site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हास्यव्यङ्ग्य भाइरल र ट्रेन्डिङ हुने विषय होइन
Ghorahi CementGhorahi Cement

मनोज गजुरेल नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा अग्रणी नाम हो । स्ट्यान्डअप कमेडीमा समकालीनहरुलाई निकै पछाडि पारेका उनी कमेडियन मात्रै होइनन्, सामाजिक अभियान्ता पनि हुन् । राजनीतिदेखि सामाजिक विषयमा चोटिलो व्यङ्ग्य प्रहार गर्ने उनलाई पछिल्लो समय स्वतन्त्रताका नाममा अलि बढी नै अराजकता देखिएको महसुस हुन थालेको छ ।त्यसैले उनी श्रष्टा स्वयम्ले सेल्फ सेन्सरसिप गर्ने समय आएको बताउँछन् ।

मनोज पछिल्लो समय हास्यव्यङ्ग्य जनता र राज्यबीचको सेतु बनेको बताउँछन् । उनै मनोजसहितको टोली ‘सिग्नेचर प्रदेश–प्रदेशमा गाईजात्रा’ लिएर सात वटै प्रदेशमा जाँदैछ । साउन ३१ गतेबाट कार्यक्रम सुरु हुनेछ । यो प्रहशनले मोफसलमा पनि हास्यव्यङ्ग्यको रङ्ग छर्ने उनको विश्वास छ । समग्र हास्य व्यङ्ग्यसँगै गाईजात्राका विषयमा केन्द्रित रहेर मनोजसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः

गाईजात्रा लिएर सातै प्रदेशमा जाने तयारी गरिरहनु भएको छ । उद्देश्य हाँस्ने हँसाउने मात्रै हो कि अरु पनि केही छ ? 

Agni Group

देश संघीयतामा गइसके पनि हाम्रा धेरै कुराहरु अझै पनि संघीय राज्यमै केन्द्रित छन् । तर, हामी पहिलोपटक सातै प्रदेशमा जाँदैछौँ । गाईजात्रा पर्व देशभर मनाए पनि गाईजात्रा महोत्सव काठमाडौंमा मात्रै सीमित थियो । राजनीति, विकास विकेन्द्रित गरियो भनिएको छ । त्यसैले हामी पनि यो गाईजात्रा महोत्सव लिएर सातै प्रदेशका विभिन्न शहरमा जाँदै छौं । केन्द्रमा मात्रै रहेको गाईजात्रा महोत्सवलाई मोफसलसम्म लैजाने हाम्रो उद्देश्य हो । 

मोफसल जानुको उद्देश्य हास्यव्यङ्ग्यमार्फत् चेतना जगाउने हो कि व्यावसायिक प्रयोजन मात्रै हो ?

Global Ime bank

गाईजात्रा ठूलो अपेक्षा राखेर गरिँदैन । विगतमा पनि त्यस्तो थिएन । १५–२० शो गर्दा पनि सामान्य पत्रम्पुष्पम् भनेर मात्रै गथ्र्यौं । गाईजात्रालाई मोफसल लैजानुको कारण आर्थिकभन्दा पनि हास्यव्यङ्ग्यका लागि सामाजिक, राजनीतिक, आर्थिक विषय यत्रतत्र छन् । केन्द्रमा होइन, टोलटोलमा नेता छन् । व्यङ्ग्य र खबरदारी त्यहाँ पनि आवश्यक छ । त्यसैले हामी सातवटै प्रदेशमा जाँदैछौँ । 

पछिल्लो समय हास्यव्यङ्ग्य राजनीतिमा मात्रै केन्द्रित भयो । सामाजिक विषयवस्तुलाई उठाउनै सकेन भन्ने आलोचना हुँदै आएको छ नि !

आलोचना र गुनासारु त्यस्ता आए पनि नेपालमा राजनीतिक व्यङ्ग्य सबैभन्दा धेरै लोकप्रिय छ । कारण राजनीति नेपालको केन्द्रमा छ । राजीतिक विषयले जुन दिन सहि बाटो समाउँछ, त्यो दिन सामाजिक विषय हास्यव्यङ्ग्यको केन्द्रमा आउनेछ । तर, अहिले पनि सामाजिक विषय केही मात्रामा भने उठेकै छन् । 

राजनीतिको तुलनामा सामाजिक विषयलाई हाँस्य व्यङ्यमा ल्याउन बढी मेहनत गर्नुपर्ने भएकाले पनि सामाजिक विषय ओझेलमा परेका हुन् ?

