site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोपः महरा भन्छन्– मैले पढाएकै विद्यार्थी हुन्, त्यस्तो केही गरेको छैन 

काठमाडौं । सभामुख कृष्णबहादुर महरालाई संसद् सचिवालयमै कार्यरत कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । महराले आइतबार राति संसद् सचिवालयकै एक कर्मचारीको कोठामा पुगेर दुर्व्यवहार गरेको आरोप लागेको भए पनि आफूले त्यस्तो नगरेको दाबी गरेका छन् । मंगलबार बिहान बाह्रखरीसँगको कुराकानीमा उनले भनेको स्थानमा सरुवा नगरेका कारणले गर्दा संसद सचिवालयकै एक जना कर्मचारीले आफूमाथि आरोप लगाएको समेत बताए ।

आइतबार राति एक जना कर्मचारीले आफ्नो कोठामा आएर मादक पदार्थ सेवन गरी सभामुख महराले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । सभामुख महराले भने,‘‘मैले भन्नुपर्ने कुरा प्रेस सल्लाहकार डिल्ली मल्लको वक्तव्यबाट आइसकेको छ । कुरा त्यही हो । त्यो भन्दा अरु भन्नु छैन ।’’
उनले बाह्रखरीसँगको कुराकानीमा भने, “आइतबार राति म गएको होइन, बरु पहिला चाहिँ भेटघाट भएको हो ।”

सभामुख महराले आरोप लगाउने महिला आफ्नो विद्यार्थी भएको समेत जनाए । उनको भनाई थियो,‘‘सरुवाको विषयलाई लिएर उनले त्यस्तो आरोप लगाइन् तर त्यस्तो केही भएको होइन ।’’ सभामुखको बारेमा उठेको गम्भीर सवाललाई लिएर केही जानकारी पाउनुभएको छ भन्ने बारेमा बाह्रखरीले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेसँग जिज्ञासा राख्दा उनले भनिन्,‘‘मेरो हिजो पनि सभामुखसँग भेट भएको हो । विधेयक प्रमाणित गर्नुपर्ने थियो र उहाँ आउनुभएको थियो । तर, पछिल्लो घटनाका बारेमा मलाई केही पनि जानकारी छैन ।’’

उनले घटना भएको भनिएको दिन आइतबार पनि सभामुखसँग आफ्नो भेट भएको तर यस्ता कुराको बारेमा कुनै जानकारी नभएको बताइन् ।  ती महिलाले सोही दिन प्रहरीलाई समेत घटनाको बारेमा जानकारी गराएको बताएकी छन् । नयाँ वानेश्वर वृत्तको प्रहरी घटनास्थलमा गएर जाँचबुझ गरेको समेत बताइएको छ । तर, प्रहरीले औपचारिक रुपमा सो घटनाको बारेमा केही पनि बताएको छैन ।

“हामी आइतबार राति पनि ती महिलाको कोठामा पुगेका थियौं,” वानेश्वर वृत्तका एक प्रहरीले भने, “हामी पुग्दा महरा त्यहाँ हुनुहुन्थेन । अहिलेसम्म हामीकहाँ लिखित उजुरी पनि आएको छैन । लिखित उजुरी आएपछि हामीले कारबाही प्रक्रिया अघि बढाउँछौं ।”

पूर्वसभामुख तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ्गले मंगलबार बिहान बाह्रखरीसँगको कुराकानीमा आफूले पनि सो घटनाको बारेमा सुनेपछि आश्चर्य लागेको बताए । उनको भनाई थियो,‘‘म गृह जिल्ला इलाम गएको थिएँ । बेलुका ७ बजेतिर विमानबाट ओर्लेपछि त्यस्तो कुरा सुन्दा आश्चर्य लाग्यो । अरु बुझ्नै पाएको छैन । यस्तो कुरालाई लिएर के कमेन्ट गर्नु ?’’

उता सत्तारुढ नेकपाका अर्का एक उच्च नेताले भने नाम नबताउने शर्तमा भने,‘‘अहिले लोकतन्त्रमाथि नै प्रहार हुन थालेको बेलामा संसदको प्रमुख सभामुख नै यस्तो कुरामा जोडिनुलाई पार्टीले गम्भीर रुपमा लिएको छ । कुरा के हो भन्ने प्रहरीले जानकारी पाइसकेको छ । त्यस कारण सरकार यो विषयमा अन्जान रहन सक्दैन । त्यस्तो अवस्थामा पार्टीदेखि लिएर सम्पूर्ण राज्य आवश्यक कदम चाल्न तयार हुनुपर्छ । यो गम्भीर विषय हो । यसबारेमा आज छलफल होला ।’’

सभामुखका प्रेस सल्लाहकारको दाबी यस्तो !

उता सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले सोमबार राति वक्तव्य जारी गर्दै उक्त आरोपको खण्डन गरेका छन् ।

यस्तो छ उनले जारी गरेको वक्तव्यको पूर्ण पाठः
सम्माननीय सभामुख कृष्णबहादुर महरालाई गम्भीर आरोप लगाई विभिन्न अनलाइन सञ्चार माध्यममा आइरहेका समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ । यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु । 
समाचारमा उल्लेख गरिएजस्तो ‘सभामुखज्यूले कसैलाई पनि दुव्र्यवहार गरेको कुरा’ कल्पना समेत गर्न सकिदैन । हिजो आइतबार घटना भएको भनी जसरी सभामुखज्यूको चरित्र हत्या गर्ने दुस्प्रयास भइरहेको छ त्यसमा कुनै पनि सत्यता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरुमा जानकारी गराउँछु । सभामुखज्यू हिजो असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर वालुवाटार निवासमा फर्किएको बाहेक उहाँ त्यसपछि अन्यत्र कहीँ नगएको पनि म यसै विज्ञप्तीबाट प्रष्ट पार्न चाहन्छु । साथै समाचारमा आएको जस्तो चश्मा, जुत्ताका कुरा पूरै निराधार भएको र उहाँको चश्मा आफैसँग रहेको र सभामुखज्यूले त्यसप्रकारको जुत्ता समेत प्रयोग नगरेको पनि यहाँ उल्लेख गर्न चाहन्छु ।
संघीय संसद सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरु र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको अवस्था थियो । तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा मैले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट थिए । सोही असन्तुष्टिलाई लिएर सभामुखज्यूको बारेमा पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह भएकोमा सभामुखज्यू समेत निकै दुखित र आश्चर्यचकित हुनुभएको छ । 
यो प्रकरणबाट जुन किसिमले सभामुखज्यूको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको छ, यो निकै सुनियोजित र योजनाबद्ध रुपमा भइरहेको छ । यो जहाँबाट भयो÷भइरहेको छ, यो कुनै पनि किसिमले क्षम्य हुन सक्दैन । उहाँको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी जसरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भत्र्सना गरे पनि कम हुन्छ । सभामुखज्यूलाई लगाइएको निराधार र कपोलकल्पित आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले भ्रममा नपर्न सबैमा पुनः विनम्र अनुरोध गर्दछु ।

मिति, २०७६।०६।१३
डिल्ली मल्ल
सभामुखज्यूको प्रेस सल्लाहकार
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६  ०७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro