site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
अमेरिकी सहयोग लिन चीनले खोलिदियो बाटो

नेपालका राजनीतिक दल देशको हित र आवश्यकताभन्दा विदेशी शक्तिले के भन्छन् भनेर सधैँ तिनको मुख ताकेर बस्छन् भन्ने भनाइ यसपल्ट अमेरिकाको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’को सहयोग लिने विषयमा पुनः पुष्टि भएको छ । अमेरिकी सरकारले नेपाललाई पाँच वर्षको लागि करिब रु. ५६ अर्ब अनुदान दिएर नेपालको विद्युत् प्रसारण लाइन निर्माण तथा सडक स्तरोन्नतिको लागि काम गर्ने तयारी गरेको छ । तर, यो सहयोग लिनु हुने वा नहुनेमा सत्ताधारी दलमा भने ठूलो विवाद देखियो । यो सहयोग लिएको खण्डमा नेपाल अमेरिकाले घोषणा गरेको सैन्य गठबन्धन ‘इन्डो प्यासिफिक स्ट्राट्जी’ को सदस्य राष्ट्र बन्न पुग्छ भन्ने डर देखाएर एकथरीका ‘राष्ट्रवादी’ नेता यस सहयोगको विपक्षमा उभिए । 

एमसीसीले नेपाललाई दिने सहयोग विवादित हुनुको प्रमुख कारण यो सहयोग प्राप्त गर्न नेपालको प्रतिनिधि सभाले यसलाई पारित गर्नुपर्ने सर्तका कारणले हो । अन्य सहयोगको हकमा सरकारले सिधै स्वीकार वा अस्वीकार गर्नसक्ने भए पनि यो सहयोग लिन प्रतिनिधि सभाबाट पारित हुनुपर्ने भएकाले छलफल लम्मिन गएको थियो ।

नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले यो सहयोग लिँदा नेपालले कुनै पनि प्रकारको सैनिक गठबन्धनमा संलग्न हुनु पर्दैन भन्दै प्रतिनिधि सभाबाट पारित गराउन अगाडि बढेको छ भने नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल भने एमसीसीको सहयोगको विपक्षमा रहेका छन् । त्यस्तै नेकपाका अर्का प्रभावशाली नेता भीम रावलले पनि यो सहयोग लिनु ‘राष्ट्रघाती’ कदम हुने विचार व्यक्त गरेका कारण सरकारलाई अप्ठेरो परेको थियो । अर्कातिर, प्रतिपक्षी दल नेपाली कांग्रेसले भने एमसीसीको सहयोग नेपालको विकासका लागि आएको हुनाले यसलाई राजनीतिकरण गर्न नहुने धारणा राख्दै आएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस विषयमा सोमवारको हिमालय टाइम्सले मुख्य समाचार प्रकाशित गर्‍यो जसमा नेकपाले अन्तरपार्टी निर्देशन जारी गर्दै एमसीसी इन्डो प्यासिफिक रणनीति अधीनस्थ होइन भन्ने ठहर गरेको उल्लेख गरिएको थियो । तर, नेकपाका वरिष्ट नेता माधवकुमार नेपालले सो अमेरिकी अनुदान नेपालले स्वीकार्न नहुने धारणा राखेका थिए । कान्तिपुरको बुधवारको मुख पृष्ठमा प्रकाशित समाचारअनुसार नेपालले एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग भएको र त्यसले अमेरिकालाई शक्तिशाली बनाउन तय गरिएको भन्दै सहयोग लिन नहुने धारणा व्यक्त गरेका थिए । 

एमसीसीको सहयोग लिन नेपाली नेताहरूले मुख्यरुपमा उठाएको विषय यसले चीनको रोड एन्ड बेल्ट इनिसिएटिभ (बीआरआई) वा चीनकै विरुद्ध कार्य गर्छ भन्ने थियो । बीआरआई आर्थिक गतिविधि भएको भन्दै सही गरिसकेको नेपालले एमसीसी भने राजनीतिक र सैनिक गठबन्धनमा लग्ने सहयोग भएको तर्क गरिरहेका थिए । तर, नेपालका लागि चीनकी राजदूत होउ यान्छीले यस विषयमा नेपालको द्विविधा हटाइदिएका छिन् ।

अन्नपूर्ण पोस्टले शनिवार मुख्य बनाएको समाचारअनुसार राजदूत यान्छीले ‘नेपालले चीन वा अन्य कुनै एक मुलुकसँग मात्र होइन, हरेक मित्रसँग सहकार्य गरेर आफूलाई माथि लैजान सक्छ । त्यही क्रममा अमेरिकाको सहयोग पनि नेपालले लिन सक्छ । तर, यो नेपालको आफ्नो हितमा हुनुपर्छ । यस्ता विषयमा नेपाल स्व्तन्त्र छ,’ उनले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा भनिन् । उनले करिब ५६ अर्ब रुपैयाँ बराबरको सहयोग संसद्बाट अनुमोदन हुने प्रक्रिया आफूले नियालिरहेको पनि बताइन् । 

राजदूत होउको भनाइलाई गोरखापत्रले पनि महत्त्वका साथ प्रथम पृष्ठमा प्रकाशित गर्‍यो । कान्तिपुरले यस समाचारलाई प्रथम पृष्ठमा प्वाइन्टर बनाएर भित्री पेजमा लग्यो । 

उखु किसानको धर्ना र सहमति

गएको दुई सातादेखि काठमाडौंमा धर्नामा रहेका उखु किसान तथा सरकारबीच सम्झौता भएको छ । किसानहरूले व्यापारीसँग र सरकारी अनुदान गरेर करिब अढाई अर्ब रुपैयाँ पाउन बाँकी देखिएको छ ।

आन्दोलनका क्रममा केही रकम भुक्तानी भएको र बाँकी रकम माघ ७ गतेभित्र भुक्तानी दिलाउने सहमतिपछि हाललाई किसानको आन्दोलन रोकिएको छ । गत साता सबैजसो दैनिक पत्रिकाले उखु किसानको आन्दोलनलाई निकै महत्त्व दिए र किसानको मागलाई सशक्त ढंगले उठाए । सरकार र किसानबीचको सहमतिपश्चात पनि सबैजसो दैनिक पत्रिकाले यस विषयमा किसानलाई अन्याय नहोस् भन्ने खबरदारीसहित सम्पादकीय लेखेका छन् । 

तस्बिरः राजदूत होउ यान्छीको ट्विटरबाट
 

प्रकाशित मिति: आइतबार, पुस २०, २०७६  ०९:०४
प्रतिक्रिया दिनुहोस्