मेहनत त दुबैमा गर्नुपर्छ । विषयवस्तुको ज्ञान दुबैमा हुनुपर्छ । अध्ययन र खोज चाहिन्छ । राजनीतिक र सामाजिक विषयवस्तुमा जनताको रुची केमा छ, फरक के खोजिरहेका छन् भन्नेमा त हामी जानकार हुनैपर्छ । हैन भने हास्यव्यङ्ग्य पनि प्रभावकारी हुँदैैन र हामी पनि मूल मार्गबाट किनारा लाग्छौं । तर, मेहनतको अभावका कारण राजनीतिमा मात्रै व्यङ्ग्य गरियो भन्ने कुराबाट कम्तीमा मचाहिँ टाढै छु । राजनीसतिसँगै समाजका अन्य पाटाहरुमा पनि मैले व्यङ्य गरिरहेको हुन्छु । तर, सञ्चारमाध्यमले यो कसले यो पटक कुन नेतालाई व्यङ्ग्य गर्यो, त्यो मात्रै हाइलाइट गरिरहेको हुन्छ । पछिल्लो समय युट्युबमा आएका कमेडियन भाइहरुले सामाजिक विषयलाई उठान गरिरहनु भएको छ । हामी जो लामोसमय देखि यही क्षेत्रमा छौं, हामीले पनि आफूलाई समय सापेक्ष परिवर्तन गर्दै लैजानु पर्छ । 

हास्यव्यङ्ग्य कलाभन्दा ठाडो गाली हुँदै गएको छ । स्वीकार्नु हुन्छ ?

हास्यव्यङ्ग्य कला हो । गाली हैन । कसैको मानमर्दन पनि हैन । व्यक्तिलाई गाली गर्ने हैन, प्रवृत्ति माथि गाली गर्ने हो । तपाईंले भनेको कुरामा मेरो केही हदसम्म म समर्थन जनाउँछु । यसलाई हामी आफैँले नियन्त्रण गर्ने हो । हामीले नियन्त्रण गर्न खोज्यो भने वाक स्वतन्त्रताको कुरा आउँछ । हामी श्रष्टाहरुले नै सेल्फ सेन्सरसिप गर्नुपर्छ । हामी आफैँ सचेत हुुुनुपर्छ । यो तपाईंको मात्रै होइन हामीप्रति ठूलो वर्गको खबरदारी पनि हो । यो खबरदारीलाई हामी सर्जक तथा कलाकारले मनन् गर्नुपर्छ । गतवर्ष गाईजात्रामा प्रायोग हुने विषय र भाषालाई लिएर चर्को बहस भएको थियो । व्यङ्ग्यभन्दा गाली भयो भनेर सेन्सरको कुरा उठेको थियो । नियन्त्रण गर्नैपरि गरी अराजकता देखिएको हो ?

यो विश्वभरको समस्या हो । खासगरी सामाजिक सञ्जालको आगमनसँगै हामी पनि त्यही माध्यममा आउन थालेपछि हामीले आफ्नो कलालाई पनि अलि खुला र स्वतन्त्र बनाएका छौं । म आशा गर्छु राज्यले अभिव्यक्ति नियन्त्रण गर्ने नाममा श्रष्टालाई पनि नियन्त्रण नगरोस् । त्यसैले त्यसभन्दा पहिले हामी आफैँले आफूलाई सम्पादित गरेर भाइरल बनाउन ट्रेन्डिङमा आउनका लागि मात्रै नभई जिम्मेवारी भएर प्रस्तुत हुनुपर्छ । यो देशको नागरिक हुँ र देशप्रति मेरो जिम्मेवारी छ भन्ने कुरा भुल्नु हुँदैन । मलाई आशा छ, त्यो दिन आउँदैछ । श्रष्टाहरु जिम्मेवार भएर आफूलाई सम्पादित गर्नुहुनेछ । 

हास्यव्यङ्ग्यसँग व्यावसायिकता जोडिएपछि आएको यो समस्या सहजै समाधान होला ? 

