काठमाडौं । बलात्कार प्रयासको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । अदालतले यस्तो पुर्जी जारी गरेपछि प्रहरीलाई हालसम्म सांसद रहेका महरालाई पक्राउ गर्न बाटो खुलेको छ । महराले बलात्कार प्रयास गरेको भनिएकी महिला रोशनी शाहीले महराविरुद्ध शुक्रबार किटानी जाहेरी दिएकी थिइन् ।
जिल्ला अदालत काठमाडौंले मुलुकी फौजदारी कार्यविधि संहिता (ऐन) को दफा ९ को उपदफा ३ (२) अनुसार पक्राउ पुर्जी जारी गरेको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।
ऐनको दफा ९ मा कसूरसँग सम्बन्धित व्यक्ति पक्राउ गर्न सकिने व्यवस्था छ । जसको दफा (३) उपदफा (२) मा निवेदन परेमा र पक्राउ गर्नुपर्ने कारण मनासिब देखिएमा मुद्दा हेर्ने अधिकारीले सोही निवेदनमा पक्राउ पूर्जी जारी गर्ने अनुमति दिन सक्ने व्यवस्था छ ।