एजेन्सी । पक्कै पनि मान्छेले कुनै न कुनै समय आफ्ना साथीभाइ, परिवार वा अरु कुनै व्यक्तिलाई सुझाव दिएकै हुन्छन् । र त्यस्तो अवस्थामा हामी आफूप्रति अचम्मित भइरहेका हुन्छौँ किनकि त्यही परिस्थितिको हामीले सामना गर्नुपर्दा हामी आफूले सो सुझाव अपनाउन सक्दैनौँ । तर अरुलाई भन्न वा सिकाउन चाहिँ हामीलाई धेरै सजिलो लाग्छ । यस्तो किन हुन्छ ?
युपीइएनएनस्थित द वाट्रन स्कुलमा व्यवस्थापन र साइकोलोजीका प्रोफेसर एडम ग्रान्टका अनुसार यसमा ‘सोलोमन प्याराडक्स’ भन्ने एउटा थेउरी लागु हुन्छ जस अन्तर्गत मान्छेले आफ्नोभन्दा अर्काको समस्याको समाधान स्पष्ट देख्न सक्छ ।
कुनै अर्को व्यक्तिले आफ्ना कठिनाइहरु हामीलाई सुनाउँदा हाम्रो मस्तिष्क त्यसको प्रतिक्रिया दिने दबाबमा हुन्छ र सबै समस्यालाई ‘टेलिस्कोप’ ले जसरी हेरिरहेको हुन्छ । जसमा हामीले समस्याको ठूलो र मुख्य पाटो मात्र देख्छौँ र केबल महत्वपूर्ण पक्षमा केन्द्रित रहन्छौँ ।
तर अर्कोतर्फ आफ्ना लागि निर्णय लिनुपर्दा भने हामीले त्यही समस्यालाई ‘माइक्रोस्कोप’ ले जसरी अध्ययन गरिरहेका हुन्छौँ जसमा हामीलाई सबै ससाना कुराहरु धेरै महत्वको जस्तो लाग्छ । यसरी हामी दीर्घकालीन नतिजा प्राप्त गर्ने दृष्टिले हेरिरहेका हुँदैनौँ र अनावश्यक चिजमा बढी ध्यान दिइरहेका हुन्छौँ ।
त्यसकारण यसको अर्थ के बुझ्नुपर्छ भने, राम्रो निर्णय के हो भनेर थाहा हुनु र त्यही चिज आफ्नो जीवनमा लागु गराउनु दुई फरक कुरा हुन् । त्यसैले पनि सबै सानाठूला निर्णयहरुबारे बसेर सोच विचार गर्नु वास्तवमा कठिन कार्य रहेको प्रोफेसर ग्रान्ट बताउँछन् ।
जस्तै हामी ६ बजेर १ मिनेटमा उठ्ने कि ६ः०२ मा, खानामा के अर्डर गर्ने, बिहान उठ्नासाथै के गर्ने, राति कतिखेर सुत्ने जस्ता साना साना निर्णयले हाम्रो दैनिकी निर्धारण गरिररहेका हुन्छन् ।
तर हामी यिनका बारेमा धेरै सोचर समय खेर फाल्न चाहँदैनौँ । यसकारण हामीमा ‘हेउरिस्टिक्स’ भन्ने मानसिकता विकसित हुन्छ, जसलाई दिमागी ‘सर्टकट’ पनि भन्न सकिन्छ । यसमा हाम्रो मस्तिष्कले माथिका उदाहरणमा भनिएका जस्ता कामहरु बारे अधिक छिटो निर्णय लिन्छ जुन कतिपय अवस्थामा गलत पनि हुन सक्छ । यसरी वास्तवमा हेउरिस्टिक्स मान्छेलाई ‘स्मार्ट’ बनाउने टुल हो, तर त्यसैको अनावश्यक र बढी प्रयोग गरिरहनुले भने हामीलाई हाम्रो लक्ष्य प्राप्त गर्नबाट रोकिरहेको हुन सक्ने ग्रान्ट बताउँछन् । बिजनेस इन्साइडर