जलवायु परिवर्तनमा महिला

डा. डिला संग्रौला

जलवायु परिवर्तन मानव सभ्यताकै सबैभन्दा ठूलो चुनौती हुन पुगेको छ । औद्योगीकरणका क्रममा वायु मण्डलमा जथाभावी कार्बनडाअक्साइड फ्याक्दाले अहिले विश्व तापक्रम वृद्धि भएको वैज्ञानिकहरूले बताएका छन् । समुद्रसतह बढ्ने क्रमले माल्दिभ्सजस्ता मुलुकको अस्तित्व माथि नै खतरामा उत्पन्न भएको छ । यस्तै उच्च हिमशृङ्खला पग्लिदा दक्षिण एसियाका करोडांै मानिसको रोजीरोटी र बाँच्न पाउने हकमाथि नै खतरा उत्पन्न भएको छ । त्यसैले जलवायु परिवर्तनले पार्ने प्रभाव अझ विशेष गरी महिलालाई पारेको प्रभावलाई सूक्ष्मरुपले अध्ययन अनुसन्धान गर्नु पर्छ । 

वायु मण्डलमा मिथेन, नाइट्रोअक्साइड, कार्बनजस्ता हरित गृह ग्यास र ओजनतह विनाश गर्ने क्लोरोफ्लोरो कार्बनजस्ता ग्यासको  असर दिनहुँ बढ्दै गइरहेको छ । परावर्तित विकिरणहरू वायु मण्डलमा नै रोकिनाले पृथ्वीको तापक्रम वृद्धि हुँदैछ । हरित गृह ग्यासका प्रमुख स्रोतहरूमा वन जंगलको विनाश, कोइला, खनिज इन्धनको अधिक प्रयोग, व्यापक औद्योगीकरणजस्ता क्रियाकलाप पर्छन् । 

वैज्ञानिकहरूले सन १९६० को दशकपछि पृथ्वीमा भएको द्रूत औद्योगिक विकास तथा जनसंख्या वृद्धिले ल्याएका असरका कारण पृथ्वीमा भएको जलवायु परिवर्तन भएको बताएका छन् । विश्वव्यापी रुपमा बढेको यस समस्याको लागि विश्वका औद्योगिक धनी राष्ट्र बढी जिम्मेवार भएको यथार्थ विभिन्न अध्ययन प्रतिवेदनले सार्वजनिक गरिसकेका छन । त्यसैले हरित गृह ग्यासको प्रमुख कारकको रुपमा देखिने कार्बनडाक्साइडको उत्सर्जन नै विश्व जलवायु परिवर्तनको कारक मानिएको छ । यसको उत्सर्जनमा खासै भूमिका नभएको हाम्रोजस्तो विकासोन्मुख देशले समेत असर र अझ कठिनाइ भने भोग्नु परेको छ । 

विश्वमा हाल आएर मानवीय गतिविधिको वृद्धिको कारण प्रकृतिमा नकारात्मक प्रभाव परेको छ । जलवायु निरन्तररुपमा परिवर्तन भई नै रहेको देखिन्छ । वास्तवमा प्रकृतिमा असन्तुलन पैदा भई जलवायु परिवर्तनको अवस्था आएको हो । जलवायु परिवर्तनले पृथ्वीमा अनेक प्रकारका प्रभाव पार्ने देखिन्छ । फलस्वरूप, जलवायु परिवर्तनका कारण महिलाहरू ज्यादै प्रभावित हुने गर्छन् । 

जलवायु परिवर्तनको लैंगिक पक्ष हेर्दा महिलाहरू बढी प्रभावित हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । संयुक्त राष्ट्र संघका तथ्यांकहरूले जलवायु परिवर्तनका कारण विस्थापित मध्ये ८० प्रतिशत महिला रहेको देखाएको छ । वर्तमान सन्दर्भमा महिलाहरूमा सीमित अनुकूलन क्षमता रहेको मानिन्छ । किनभने उनीहरू सामाजिक आर्थिक क्रियाकलापमा पुरुषका तुलनामा पछि पारिएका छन । उनीहरूको सम्पत्तिको अधिकार कम छ, सूचना प्रवाहको अभाव छ भने रोजगारीका स्रोतमाथि अभैm पहँुच छैन । महिलाहरूले घरभित्र मात्र होइन खेतबारीमा गएर काम गर्नुपर्ने अवस्था छ । यसरी दोहोरो दायित्व रहेको हुनाले जलवायु परिवर्तनले पुरुषको तुलनामा महिला बढी प्रभावित हुनु स्वभाविकै हो ।

अहिले कयौं गाउ“मा पनि मलामी जान छोरा मान्छे नपाउने अवस्था छ । बाढी होस् वा पहिरो महिला नै बढी चपेटामा पर्ने अवस्था छ । जलवायु परिवर्तनले गर्दा समुद्रको सतह बढ्नाले र खोलाको ताजा पानीमा नुनको मात्रा बढनाले माछा मार्ने काममा ठूलो असर पुगेको देखिन्छ । विशेषगरी ग्रामिण महिलाहरू नै यस्ता गतिविधिमा अगाडि छन् । हाल बाढी र अन्य प्रकारका प्राकृतिक प्रकोपबाट जलवायु परिवर्तनका कारणले ज्यादा मात्रामा महिलाहरूको मृत्यु भएको विश्व तथ्यांले देखाएको छ । 

नेपाल राष्ट्र निर्माणको सबै क्षेत्रमा अन्य मुलुकको तुलनामा महिला सहभागिता न्यून छ । महिलाको धेरै समय बालबच्चा हुर्काउने, घरको आन्तरिक व्यवस्था मिलाउने कार्यमा व्यतित भएको देखिन्छ । शिक्षा र स्वास्थको सुविधा उनीहरूले कम पाएका छन् । राजनीतिक, सामाजिक अन्य क्षेत्रमा पुरुषभन्दा महिला पछाडि नै छन् । त्यसैले जलवायु परिवर्तनको ज्यादा भार महिलामा नै परेको देखिन्छ । 

विश्वमा गरिबीको रेखामुनी रहेको जनसंख्यामा महिलाको संख्या ज्यादा छ । नेपालमा ग्रामीण महिलाहरू अत्यधिक मात्रा प्राकृतिक स्रोतमा निर्भर छन् । पानी ल्याउने, दाउराको जोहो गर्ने काम महिलाले नै गर्छन् । त्यसैले जलवायु परिवर्तनले गर्दा अनिश्चित वर्षा र वनविनाशको असर महिलामा नै बढी देखिन्छ । 

महिलाहरूको वातावरणसँग पनि प्रत्यक्ष सम्बन्ध हुन्छ । महिला पुरुषभन्दा भिन्नरुपमा वातावरणीय श्रम, वनविनाश, प्रदूषण र जनसंख्याको चापबाट प्रभावित हुने गर्छन् । महिलाहरू प्रायः वातावरणीय विषयसँग बढी सम्बन्धित हुनेहुनाले उनीहरू त्यसबाट उत्पन्न हुने समस्याबाट पनि ज्यादा प्रभावित हुने विभिन्न अध्ययनले प्रमाणित गरेको छ । 

रासायनिक तत्त्वहरू र कीटनाशक औषधिको प्रभाव मानिसको स्वास्थ्यमा प्रत्यक्षरुपमा पर्छ । संयुक्त राष्ट्र संघको एउटा अध्ययनले कीटनाशक औषधिको प्रयोग स्तन क्यान्सर, गर्भपतनको खतरा उत्पन्न हुने देखाएको छ । त्यसैले यस्ता किसिमका स्वास्थ्यसम्बन्धी कारणले समेत वातावरणीय समस्यामा महिलाहरू बढी सचेत हुन आवश्यक छ । 

