site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रहरी ज्यादति रोक्न कांग्रेस नेता लेखकको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले गृहजिल्ला कञ्चनपुरमा प्रहरी ज्यादति रोक्न सरकारसँग माग गरेका छन् ।

उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारसँग न्यायका लागि सुरु गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीको हिंस्रक गतिविधि रोक्न माग गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“शान्तिपूर्ण रूपमा न्याय माग्दा सरकारले गरेको आततायी घटनाले सरकार राज्य आतंकतर्फ उन्मुख देखिन्छ । यस्ता अलोकतान्त्रिक र हिंस्रक गतिविधि यथाशीघ्र रोक्नुका साथै घाइतेहरूको निःशुल्क स्वास्थ उपचार गर्न र उचित क्षतिपूर्ति दिन सरकारसँग जोडदार माग गर्दछु,” उनले भनेका छन् । 

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि सोमबार मौन धर्नामा बसेका अधिकारकर्मीमाथि प्रहरीले दमन गरेपछि नेता लेखकले आपत्ति जनाएका हुन् । कञ्चनपुर जिल्ला अदालतअगाडि निर्मलाको न्याय लागि आयोजित प्रतीकात्मक मौन धर्नामा प्रहरीले बल प्रयोग गरी महिला अधिकारकर्मीहरूलाई लछारपछार गरेको थियो ।

प्रमाणका आधारमा न्याय निरुपण गर्नुपर्ने, प्रहरी र सरकारी वकिलको मनगढन्ते कथाकहानीका आधारमा अभियोग चलाउन नहुने र घटनाप्रति अदालत सचेत रहनुपर्ने माग राख्दै अधिकारकर्मी धर्नामा बसेका थिए ।

“कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १८ महिनासम्म पनि सरकारले अपराधी समातेको छैन,” उनले लेखेका छन्, “सो विषयमा न्याय माग्दा घाइते भएका व्यक्तिहरूको उपचारको माग गर्दै शान्तिपूर्ण रूपले मौन धर्नामा सहभागी भएका कञ्चनपुरका महिलाहरुमाथि प्रहरीले अमानवीय, क्रूर तवरले आक्रमण गरेको छ । म यस घटनाको घोर निन्दा र भर्त्सना गर्दछु ।”

प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  ११:५२
प्रतिक्रिया दिनुहोस्