पछाडिबाट कसैले एउटा पाइपले अर्को एकजना दाइको तिघ्रामा बजायो । झसङ्ग भएँ । यसो हेरेको प्रहरी साथी रैछन् मास्क लगाएर हातमा लट्ठी बोकेका । ती दाइको मुखबाट बोली नै निस्केन । अलिअलि अँध्यारोजस्तो पनि थियो । बत्ती नभएजस्तो । उनी हतारहतार तरकारी छान्न थाले र त्यहाँबाट कहिले फुत्कौँजस्तो भाव देखाउन थाले ।

Agani Group

 यो घटनाले म पनि निस्तब्ध भएँ । मलाई पनि लाठी हानी हान्ले हो कि भन्ने डर पो लाग्न थाल्यो । पहिले केही नसोधी लाठी हान्ने अनि तरकारी किन्न आएको भनेपछि छिट्टो घर जाऊ रे ! त्यहाँ बस्नुपर्ने अवस्था पनि थिएन । उनी चुपचाप आफ्नो बाटो लागे । म पनि तरकारी किनेर घर फर्केँ । 

जतिजति घर नजिक आउँछु त्यतित्यति के गरेको प्रहरीले ? ती दाइले के अपराध गरेका थिए र ? तरकारी नै किन्न गा‘को त हो ! यस्तै कुरा सोच्दै घर पुगेँ । आमा बालाई सुनाएँ । लकडाउनको समय भनेर त्यसो गरेको होला, केही सोध्नु त पर्थ्यो नि लाठी हान्नु अगाडि ? 

sarbottam cement

म हातखुट्टा धोई कपडा फेरेर कम्प्युटर अगाडि बसेँ । साथीहरूसँग कुरा भयो । मैले प्रहरी साथीले एकजना दाइलाई त्यत्तिकै लाठी हाने भन्ने बताउँदा साथीहरू पो आक्रोशित बने । उनीहरुले फेसबुक र ट्विटर खोलेर ग्याँसको सिलिन्डर बोकेको मान्छेलाई प्रहरीले कुटिरहेको, चामलको बोरा बोकेको मान्छेलाई लाठी हानिरहेको फोटो देखाए ।

त्यसपछि पनि मेरा साथीहरूले प्रहरीले बिना सुझबुझ गरेका ज्यादतीका उदाहरण फोटोसहित देखाउन थाले । सशस्त्र प्रहरीबाट सप्तरीमा युवक कुटिए, प्रहरीको दादागिरी, आफ्नो घर जान भारतको सिमानाबाट नदी तरेर उत्रिएका नागरिक प्रहरीले हिरासतमालगायतका कैयौं समाचार पहिल्यै छापिएका रहेछन् । कतिपय अवस्थामा माथिको आदेश भनेर फिल्डमा खटिएका प्रहरी जवान उम्कने गरेको पनि पाइयो । यो निस्पृहता मलाई पटक्कै चित्त बुझेन र धेरैलाई बुझेको छैन । मलाई चित्त नबुझ्दैमा केहि फरक नपर्ला तर यस्ता घटनाले सर्वसाधारणलाई मानसिक तनाव दिन्छ । 

धेरैले यसका बारेमा सामाजिक संजाल र सञ्चारमाध्यममा लेखेका पनि रहेछन् । यो भन्दा अगाडि पनि कति प्रहरी जवानको जागिरै गएको रहेछ । सेवाबाट मुक्त भएका रहेछन् । फिल्डमा खटिने प्रहरीले यस्ता घटनाबारे थाहा पाउँदैनन् कि ? मलाई झनै आश्चर्य लाग्यो । आपतको मौकामा प्रहरी मेरो साथी भन्ने नारालाई उपहास गरेको भान भयो । 

मलाई भने आजको दिनसम्म पनि त्यो घटनाले मानसिक अशान्ति दिइरह्यो र लेख्न मन लाग्यो । हो, अहिले सुरक्षा दिन र सबैलाई घरभित्रै बसाउन प्रहरीहरू विनामास्क, विनाछुट्टी, विनाभय जिम्मेवारी पूरा गरिरहेका छन् । यो सराहनीय काम हो । कतिपय ठाउँमा प्रहरीले आपतमा परेकालाई खानापानी खुवाएको तस्बिर पनि देख्न पाइन्छ । त्यो देख्दा आनन्द लाग्छ । वास्तवमा प्रहरी साथी हुन् भन्ने लाग्छ । तर, जबजब विनाअपराध प्रहरी साथीले जनतालाई लाठी हानेका घटना आफ्नै अगाडि देख्नुपर्छ, सामाजिक संजालमा र समाचारहरूमा सुन्नुपर्छ तब प्रहरी साथीले आफ्नो मर्यादा नबिर्से हुनेजस्तो लाग्छ । 

सबै ठाउँमा सबैले यस्तो गर्दैनन् भनेर यस्ता क्रियाकलापलाई बेवास्ता गर्नु पनि हुँदैन । प्रहरीको पेसा, सेवा र मर्यादा संकटमा होस् या सामान्य अवस्थामा सधैँ उस्तै नै मित्रवत् हुनुपर्छ । अन्याय र अपराधलाई ढाकछोप र छुट हुनुहुन्न । तर केही गल्ती नगर्दा सिधै लाठी बजाउने अधिकार पनि छैन ।

संकटमा होस् या सामान्य अवस्थामा समाजका, कानुनका, सुशासनका नियम सबैले मान्नुपर्छ । प्रहरीको काम सुरक्षा दिनु हो तर कुरै नबुझी लाठी प्रहार गर्ने पक्कै होइन । यसमा धेरै कारणहरू लुकेका हुन सक्छन् । ड्युटीमा खटाउनुअगाडि कस्तो अवस्थामा के सजाय दिने तालिमको अभाव हो या प्रहरीको हातमा भएको लाठी प्रहार गर्नलाई मात्रै हो भन्ने ठानेर हो ? उनीहरू आफैँमा मानसिक अशान्तिमा रहेर काम गर्छन् वा अरू केही हो ? कारण खोजिनु जरूरी देखिन्छ ।

हाम्रो देशको अवस्था हेर्दा आपतकालमा अपनाउनुपर्ने आवश्यक तयारी र सुरक्षाभन्दा सानातिना सजाय र कारवाहीमा सक्रिय रहेको देख्दा कि त तल्लो स्तरका प्रहरी जवानलाई यथोचित तालिमको अभाव छ कि त प्रहरीले आफ्नो काम, कर्तव्य र अधिकार बुझेकै छैनन् जस्तो देखिन्छ । बेलामौकामा बढ्दै जाने यस्ता घटनाले प्रहरी जनताका साथी बन्ने होइनन् कि प्रहरीको व्यवहारबाट दिक्क हुनुपर्ने अवस्था आउन सक्छ । 

प्रहरी प्रशासन जनताको सुरक्षाको एउटा प्रमुख आधार हो । आफ्नो कर्तव्य पूरा गर्ने नाममा केही नबिराएका जनतामाथि लाठी नहान !  समय र परिस्थितिअनुसार वास्तविकतालाई बुझ्ने कोसिस पनि गर ! यस्ता घटना नदोहोरिउन् र यस्तो गुनासो लेख्न पनि नपरोस् ! प्रहरी वास्तवमै साथी बनेर देखाउन सकून् । 

अहिलेको परिस्थितिमा जनता घरबाट बाहिर निस्कन पाउँदैनन् त्यसैले सबैतिरको आपतकालीन अवस्थाको जानकारी र सूचना पुर्याउने जिम्मेवारी पनि प्रहरीकै हो । टोलटोलमा अभावजन्य सामानको आपूर्तिलगायत अस्पताल जान परेमा, औषधि चाहिएमा, आपतकालीन सवारीसाधन उपलब्ध गराउने काममा सरिक हुनुपर्ने अवस्था छ । वास्तविक सहयोगमा प्रहरी साथीले ध्यान दिऊन् ! प्रहरी र जनताको सम्बन्ध सुमधुर रहोस् ।

 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, वैशाख ३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्