विश्वमा औद्योगिक विकाससँगै वातवरणीय क्षति पनि सुरु भयो । यसले जनस्वास्थ्यलाई चुनौती दियो । सर्वप्रथम हजारौं महिलाले केन्यामा सन् १९७७ मा ‘ग्रिनबेल्ट मुभमेन्ट’ संचालन गरी रुख रोप्ने प्रेरणा दिएका थिए । यस्तै जलवायु परिवर्तनलाई कम गर्न हाम्रो जीवनशैली परिवर्तन गर्ने आवाज स्वेडिस किशोरी गे्रटा त्युनबर्गजस्ता स्कुले बालिकाहरूले उठाउन थालेका छन् । 

जलवायु परिवर्तनका असर कम गर्न हामीले विभिन्न क्रियाकलाप गर्नुपर्छ । किनभने यसको असर विभिन्नरूपमा नेपालले पनि भोग्नु परेको छ । त्यसैले यसलाई कम गर्न हामीले निम्न क्रियाकलाप गर्नुपर्छ । हाल विश्वमा हुने हरितगृह ग्यासको कुल उत्सर्जनमा नेपालको हिस्सेदारी ०.०२५ प्रतिशत रहेको छ । कार्बनडाइअक्साइडको अत्यधिक उत्पादनको कारण नै जलवायु समस्या देखा परेको हो । 

रुख रोप्ने 

सन् २००४ मा प्रकाशित प्रतिवेदनलाई आधार मान्ने हो भने अहिले विश्वमा उत्र्सजन हुने करिब ६० प्रतिशत कार्वनडाइअक्साइड वनजंगलले सोस्ने गर्छ । यसैल् हामीले वनजंगलको संरक्षण गरी व्यापकरुपमा रुख रोपन जरुरी छ । त्यसले स्वास्थ्यको लागि आवश्यक अक्सिजन उत्पादन हुन्छ । 

हिमताल र नदीनाला सफा राख्ने 

अहिलेकै गतिमा जलवायु परिवर्तन भइरहने हो भने प्रकृतिको वरदानको रुपमा रहेको सुन्दर हिमताल र नदीनाला कालान्तरमा संकटमा पर्ने देखिन्छ । हाम्रो मुलुकमा रहेका हिमशृङ्खला पग्लिने र क्षयीकरण हुने क्रमसँगै पर्वतारोहणका कारण त्यहाँ फोहर मैला प्रदूषण बढेको छ । यसलाई रोक्नुपर्छ । 

चुरेको दोहन 

चुरे पहाडको संरक्षणको लागि हामीले ध्यान दिनु जरुरी छ । लगाताररुपमा चुरे पर्वत शृङ्खलामा भइरहेको क्षयीकरणले हाम्रो भूसन्तुलनमा समस्या खडा भएको देखिन्छ । 

वातावरणको प्रदूषण 

देशैभर वातावरण मैत्री सार्वजनिक यातायात संचालन गरी घरघरमा ऊर्जा बचत प्रवृत्ति लागु गर्नुपर्छ । कम कार्बन उत्सर्जन गर्ने सुनिश्चित गर्न सम्पूर्ण उद्योगको नियमन गर्नुपर्छ । हरित गृह ग्यास उत्पादनमा कमी ल्याउन वैकल्पिक ऊर्जाको प्रयोग गर्नुपर्छ । पेट्रोलियम पदार्थको उपयोग कम गरी वैकल्पिक ऊर्जा जस्तै जलविद्युत, सौर्य शक्ति, वायोग्यासको उत्पादन बढाएर वातावरणको प्रदूषण रोक्नुपर्छ ।  जलवायु परिवर्तन यथार्थमै भोग्नु पर्ने हुनाले महिलामाथि पर्ने प्रभाव कम गर्न सबै एकजुट हुनुपर्छ । नत्र, जलवायु परिवर्तनबाट नेपालले ठूलो क्षति बेहोर्नु पर्ने हुनसक्छ । 

केन्द्रीय सदस्य, नेपाली कांग्रेस 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ad