site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
देउवाको आरोपः ओलीको सल्लाहमा भारतले नक्सा बनायो 

गएको साता मन्त्रिपरिषद्को पुनर्गठन र भारतले नेपाली सीमा मिचेको समाचारले नेपाली दैनिकमा प्रमुख स्थान पाए । मंसीर १४ गते हुने भनिएको उपनिर्वाचनले भने अझै दैनिक पत्रिकामा आफ्नो बलियो उपस्थिति जनाउन पाएको छैन । 

गत शनिवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखराको चुनावी सभामा बोलेका विषयले भने निकै चर्चा पाएको छ । नयाँ पत्रिकाले आइतवारको अंकमा मुख्य बनाएको समाचारअनुसार सभामा देउवाले भने, ‘ओलीले भारतसँग केही भित्री सल्लाह गरेरै त्यो नक्सा छापेर निस्केको हो । भारतले त्यसै छापेको होइन, ओलीसँग सल्लाह गरेरै छापेको हो । ओलीको सहमतिविना त छाप्नै सक्तैन ।’

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नयाँ पत्रिकाले समाचारको महत्त्व बुझ्ने हिसाबले यो समाचारलाई आठ कोलमको ब्यानर बनाए पनि समाचारको सुरु नै टिप्पणी शैलीमा गर्यो — ‘चारपटक देशको प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी भिड तताउने मेसोमा राष्ट्रियताको विषयमा गम्भीर अभिव्यक्ति दिएका छन् ।’ यसरी समाचारबाट आफूलाई अलग्याइसकेपछि नयाँ पत्रिकाले सभापति देउवाले भनेका कुरालाई सविस्तार वर्णन गरेको छ । सो समाचारअनुसार देउवाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद लिपुलेक र कालापानीमा घुँडा टेक्दै लम्पसारवादमा परिणत भएको बताएका छन् । 

प्रमुख विपक्षी नेता तथा पूर्व प्रधानमन्त्रीले वर्तमान प्रधानमन्त्रीलाई लगाएको यस्तो संवेदनशील आरोपको समाचारलाई प्रथम पृष्ठमा दिन अन्य पत्रिकाले खासै रुचि देखाएनन् । नागरिकले दोस्रो पृष्ठमा सो समाचार प्रकाशित गर्दै लेखेको छ — ‘नेपाली भूमि भारतलाई बुझाएर प्रधानमन्त्री ओलीले सबैभन्दा ठूलो राष्ट्रघात गरेको पनि देउवाले आरोप लगाए ।’ प्रधानमन्त्री ओलीले भन्दै आएको राष्ट्रवाद अहिले हराएको भन्दै अघिल्लो पटक राष्ट्रवादका नाममा जनतालाई उल्लु बनाएर चुनाव जितेको आरोप पनि नागरिकको समाचारमा समाहित छ । हिमालय टाइम्सले पनि यो समाचारलाई दोस्रो पृष्ठको पहिलो समाचार बनायो । 

कान्तिपुरले देउवाको भनाइलाई दोस्रो पृष्ठको पूछारमा एक कोलमको महत्त्व दियो । गोरखापत्रले समाचार त तेस्रो पृष्ठमा राख्यो तर ओलीलाई लगाएको आरोपको विषयमा केही लेखेन । अन्नपूर्ण पोस्टले पनि चौथो पृष्ठमा सानो समाचार बनायो । 

सभापति देउवाले आरोप लगाएको भए पनि प्रधानमन्त्री ओली भने राष्ट्रियताको सवालमा आफ्नो अडान कायम राख्न सफल देखिएका छन् । गएको साताको आरम्भमै प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा भारतलाई अतिक्रमित भूमिबाट सेना फिर्ता गर्न माग गरेका थिए । यो माग गरेको समाचारलाई नयाँ पत्रिकाले सो दिन प्रथम पृष्ठको मध्य भागमा दिएको थियो भने अन्नपूर्ण पोस्टले सात कोलममा तथा कान्तिपुरले पनि तीन कोलममा प्रकाशित गरेका थिए । कान्तिपुरले शीर्षकमा नै ‘नेपाली भूमिबाट सेना फिर्ता लैजानुस्’ भन्ने भनाइ राखेको थियो । अन्नपूर्ण पोस्टको शीर्षक पनि उस्तै थियो । सो दिनको गोरखापत्रले पनि ६ कोलममा ‘देशको एक इच्न पनि जमिन मिच्न दिइने छैन,’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको थियो । नागरिकले सो समाचारलाई पहिलो पृष्ठमा एक कोलमको बक्स बनाएर पेस गर्यो । 

२१ महिना २१ असफलता

प्रमुख प्रतिपक्षी दलले अहिले दैनिक पत्रिकामा कस्तो स्थान पाइराखेको छ भन्ने बुझ्नका लागि अर्को समाचार पनि मानक बनेको छ । सरकारको २१ महिनाको कार्यकाल मूल्यांकन गरेर उपनिर्वाचनको मुखमा नेपाली कांग्रेसले निकालेको विज्ञप्ति र प्रेस सम्मेलनलाई धेरै दैनिक पत्रिकाले खासै महत्त्व दिएनन् । अन्नपूर्ण पोस्टले मात्र मंगलवारको सो घटनालाई बुधबारको अंकमा तस्बिरसहित मुख्य समाचार बनायो । सो समाचारअनुसार कांग्रेसले वर्तमान सरकारको असफलता औंल्याउँदै भारतले जारी गरेको राजनीतिक नक्सा, गुठी विधेयक, बालुवाटार जग्गा काण्ड, नेपाल वायुसेवाको वाइड बडी प्रकरण, मूल्यवृद्धि, बुढीगण्डकीमा राष्ट्रघात, मेलम्ची परियोजनामा खेलवाड, निजगढ विमानस्थलको अन्योल जस्ता विषय उठाएको छ । अन्य पत्रिकामध्ये कान्तिपुरले मात्र तेस्रो पृष्ठमा महत्त्वका साथ यो समाचार प्रकाशित ग¥यो । अरु पत्रिकाले महत्व दिएनन् ।
तस्बिरः रासस

प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६  १३:३३
प्रतिक्रिया दिनुहोस्