यो धर्म र कमै दुबै हो । कलामार्फत् व्यङ्य गर्नुपर्छ त्यो धर्म हो । यसैलाई जीविकोपार्जनको माध्यम बनाउँदा व्यावसायिकता त हुन्छ । तर मेरो विचारमा यो पूर्ण व्यावसायिकभन्दा पनि सामाजिक कुराहरु पनि जोडिएर आउँछन् । यो चाउचाउको दाम जस्तो यति नै मूल्य भनेर ट्याग लगाउने भने हुँदैन । किनभने यसले धेरै विषय बोकेको हुन्छ । र, सबैभन्दा छिटो यसले छुन्छ । व्यावसायिकता हुँदै हुँदैन भन्ने हैन तर व्यावसायिकतामा जिम्मेवार भने हुनुपर्छ । 

सुरुआतका दिनमा कमेडीलाई चलचित्रमा खासै मान्यता नदिएपनि अहिले कमेडी चलचित्रको बाढी नै आएको छ । किन होला ? 

यसलाई सकारात्मक रुपमा लिनुपर्छ । केही वर्ष अगाडिसम्म हास्यव्यङ्ग्यलाई केवल मनोरञ्जनका रुपमा र हास्य कलाकारलाई जोकरका रुपमा लिइन्थ्यो । पछिल्लो चरणमा यिनीहरु समाजका विषय बोल्ने व्यक्तिहरु हुन् भन्ने भयो । राज्य प्रशासन र जनताबीचको सेतुको काम गरिरहेका छन् । जनता के भन्छन् ? उनीहरुको चाहना के छ त्यो यिनीहरुले बोल्छन् । त्यसैले यिनीहरुका कार्यक्रम हेर्नुपर्छ, कुरा सुन्नुपर्छ भन्ने राज्यले बुझ्न थालेको छ । त्यो अर्थमा हास्यव्यङ्ग्य सफल बनेको छ । सकारात्मक बाटोमा छौं । हाँस्य व्यङ्ग्यलाई बुझेपछि थाहा हुन्छ, हास्यव्यङ्ग्य भाइरल हुने र ट्रेन्डिङ हुने विषय होइन । यो त जनताको हृदयको ट्रेन्डिङमा रहनुपर्ने विषय हो । त्यसैले हामीले त्यतातर्फ ध्यान दिनुपर्छ । 

हाँस्ने र हँसाउने विभिन्न आयाम हुन्छन् । ती मध्य कमेडी पनि एक माध्यम हो । अहिले जसरी कमेडी चलचित्रमा समावेश गरिरहेको छ । यो सधैँ रहँदैन । किनभने मान्छे सधैँ हाँस्दैन । गीत मान्छेले जुनसुकै बेला सुन्न सक्छ । तर, कमेडीका लागि समय चाहिन्छ । नव रसमध्ये यो पनि एक हो तर यो नै अन्तिम विकल्प हैन । तपाईं डोनाल्ड ट्रम्प, पूर्व राजा ज्ञानेन्द्र शाह, नरेन्द्र मोदी लगायत थुप्रै व्यक्तिको सशरीर नक्कल गर्नुभयो । यो पटक कसको नक्कल गर्नुहुनेछ ? 

यो देशमा म एउटा पात्र खोजिरहेछु । कोही पात्र हुनुपर्छ जो राजनीति समाजसेवा वा अन्य कुनै रुपमा चर्चित हुनुपर्छ क्यारिकेचर गर्नलाई । अहिले ठ्याक्कै घोषणा नगरेपनि सरकारको तर्फबाट सबैभन्दा धेरै टेलिभिजनमा देखिने, सबैभन्दा धेरै बोल्ने, सरकार समर्थकका लागि सबैभन्दा धेरै प्यारो र आलोचकका लागि सबैभन्दा धेरै मन नपर्ने व्यक्तिलाई प्रवृत्ति बनाएर सायद म उहाँको नक्कल गर्छु । 

प्रधानमन्त्री केपी ओली कि सञ्चारमन्त्री गोकुल बाँस्कोटा ?

प्रधानमन्त्री केपी ओली धेरै पुरानो भइसक्नुभयो । नाम लियो भने तपाईंले थाहा पाइहाल्नुहुन्छ मनोज दाइले यो वर्ष गोकुल बाँस्कोटाको नक्कल गर्दै हुनुहुन्छ भनेर, त्यसैले ठ्याक्कै नामचाहिँ नलिउँ होला । 

तस्बिरः सरिता खड्का
  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६  १५:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC