site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेकपाले खोस्यो कांग्रेसले जितेका दुई गाउँपालिका

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफूले यसअघिको निर्वाचनमा गुमाएको दुई गाउँपालिकामा जित हासिल गरेको छ ।
 
पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वीरबहादुर कुरुम्बाङ विजयी भएका छन् ।  कुरुम्बाङले निकटतम प्रतिस्पर्धीभन्दा ८०६ मतको अन्तरले विजय हासिल गरेका हुन् ।

गएराति सम्पन्न मतपरिणामानुसार कुरुम्बाङले पाँच हजार ३६९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वृजहाङ आङ्देम्बेले चार हजार ५६३ मत प्राप्त गरेका छन् । त्यस्तै समाजवादी पार्टीकी विमला आङ्देम्बेले ३२०, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितेन चेम्जोङले २४०, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुसुहाङ चेम्जोङले २८, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का मोतीप्रसाद आङ्देम्बेले ७५, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङले २८ र मङ्गोल नेशनल अर्गनाइजेशनका उदय सुनुवारले १२ मत प्राप्त गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि कांग्रेसका अमरकुमार नेवाङले ४ हजार १६३ मत ल्याएर विजयी भएका थिए । प्रतिस्पर्धी तत्कालीन एमालेका उमेदवार वीरबहादुर कुरूङवाङले ३ हजार ३६७ मत ल्याएका थिए । माओवादी केन्द्रका उमेदवार ठाकुरसिंह नेम्वाङले ७४४ मत ल्याएका थिए ।

कांग्रेसले जितेको हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षको उपनिर्वाचनमा नेकपाले विजय हात पारेको छ ।

गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपाकी उमेदवार रूपा शाहीले १ हजार ४५४ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारा शाहीले १ हजार ३८५ मत ल्याइन् ।

राप्रपा संयुक्तका दीपबहादुर शाहीले १० मत ल्याए ।

यसअघि त्यहाँ कांग्रेसकी सिन्धुहमाल निर्वाचित भएकी थिइन् । उनको मत १ हजार १८ थियो ९५९ मत ल्याएकी नेकपाकी रुपा साही दोस्रो भएकी थिइन् । त्यहाँ माओवादी केन्द्रबाट उमेदवार बनेकी काल्ची ऐडीले १०८ मत ल्याएकी थिइन् ।

गाउँपालिकाको अध्यक्षमा कांग्रेसकै कर्णबहादुर रावल निर्वाचित भएका थिए । उनले १११० मत ल्याएका थिए ।
 
पार्टी एकताको प्रभाव यी दुई गाउँपालिकामा देखिएको छ । जसले नेकपाको जित सुनिश्चित गरायो ।

प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  ११:३०
प्रतिक्रिया दिनुहोस्