site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकी नेतालाई चीनको चेतावनी- हङकङको विषयमा टिप्पणी गर्न योग्य छैनौ

हङकङका विषयमा अमेरिकी नेताहरुले गरेको टिप्पणीको चीनले खण्डन गरेको छ । चिनीयाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले विभिन्न खाले टिप्पणीले सत्यतालाई बंग्याउन खोजेको आरोप लगाएकी छन् । 

चिनीयाँ समाचार एजेन्सी सिन्हवाका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प, अमेरिकी तल्लो संसदकी सभामुख न्यान्सी पेलोसी, सिनेटरहरु म्याककोन्नेल, रुबियो र अन्य सांसदहरुले सोमबार र मंगलबार ट्विट गर्दै हङकङ प्रहरीले आन्दोलनकारीमाथि दमन गरिरहेको र चिनियाँ केन्द्र सरकारले हङकङमा प्रजातन्त्र र स्वतन्त्रता खारेज गर्न खोजेको टिप्पणी गरेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ट्विट गर्दै विभिन्न खुफिया एजेन्सीको रिपोर्टअनुसार चीन सरकार हङकङको सीमा आसपास सेना तैनाथ गरिरहेको उल्लेख गर्दै सबैलाई शान्त र सुरक्षित रहन आवश्यक भएको बताएका थिए । 

प्रवक्ता चुनयिङले यस्ता टिप्पणीहरुले हिंसात्मक अपराधलाई टेवा पुर्‍याएको बताउँदै भनिन्, "मानवअधिकार र स्वतन्त्रताका लागि संघर्ष गरिरहेका हङकङ प्रहरीको कामलाई गलतरुपमा व्याख्या गरिरहेका छन् । हङकङ प्रहरीले कानुनको पालना गराउन, अपराधविरुद्ध लड्न र सामाजिक सुरक्षा प्रदान गरिरहेको छ ।"

यस्ता टिप्पणीले हङकङबासी र हङकङ सरकार  तथा चिनीयाँ केन्द्र सरकारबीच तनाव उत्पन्न गराउन उत्प्रेरित गरिरहेको समेत प्रवक्ता चुनियङले आरोप लगाएकी छन् । उनले भनिन्, "तिनीहरु संसार उथलपुथल भएको हेर्न प्रतीक्षा गरिरहेका छन् ।"

उनले हङकङमा कुनै पनि किसिमको अमेरिकी सहभागिता स्वीकार्य नहुने दोहोर्‍याएकी छन् । "अमेरिकी कंग्रेसका सदस्यहरुलाई कानुन निर्माता अर्थात विधायक भनिन्छ । तर, म सोध्न चाहन्छु ती सांसद तथा विधायकहरुलाई तपाईंहरु कानुन निर्माता हो कि कानुन उल्लंघनकर्ता ?"

उनले हङकङको मामिला नितान्त चीनको आन्तरिक मामिला भएको उल्लेख गर्दै हङकङका विषयमा टिप्पणी गर्न योग्य नभएको बताएकी छन् । उनले भनिन्, "त्यसकारण अमेरिकी राजनीतिज्ञले यस विषयमा न त संलग्न हुन न त टिप्पणी हुन नै योग्य छन् । आफ्नो सरोकारका विषयमा ध्यान दिनूस् । हङकङ तपाईंको सरोकारको विषय होइन ।"
सिन्ह्वा

प्रकाशित मिति: बुधबार, साउन २९, २०७६  १६:०९
प्रतिक्रिया दिनुहोस्