site stats
बाह्रखरी :: Baahrakhari
देश
कोरोना संक्रमित अंशुका बुबा भन्छन्– पहिचान किन लुकाउनू 

काठमाडौं । बेल्जियमबाट कतार हुँदै काठमाडौं आइपुगेकी बाग्लुङकी १९ वर्षकी युवती र उनका आफन्तले पहिचान लुकाउन नचाहेको बताएका छन् । 

समाजमा एक व्यक्तिमा संक्रमण हुँदा पहिचान लुकाएको अवस्थामा त्यसको खतरा अरुमा पनि बढ्ने भन्दै आफूहरुले पहिचान खुलाएको आफन्तहरुले बताए । 

१९ वर्षीय युवती अंशु सापकोटा बुबा ऋषिराम सापकोटाले बाह्रखरीसँग कुरा गर्दै भने, “विश्वकै लागि चुनौती बनेको कोरोना संक्रमणपछि पहिचान किन लुकाउनू । पहिचान सार्वजनिक भए सम्र्पकमा आएका अन्य व्यक्ति पनि सचेत हुन्छन् । त्यसैले छोरीसहित हाम्रो परिवारले पहिचान लुकाउन नखोजेको हो ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

१९ वर्षीय छोरी धौलागिरी अस्पतालको आइसोलेसनमा रहेको र आफूसहित परिवारका ७ सदस्य घरमै सेल्फ क्वारेन्टाइनमा रहेको बताए । 

आफूहरु सबैको अवस्था सामान्य रहेको र छोरीको अवस्था पनि सामान्य रहेको उनले बताए । 

सापकोटाले भने, “छोरीसँग नियमित फोनमा कुरा भइरहेको छ । अवस्था सामान्य छ । दुईपटक खाना, फलफूल र कागती पानी खाइरहेकी छ । छिट्टै घर फर्किने आशामा छौं ।”

बुबालाई भेट्न बेल्जियम पुगेकी थिइन् अंशु ।  

ऋषिराम परिवारसहित लामो समयदेखि बेल्जियममा बस्दै आएका थिए । तर अंशु नेपालमा हजुरबुबा र हजुरआमासँग बस्दै आएकी थिइन् । 

अंशु आमाबुबालाई भेट्नका लागि डिसेम्बरमा बेल्जियम पुगेकी थिइन् । केही समयपछि ऋषिराम भने नेपालमा रहेका आमाबुबालाई भेट्न नेपाल आए । उनी उतै बसिन् । 

अंशुको मार्च २३ को रिटन टिकट थियो । तर नेपालमा लकडाउन हुने हल्लापछि उनी छिट्टै नेपाल फर्किने सोचमा पुगिन् । तर त्यतिबेला उनले रिटन टिकट लिएको टर्किए एयरको उडान रोकिइसकेको थियो । ऋषिरामले भने, “त्यसपछि छोरी चैत ४ गते कतार एयरवेजबाट नेपाल आइन् । त्यही दिन साँझ काठमाडौंबाट प्लेन चढेर पोखरा हुँदै जिप चढेर घर पुगिन् ।” 

घर पुग्दा अंशुको अवस्था सामान्य थियो । 

उनी आएपछि लुगा धुनेलगायत सरसफाइका काम भयो । अर्को दिन उनलाई ज्वरो आएपछि चिसो लाग्यो भन्ने लाग्यो । अंशु आफैँ बजार गएर रुघाखोकी र ज्वरोको औषधि ल्याइन् । औषधिले निको भयो । तर दुई–तीन दिनपछि फेरि ज्वरो आएपछि अंशुलाई छुट्टै राखियो । 

त्यतिबेला नेपालमा पनि कोरोनाको चर्चा सुरु भइसकेको थियो । ऋषिरामले भने, “त्यही बीचमा एकजना मेरो आफन्त धौलागिरी अस्पतालमा चिकित्सक छन् । समाचारमा कतारबाट आएको प्लेन चढेकी एकजनालाई कोरोना देखियो । छोरी पनि त्यही जहाजमा आएकी हुन् । कोरोना परीक्षण गरौँ भनेपछि नमुना संकलन घरमा आएर गरिएको हो ।” 

अंशुको रिपोर्टमा कोरोना संक्रमण देखियो । त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको छ । उनको अवस्था अहिले सामान्य छ । 


 

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १७:२३
प्रतिक्रिया दिनुहोस्