site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
कमेडियनको दुःखको कथा ‘सेल्फी किङ’
Sarbottam CementSarbottam Cement

एक टेलिभिजन कमेडियनको पर्दा भित्र र बाहिरको जिन्दगीलाई आधार बनाएर लेखिएको कथामा आधारित चलचित्र हो– ‘सेल्फी किङ’ । भलै कथालाई फिक्सनलाइज गरिएको छ । एउटा पूर्ण चलचित्रका लागि आवश्यक ‘टुइस्ट एन्ड टर्न’ चलचित्रमा थपिएको छ । यो चलचित्रको कथा लेखे विशाल सापकोटाले । चलचित्र निर्माणका लागि लगानी गरे दिनेश राउत र सुवास थापाले । अनि निर्देशन गरे लेखक स्वयं विशालले । ‘प्रसाद’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’ जस्ता सफल चलचित्र निर्देशन गरिसकेका निर्देशक दिनेश राउतले नव निर्देशक विशाललाई विश्वास गरेर निर्देशनको जिम्मेवारी दिए । कथा मन परेपछि दिनेशले आफूलाई मौका दिएको विशाल बताउँछन् । व्यापारिकभन्दा पनि राम्रो चलचित्र कसरी बनाउने भन्नेमा युनिटले काम गरेको बताउने निर्देशक विशालसँग ‘सेल्फी किङ’ सँगै समग्र चलचित्रका विषयमा केन्द्रित रहेर बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानी :

० ० ०

पहिलो चलचित्रलाई नै दर्शकले मन पराएनन् भने निर्देशकले अर्कोपटक शूल्यबाटै करिअर सुरु गर्नुपर्छ । ‘सेल्फी किङ’ तपाईंको पहिलो चलचित्र दर्शकले नोटिस गर्लान् ?
मैले सोच्दा पहिलो होस् अथवा दोस्रो, हरेक चलचित्र राम्रो बनाउनुपर्छ । मेरोतर्फबाट एउटै तहबाट मिहिनेत हुन्छ । स्टोरी लाइन मन पर्‍यो । बनाउँ भनेर स्क्रिप्ट लेखियो । पक्कै पनि यो मेरो पहिलो चलचित्र हो, मिहिनेत गरेको छु । तर दोस्रो चलचित्रमा पनि यति नै मिहिनेत गर्नेछु । म नोटिस हुन्छु वा हुँदिनभन्दा पनि राम्रो चलचित्र बनाउनुपर्छ भनेर काम गरेको छु । चलचित्रमा निर्माता जो हुनुहुन्छ (दिनेश राउत) उहाँ आफैं सफल निर्देशक हुुनुहुन्छ । नायक (विपिन कार्की) आफैंमा स्टार हुनुहुन्छ । उहाँहरूलाई कसरी न्याय गर्न सकिन्छ भन्ने सोचेर काम गरेको छु । 

Prabhu Bank
Agni Group
NIC Asia

सफल निर्देशक र स्टार अभिनेतालाई लिएर काम गर्दा कत्तिको दबाब महसुस गर्नुभयो ?
एउटा तहमा हुन्छ । उहाँहरूलाई ‘लेट डाउन’ नगरौं भन्ने हुन्छ । अहिलेको रोजाइको निर्देशकले आफ्नो निर्देशनलाई थाती राखेर मलाई विश्वास गर्नुभएको छ । विपिन कार्की जस्तो सफल कलाकारले म नयाँ निर्देशकसँग विश्वास गरेर काम गर्नुभयो । त्यो प्रेसरचाहिँ हुने रहेछ ।

स्क्रिप्ट नै चलचित्रको मेरुदण्ड हो । तर नेपालमा स्क्रिप्टमा खासै मिहिनेत गरिँदैन भनिन्छ, हो ?
स्क्रिप्टमा हामीले गर्नुपर्ने जति मिहिनेत गरेका छौं । मैले आफैंले स्क्रिप्ट लेखेको छु । यसको सुरुआती आइडिया सत्य कथाबाट भएको थियो । मलाई सत्य घटनाले छोएपछि मैले स्टोरी लाइन दिनेश दाइलाई सुनाएँ । उहाँले राम्रो छ, स्क्रिप्ट लेख भनेर पनि लेखेको हुँ । पूरै कथा लेख्ने क्रममा भने त्यसलाई फिक्सनलाइज गरिएको छ । 

