काठमाडौं । केही समययता पाम आयल (ताडीको तेल) को चर्चा बढिरहेको छ । सञ्चारमाध्यममा पाम आयल नेपालबाट सबैभन्दा बढी निर्यात हुने उत्पादन रहेको चर्चा हुने गर्छ । चर्चा गरिएअनुसार पाम आयल गत आर्थिक वर्ष र चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा सबैभन्दा बढी निर्यात भएको उत्पादन हो । तर, पाम आयल नेपालको कच्चा पदार्थबाट बनाइएको उत्पादन भने होइन ।
राज्यबाट निर्यात हुने सबैभन्दा ठूलो वस्तु र तथ्यांकमा निर्यात बढाउने काम भए पनि राज्यलाई पाम आयलको निर्यातबाट धेरै लाभ छैन । चालू आर्थिक वर्षको पहिलो त्रैमासको तथ्यांकले पनि पामजन्य उत्पादनको आयात–निर्यातबाट नेपाललाई खासै फाइदा नभएको प्रष्ट पार्दछ । यसबाट राज्य र व्यवसायी स्वयंले पाउने प्रतिफल पनि निकै कम छ । पाम आयलले निर्यात बढाए पनि कच्चा पदार्थ आयात भइ प्रशोधित तेल निर्यात हुनले पाम तेल स्थानीय उत्पादन होइन । पामको कच्चा तेल पनि इन्डोनेसिया, मलेसिया तथा थाइल्यान्डबाट आयात गरेर प्रशोधन गरिन्छ ।
भन्सार विभागका अनुसार चालू आवको असोज मसान्तसम्म ५ अर्ब ५७ करोड २५ लाख रुपैयाँको पामजन्य उत्पादन तथा कच्चा पदार्थ आयात भएर ५ अर्ब ७८ करोड रुपैयाँको निर्यात भएको देखिन्छ । आयातमध्ये इन्डोनेसिया, मलेसिया, पपुवा न्युगिनी, सिंगापुर र थाइल्याण्डबाट पामको कच्चा तेल आयात भएको देखिन्छ । अर्थात् राज्यलाई पामजन्य उत्पादनको आयात निर्यातबाट २१ करोड रुपैयाँ व्यापार नाफा रहेको छ ।
यसरी नेपाल आयात भएको पामको कच्चा तेल ५ अर्ब २६ करोड रुपैयाँ बराबरको रहेको छ । यसबाट ५ अर्ब ७५ करोड रुपैयाँको प्रशोधित तेल भारत निर्यात भएको छ । ती देशबाट ७ करोड ८२ लाख ३६ हजार किलो कच्चा तेल नेपाल आएको छ भने प्रशोधन भएर ५ करोड ६६ लाख ६४ हजार किलो प्रशोधित तेल भारत निर्यात भएको छ ।
कच्चा तेलबाहेक इन्डोनेसिया र मलेसियाबाट प्रशोधित तेल, चीनबाट पाम हार्टस् तथा चीन, भारत र मलेसियाबाट प्रशोधन गर्न आवश्यक एसिड तथा इस्टर नेपाल भित्रिएको छ । त्यस्ता पामजन्य उत्पादन ३० करोड रुपैयाँ बराबरका रहेका छन् । नेपालबाट भारत प्रशोधित नभएर कच्चा पाम आयल पनि निर्यात भएको भन्सारको तथ्यांकले देखाएको छ । भारत निर्यात भएको कच्चा तेलको मूल्य २ करोड ७० लाख रुपैयाँ रहेको छ ।
भन्सारको तथ्यांकबाट नेपालमा प्रशोधन भएको पाम आयल सबै भारत निर्यात हुने गरेको देखाउँछ ।
नेपाल स्वयम् भने ताडीको तेलको कच्चा सामग्री उत्पादन कमै गर्दछ । पूर्वी तराईका केही जिल्लामा पाम (ताडी) रोपिने भएपनि यसको उपयोग निकै कम हुने गरेको छ । ती पदार्थ स्थानीय बजारमै खपत हुने गरेको छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा पाम आयलले नै नेपालको निर्यातको सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । पहिलो त्रैमासमा भएको कूल २७ अर्ब १६ करोड रुपैयाँको निर्यातमध्ये ५ अर्ब ७८ करोड रुपैयाँको निर्यात पामको प्रशोधित र कच्चा तेल नै हो ।
भन्सार विभागको तथ्यांकले पनि पाम आयलको निर्यातमार्फत् राज्यमा ठूलो मूल्य अभिवृद्धि (भ्यालु एड) नभएको पुष्टि गर्दछ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष पाम आयल निर्यात भए पनि व्यापार घाटा थियो ।
गत वर्ष कस्तो थियो ?
भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा १० अर्ब ३३ करोड ३० लाख रुपैयाँको प्रशोधित पाम आयल निर्यात भएको देखिन्छ । वर्षभर ९ करोड ५६ लाख ६४ हजार किलो पाम आयल निर्यात भएको हो । यससँगै अरु १५ किलो कच्चा पाम आयल २ हजार रुपैयाँमा नेपालबाट निर्यात गरिएको भन्सार विभागको तथ्यांकले बताउँछ ।
गत वर्षभर ११ अर्ब ८६ करोड रुपैयाँको कच्चा पाम आयल आयात गरी प्रशोधन गरिएको हो । यसमा पाम बनाउन प्रयोग गरिने एसिड र इस्टरको आयात समावेश छैन । सो वर्ष कच्चा तेलसँगै ११ करोड ६२ लाख रुपैयाँको एसिड र इस्टर आयात भएको विभागको तथ्यांक छ ।
यसबाहेक पामकै अन्य उत्पादन हेर्ने हो भने गत वर्षभर ९९ करोडको पाम आयल आयात भएको छ । यसैगरी १२ करोड ६३ लाख रुपैयाँ बराबरको पामबाट बन्ने बाबासु तेल, १ लाख ८३ हजार रुपैयाँको पाम हार्ट (खाद्य पदार्थ) र ५६ हजार रुपैयाँ बराबरको पामको फल आयात भएको छ ।
यसको अर्थ गत वर्षभर १३ अर्ब १० करोड रुपैयाँको पामजन्य तयारी वस्तु तथा कच्चा पदार्थ आयात गरी नेपालले १० अर्ब ३३ करोड रुपैयाँ बराबरको प्रशोधित तेल र कच्चा पदार्थ निर्यात गरेको छ । अर्थात् राज्यले पामबाट २ अर्ब ७७ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।
राजस्वमा योगदान
निर्यातमा टेवा पुर्याएको पाम आयलमार्फत् राज्यले कच्चा पदार्थको आयातबाट ठूलो मात्राको राजस्व संकलन गरेको भन्सारको तथ्यांकले देखाउँछ । विभागका अनुसार गत वर्षभर पामजन्य उत्पादन आयातमार्फत् राज्यले २ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यसैगरी चालू आवमा पनि ९० करोड ४० लाख रुपैयाँ राजस्व संकलन गरिएको छ ।
आयातमार्फत् उठाइने राजस्वमध्ये सबैभन्दा बढी कच्चा पाम आयलमार्फत् नै उठ्ने गरेको हो । प्रशोधित पाम आयल गत वर्षदेखि निर्यात हुन थालेको जानकारहरु बताउँछन् ।
व्यापारीको यो जुक्ति
सरकारी अधिकारीहरु नेपाली व्यवसायीले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा)को लाभ उठाएर पाम आयल निर्यात गरेको दाबी गर्छन् । उनीहरुका अनुसार अल्पविकसित मुलुकले गरेको वस्तुजन्य निर्यातमा शून्य ट्यारिफको व्यवस्था साफ्टामा छ । यसकारण नेपाली व्यवसायीले कम ट्यारिफ कच्चा सामग्री आयात गरेर शून्य ट्यारिफ निर्यात गर्ने गरेका हुन् ।
भारतमा यस्तो उत्पादन आयातमा ट्यारिफ उच्च छ । सोहीकारण नेपाली व्यवसायीले उनीहरुसँग मिलेर नेपालमा प्रशोधन गर्ने र नेपालबाट भारत निर्यात गर्ने गरेको बताइन्छ । आयातित कच्चा तेल प्रशोधन गरेर नेपाी व्यवसायीले ३० प्रतिशतसम्म मूल्य अभिवृद्धिसहित नाफा गर्ने गरेको दाबी छ ।
तर, अभ्यासमा यस्तो छैन । पाम आयलबाट धेरै मूल्य अभिवृद्धि नहुने कुराको पुष्टि कच्चा र प्रशोधित तेलको हार्मोनाइज्ड सिस्टम (एचएस) कोडले देखाउँछ । जानकारका अनुसार एचएस कोडको पहिलो चार अंक फरक भएमात्र उच्च मूल्य अभिवृद्धि हुन्छ । तर, कच्चा तेलको एचएस कोड १५१११००० हो भने प्रशोधित तेलको एचएस कोड १५११९००० हो ।
पाम आयल आयात गर्ने विश्वको सबैभन्दा ठूलो मुलुक भारत हो । भारतले एक वर्षमा करिब १५ मिलियन टन पाम आयल आयात गर्ने गरेको भारतीय मिडियाको दाबी छ । तर, भारतमा पाम आयल तीन लाख टनमात्रै उत्पादन हुन्छ ।
पामको बढ्दो आयातदरसँगै भारत सरकारले पाम तेल आयातको भन्सारदर बढाइरहेको छ । जसकारण पामको सबैभन्दा ठूला उत्पादक मुलुकहरु इन्डोनेसिया, मलेसियाबाट हुने आयात निकै घटेको थियो । तर, अल्पविकसित मुलुक भएकाले नेपालबाट भित्रिने पाम आयलमा शून्य भन्सार छ । यसैको फाइदा उठाउँदै नेपाली व्यवसायीहरुले इन्डोनेसिया, मलेसियालगायत मुलुकबाट कच्चा तेल अयात गरेर प्रशोधन गरी मुनाफा आर्जन गरेका छन् । फलस्वरुप नेपालको निर्यात दर बढी देखिन थालेको छ ।
पाम एक तेलजन्य वनस्पति हो । पाम आयलको प्रयोग पनि दक्षिण एसियाली मुलुक र अफ्रिकामा एकदमै बढी छ । यसले कुनै पनि पकाएको वस्तुलाई अलि लामो आयु दिन तथा ‘क्रन्ची’ बनाइराख्न मद्दत गर्दछ । यो तेल पिज्जा, दुनोट, चकलेट, स्याम्पु, टुथपेस्ट, लिपिस्टिकसमेत बनाउन उपयोगी हुने गरेको छ ।