सकारात्मक सोच र सृजनात्मक भावना 

मनोहर घिमिरे

मेरो सानो छोरा राजधानीको एक निजी विद्यालयमा कक्षा चारमा पढ्छ । उसले मलाई बेलाबेलामा समयसमायिक विषयहमा गर्ने प्रश्नले मेरो मस्तिष्कलाई उद्वेलित पार्छ । ऊ सरकार, समाज, नेता, कर्मचारी आदिप्रति रोष प्रकट गर्छ । तिनका व्यवहारको आलोचना गर्छ र यीबाट मुलुक बन्दैन भन्छ । बेलाबेलामा राम्रो मान्छे बनी देशमा राम्रो गर्नुपर्छ पनि भन्छ । उसलाई यी कुरा गर्न कसैले सिकाएको पनि छैन, पढाएको पनि हैन तर दिनहुँ घरपरिवारमा ठूला सदस्यले गर्ने कुराकानी, घरमा आउनेहरूको बातचित, विचार, टेलिभिजन, सामाजिक सञ्जालमा अभिव्यक्त धारणाबाट उसको बाल मस्तिष्कमा परेको नकारात्मक प्रभावबाट यस्ता विचार उत्पन्न भएका हुन् । आज अधिकांश परिवारको अवस्था यस्तै छ । अधिकांश युवाको मानसिकता यस्तै छ । स्वदेशभन्दा विदेश प्रिय भएको छ । 

समाज परिवर्तन एकाएक वा रातारात हुने विषय होइन । यसले स्वाभाविकरूपमा समय लिन्छ । तर, समाजको दिशा कता गइरहेको छ भनी विश्लेषण गरी सकारात्मक दिशातर्फ हिँडाउनु समाजका सबैको दायित्व र कर्तव्य हो । समाजको अग्रपङ्क्तिमा रहेका नेता, कर्मचारी, नागरिक अभियन्ता, समाजसेवी, व्यापारी, पत्रकार, शिक्षकको विशेष भूमिका हुन्छ । आज हामी सबैमा नकारात्मकता व्याप्त छ । हामी क्षणिक उपलब्धि र सफलतामा रमाइरहेका छौँ । व्यक्तिका विचार र व्यवहारमा, संचार माध्यमका समाचारमा, सामाजिक सञ्जालका प्रतिक्रियामा सबैतिर नकारात्मकता मात्र व्याईत देख्छौँ । सबैतिर नकारात्मकता व्याप्त हुँदा समाजमा सकारात्मक भावना राख्नेहरू अल्पमतमा परेको आभास हुन्छ । यस्ताका विचार र दृष्टिकोणलाई उल्टै गिज्याउने प्रवृत्ति देखिन्छ।

हामी सरकार, नेता, कर्मचारी, डाक्टर, व्यापारी,  विदेशीलगायत सबैलाई खराब देखिराखेका छौँ । मिहिन ढंगले विश्लेषण गर्ने हो भने आफूबाहेक अरु सबै खराब र अक्षम भन्ने अवस्थामा हामी पुग्न लागेको देखिन्छ । हरेक कुरामा राजनीति जोड्न चाहन्छौँ र हामी राजनीतिक आँखाबाट हरेक कामको विश्लेषण गर्छौं । राम्रोलाई राम्रो भन्न सक्तैनौ, खराबलाई खराब भन्न सक्तैनौ । 

आजको प्रतिस्पर्धात्मक संसारमा हामी सबै अवसरको खोजीमा छौँ । अवसर प्राप्तिका लागि एकले अर्काको खुट्टा तान्नुपर्छ कि, झुठो बोल्नुपर्छ कि, नगद नजराना चढाउनुपर्छ कि अरु के के गर्नुपर्छ सबै गर्न हामी तयार हुन्छौँ । यसरी सबै गरेर प्राप्त गरेको व्यक्तिबाट हामी नतिजा भने सकारात्मक खोज्छौँ । नकारात्मक कार्यले सकारात्मक नतिजाको आशा गर्नु व्यर्थ हुन्छ । 

अहिले समाजमा सफलताको मापन आर्थिक हैसियतमात्र भएको छ । भष्टाचार हरेक क्षेत्रमा मौलाउनुको कारण यही हो । हरेकलाई छोटो समयमा आर्थिकरूपले प्रगति गर्नु परेको छ । समाजमा अध्ययन गरी अधिकृत बनेको इमानदार कर्मचारीभन्दा दुई चार वर्ष कतै गएर आठ दस लाख ल्याउने व्यक्ति महत्त्वपूर्ण भएको मानिन्छ । श्रम गरेर दुई छाकको जोहो गर्ने भन्दा अनैतिक धन्दामा लागी धन कमाउने व्यक्तिको हैसियत बढी हुन्छ । यस्तो अवस्थामा समाजको समृद्धि , सुख शान्ति,  इमान खोज्नु व्यर्थ हो ।