Global Ime bank

तीन दिनको घटनालाई चलचित्रमा दुई घण्टामा ल्याउन मैले स्क्रिप्ट लेखें । त्यसपछि दिनेश दाइ, सुवास थापा र विपिन कार्कीसँग बसेर फिडब्याक लिँदै रि–राइट गरियो । स्क्रिप्टमा गर्नुपर्नेजति मिहिनेत गरेको छु जस्तो लाग्छ । तर दर्शकलाई कस्तो लाग्छ, त्यो त चलचित्र रिलिज भएपछि मात्रै थाहा हुने छ । 

नेपाली चलचित्रको बक्सअफिस रिपोर्ट हेर्दा अधिकांश चलिरहेका छैनन् । तर पनि नयाँ निर्देशक आउने क्रम रोकिएको छैन । तपाईं पनि नयाँ निर्देशक नयाँ चलचित्र लिएर आउनुभएको छ, त्यही खतरा नदोहोरियोस् भनेर सावधानी त पक्कै पनि अपनाउनुभएको छ होला ? 
पक्कै पनि सबैको इच्छा चलचित्र सफल होस् भन्ने नै हुन्छ । निर्देशकको करिअर पनि सुरक्षित होस् भन्ने हुन्छ । स्वाभाविक रूपमा मलाई पनि त्यो अपेक्षा छ । तर व्यापारिक रूपमा चलचित्र सफल होस् भनेर हामीले काम गरेका छैनौं । भाग्यवश मैले चलचित्रलाई बुझ्ने लगानीकर्ता पाएँ । उहाँहरूले नै मलाई व्यावसायिकभन्दा पनि राम्रो चलचित्र बनाउनुपर्छ भन्नुभयो । त्यसैले हाम्रो समूहको विश्वासै चलचित्र राम्रो भयो भने व्यावसायिक रूपमा पनि राम्रो हुन्छ भन्ने भयो । 

मेकरहरू मिहिनेत गरेका छौं, लगानी ठूलो छ भन्नुहुन्छ । तर, पनि नेपाली दर्शकको रोजाइ बलिउड र हलिउडका चलचित्रमै छ । नेपाली दशर्कको पहिलो रोजाइमा नेपाली चलचित्र किन पर्दैनन् ?
विश्वभरका चलचित्र इन्टरनेट र एपका कारण अहिले प्रत्येकको हातहातमा छन् । तिनै चलचित्रसँग नेपाली चलचित्रले प्रतिस्पर्धा गरिरहनुपरेको छ । तर प्रतिस्पर्धामा तल परिरहेका छौं । यही नै नेपाली चलचित्र रोजाइमा नपर्नुको मुख्य कारण हो । विश्वको जस्तो वान सिनेमा नेपालमा बन्न सकेको छैन । 

प्रतिस्पर्धा गर्न कहाँ चुकिरहेका छौं हामी ?
सायद स्क्रिप्टमा हामी चुकिरहेका छौं । विषयप्रधान कथा ल्याउन नसक्नु । राम्रो आइडियामा चलचित्र बनाउन खोजे पनि त्यसलाई राम्रोसँग पस्किन सकिरहेका छैनौं । दर्शकलाई विकल्प थुप्रै भएका बेला नेपाली चलचित्र पनि प्रतिस्पर्धामा खरो उत्रिन सक्नुपर्छ । राम्रो चलचित्र नै दर्शकले हेर्नुपर्छ र हेर्नुहुन्छ । नेपाली चलचित्र भएकै आधारमा हेरिदिनुस् भन्दिनँ म । हामी मेकरहरू नै राम्रो चलचित्र बनाउन सकिरहेका छैनौं जस्तो लाग्छ । 

