site stats
बाह्रखरी :: Baahrakhari
देश
इन्द्रजात्रा हेर्न ६ देशका जनप्रतिनिधि आउँदै, पाहुनालाई महानगरको भोजैभोज

हनुमानढोका दरबार परिसरमा मंगलबार इन्द्रध्वजा फहराइँदै । इन्द्रध्वजा फहराएपछि इन्द्रजात्रा शुरु भएको मानिन्छ । तस्बिरः रासस


 काठमाडौं । यही भदौ २७ गते काठमाडौंमा आयोजना हुने इन्द्रजात्रा हेर्न अमेरिकादेखि चीनसम्मका ४८ जना जनप्रतिनिधि आउँदैछन् । नेपालको प्राचीन जात्रा र सांस्कृतिक सम्पदा हेर्नका लागि महानगरले ६ देशका जनप्रतिनिधिलाई काठमाडौं निम्त्याएको बताएको छ ।

विदेशी पाहुना प्राचीन जात्राको अवलोकन र यसबारे जानकारी लिन आउने बताइए पनि उनीहरुलाई होटलमा रात्रिभोज दिने तालिका महानगरको छ । विदेशी पाहुनाले भदौ २७, २८ र २९ गते काठमाडौंको वसन्तपुर, स्वयम्भू, चन्द्रागिरि, पाटन र भक्तपुर दरबार स्क्वायर भ्रमण गराउने योजना रहेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वसन्तपुरमा आयोजना हुने इन्द्रजात्रा साथै उपत्यकाको प्राचीन, कला, संस्कृति र सम्पदा अवलोकन गर्न आउने जनप्रतिनिधिलाई महानगरपालिकाले भव्य रात्रिभोजको आयोजना गर्नेछ । 

सम्पदाप्रेमीहरु भने यस्ता भोजले यहाँको संस्कृति र सम्पदाको प्रवद्र्धन नहुने बताउँछन् । “महानगरपालिकाको यस्तो तयारी यहाँको संस्कृति र सम्पदा प्रवद्र्धनका लागि सहयोगी हुन सक्दैन । पाहुनालाई स्वागत भेट वा बिदाइको आयोजनामा रात्रिभोज दिँदा पनि हुन्छ । तर तीनै रात तारे होटलको रात्रिभोजले नेपालको संस्कृति र सम्पदाको परिचय र प्रवद्र्धनमा सहयोग गर्न सक्दैन,” वसन्तपुरका स्थानीय तथा सम्पदा बचाउ अभियानका एक अभियन्ताले भने, “विदेशी पाहुनालाई तारे होटलमा रात्रिभोजभन्दा बुङ्मती, खोकना, साँखुजस्ता प्राचीन क्षेत्रमा लगेर त्यहाँका स्थानीय परिकार चखाउन सके त्यो निक्कै उपलब्धीपूर्ण काम हुन्थ्यो । अमेरिका र चीनबाट आयातित परिकार त्यहीँका नागरिकलाई पस्किनुमा कुनै मौलिकता छैन ।”

महानगरपालिकाले इन्द्रजात्रा मनाउनका लागि यसै वर्षबाट पाँच करोड रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । जसमा केन्द्रीय सरकारबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले डेढ करोड, स्थानीय गुठीबाट ५० लाख, महानगरबाट दुई करोड र प्रदेश तीन सरकारबाट एक करोड गरी जम्मा पाँच करोड रुपैयाँको अक्षयकोष स्थापना गरिने भएको हो ।

“यसैको ब्याजले इन्द्रजात्रा मनाइने छ । आउँदा वर्षमा बैंकको ब्याजदर र इन्द्रजात्रा मनाउन लाग्ने खर्चको तालमेल मिलाउन केही गृहकार्य गर्नुपर्छ होला,” मेयर विद्यासुन्दर शाक्यले भने । इन्द्रजात्रालाई सभ्य र भव्य रुपमा मनाउन महानगरले बुधबार बिहान काठमाडैंमा पत्रकार सम्मेलन आयोजना गर्दै सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग मिलेर तयारी गरिएको बताएको छ ।

“पहिले राजाका पालामा राजा आफैं इन्द्रजात्रामा सहभागी हुने चलन थियो । अहिले नेपालको संविधानअनुसार राष्ट्राध्यक्ष, राष्ट्रपति विद्यादेवि भण्डारी जात्रामा उपस्थित हुने कार्यक्रम छ,” जात्रामा राष्ट्रपतिको उपस्थित विवादित बन्ने अनुमान छ नि ? भन्ने प्रश्नमा मेयर शाक्यले प्रतिक्रिया दिए, “पहिलो राष्ट्रपति रामवरण यादवको पालामा पनि भैंसीमा चढ्ने राष्ट्रपति भन्दै केही पक्षबाट विरोध भएको थियो । ठूलो कार्यक्रममा केही विरोध पनि होला तर इन्द्रजात्रामा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थित रहने छ । यसका लागि सुरक्षा र थप व्यवस्थापनको तयारीका लागि म सबैसँग आग्रह गर्छु ।”

विदेशी पाहुनाहरु बसोबासका लागि लाजिम्पाटस्थित होटल रेडिसन र बौद्धको होटल हायात बुक गरिएको महानगर स्रोतले जानकारी दिएको छ । 

बसोबास र ब्रेकफास्टको व्यवस्था सम्बन्धित होटलमा नै गरिएको छ भने रात्रिभोजका लागि चन्द्रागिरि हिल्स, ललितपुर र भक्तपुरका भीआइपी होटल बुक गरिएको स्रोतले बताएको छ ।

“ककटेल डिनरसहित राष्ट्रिय सभागृहमा २९ गते आइतबार आयोजना गरिने रात्रिभोजमा पर्यटनमन्त्री योगेश भट्टराईसमेत उपस्थित हुने कार्यक्रम छ,” महानगरका एक उच्च अधिकृतले जानकारी दिए ।

४८ जना विदेशीसहित नेपालका केन्द्रीय र प्रदेश सरकारका वरिष्ठ पाहुनाको भ्रमण र रात्रिभोजमा कति बजेट खर्च हुने भन्ने पूर्वानुमान भइनसकेको महानगरका ती अधिकृतले बताए ।   
 
 
   
   
 

 

  

 
  
 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १३:०५
प्रतिक्रिया दिनुहोस्