समाजलाई सही दिशामा डोर्याउने हो भने, समाजको समुन्नत विकास गर्ने हो भने हामी सबैमा सकारात्मक सोच आउनु जरूरी छ । आलोचना जरुरी छ तर सृजनात्मक भावको आलोचना हुनुपर्छ । आलोचना सँगसँगै सुधारको  प्रतिबद्धता पनि हुनुपर्छ ।  सरकार खराब हुन सक्छ तर सरकारको विकल्प सरकार नै हो भन्नेमा सबै सचेत हुनुपर्छ । सरकारको विकल्प अन्य संघसंस्था हुन सक्तैनन् ।

नेपालमा अधिकांश गैरसरकारी संघसंस्था सरकारको सहयोगीभन्दा पनि प्रतिस्पर्धीरुपमा अगाडि बढिरहेको र सरकारलाई खराब देखाउनै लागिपरेको देखिन्छ । विगतमा हामी कहाँ भएका विभिन्न आन्दोलनको उपलब्धिको तुलनामा गुमेका कुरा धेरै छन् । समाजमा नैतिकता सकिएको छ । कानुनी शासनलाई धुजाधुजा पारिएको छ । इमानदारी कतै बन्धक राखिएको छ, व्यभिचार बढ्दो छ । मुलुकमा ठूलाठूला परिवर्तन भए तर जनताको जीवनस्तरमा खासै परिवर्तन भएको देखिँदैन, विकासले फड्को मारेको देखिँदैन । सामान्य नेपालीले महसुस गर्नेगरी तात्त्विक परिवर्तन भएको छैन । 

विकास एउटा नियमित प्रक्रिया हो र समयको विकाससँगै स्वाभाविकरूपमा केही न केही त हुन्छ नै । परिवर्तन पश्चात अपेक्षा गरिएको ढंगको कुनै सुधार हुनसकेको देखिँदैन । यी सबको सुधारका लागि हामी सबैले सकारात्मक ढंगले सोची सृजनात्मक भावनाका साथ कार्य गर्नु जरुरी छ ।

मुलुकलाई साँच्चिकै परिवर्तनको आभास दिलाउने हो भने धेरै ठूला कुरा गर्नु पनि पर्दैन । ससाना कामबाट पनि परिवर्तनको आभास दिलाउन सकिन्छ । देशको नेतृत्व लिनेहरूले, समाजका अगुवाले उदाहरण बन्न सक्नु पर्छ । सबैभन्दा पहिले अति राजनीतिकरण बन्द गर्नुपर्छ  । समाजका हरेक क्षेत्र र पक्षमा प्रवेश गराइएको राजनीतिलाई हटाउनुपर्छ । निजामती सेवामा भित्र्याइएको राजनीतिलाई तत्काल बन्द गर्नुपर्छ । निजामती कर्मचारीलाई इमानदारीसाथ कार्य गराउनुपर्छ, सही मूल्यांकन गरी पुरस्कार र दण्डको व्यवस्था गर्नुपर्छ ।

हाम्रोभन्दा राम्रो खोज्नुपर्छ, योग्य र क्षमतावान्लाई अवसर दिनुपर्छ । समाजमा कानुनी शासनको प्रत्याभूति दिलाउनुपर्छ,  सदाचार र नैतिकताको प्रवर्द्धन गर्नुपर्छ । विद्यालयमा पाठ्यक्रममा सुधार गरी सानै कक्षादेखि बालबालिकामा नैतिकता, इमानदारी, सदाचार, राष्ट्रप्रेमको भावनाको विकास गराउनुपर्छ । 

सरकारले अनुगमन र मूल्यांकनको समुचित प्रणालीको विकास गरी सबै क्षेत्रको सही मूल्यांकन गर्नुपर्छ । हामी सबैले आआफ्नो ठाउँबाट आफ्नो दायित्व र कर्तव्य इमानदारीसाथ पालना गरेमा समाजका धेरै समस्या समाधान हुनेछन् र मुलुकले समृद्धिको बाटो आफैँ तय गर्नेछ । 

mgmanjit@gmail.com

प्रतिकृया दिनुहोस
ad