पछिल्लो समय बलिउड होस् अथवा हलिउड बिग बजेट र स्टारका भन्दा ‘लो बजेट’ र कन्टेन्ट ओरिएन्टेड चलचित्र नै चलिरहेका छन् । हाम्रो त पाइला–पाइलामा कथा छन् । हामी नेपाली भावनात्मक पनि छौं, थोरै राम्रो मात्रै चलचित्र बनाउन सक्यौं भने दर्शकले हेर्छन् । तर औसत चलचित्र पनि बन्न सकेनन् नि नेपालमा ।
कथाका हिसाबले भन्दा हरेक व्यक्तिको जीवनमा केही न केही कथा हुन्छन् । त्यसलाई देख्न नसक्नु हाम्रो कमजोरी हो । ‘बाला’ को कथा हामी प्रत्येकको वरिपरिको कथा हो, त्यसमा चलचित्र बन्न सक्छ भनेर थाहा नपाउनु हाम्रो कमजोरी हो । सायद हामीले चलचित्र भनेको यस्तै हुनुपर्छ भनेर कुनै सूत्रमा बाधियौं कि । चलचित्र भनेको ‘छक्का पञ्जा’ जस्तो हुनुपर्छ भनेर त्यसको पछि मात्रै पो लाग्यौं कि ?
हलिउड चलचित्र ‘माई डिनर विथ आन्द्रे’ मा दुई मान्छे डिनरमा कुरा गर्दागर्दै चलचित्र सकिन्छ । हामीले कति साथीसँग कति डिनर गर्‍यौं, कति साथीसँग बसेर कफी खायौं होला । तर खोई त्यसमा चलचित्रको कथा हामीले देखेनौं । यस्तै–यस्तै कुराले हामी पछि परिरहेका छौं । 

समीक्षकहरूले नेपाली मेकरका कमजोरी औंल्याइदिरहेका छन्, हरेक बसाइमा हुने समीक्षा र बहसले कमजोरी हामीले पत्ता लगाइसक्यौं । तर पनि फेरि पुरानै कमजोरी दोहोर्‍याइरहेका छौं । किन सुधारिन सकेनौं हामी ?
हरेक चलचित्रको समूहमा कसले चलचित्रलाई कसरी लिन्छ भन्ने हुन्छ । एउटा निर्माताले भन्न सक्छ मलाई ‘छक्का पञ्जा’ जस्तो चलचित्र चाहियो । निर्माताले यति भनेपछि निर्देशकसँग रहेको मौलिक कथा मर्छ । स्टारलाई क्यास गर्ने चलन छ । निर्माताले चलचित्रलाई कसरी बुझ्छ यसले अर्थ राख्छ । उसले मैले यति लगानी गरेपछि यति फाइदा चाहिन्छ भन्छ कि हैन चलचित्र आर्ट हो भन्ने बुझ्छ, यसले चलचित्र निर्माणमा ठूलो भूमिका खेल्छ । आर्ट भनेको रिक्स हो । यसलाई सबैले बुझ्दैनन् । 

प्रविधिको विकासका कारण विश्व बजारमा पुग्न अब नेपाली चलचित्रलाई पनि कुनै अवरोध छैन । तर नेपाली चलचित्रले अझै पनि अन्तर्राष्ट्रिय बजारमा प्रभाव छोड्न सकेका छैनन्, कारण के हो ? 
विश्वमा जुन गुणस्तरमा चलचित्र बनिरहेका छन्, त्यो तहमा हाम्रा चलचित्र बनिरहेका छैनन् । प्रविधिका हिसाबले हामी हलिउडकै चलचित्र खिच्ने क्यामेराले नेपाली चलचित्र खिच्छौं । तर स्टोरी टेलिङमा हामीले काम गर्न सकेका छैनौं । कथा भन्ने शैलीमा आज हामी हाम्रै पुरानो चलचित्र ‘माइतिघर’सम्म पनि पुग्न सकेका छैनौं । 

उसो भए ‘सेल्फी किङ’ कस्तो चलचित्र हो ?
नेपालकै एक टेलिभिजन कमेडियनको तीन दिनको यात्राको कथा हो । नेपालमा सेलिब्रिटीले भोग्नुपर्ने समस्या चलचित्रमा छ । पर्दामा हँसिलो भएर दर्शकलाई हसाउने कलाकारको पर्दा पछाडिको दुःखको कथा हो ‘सेल्फी किङ’ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  ११:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement