– हरिभक्त कटुवाल
विचरो जसवीर ! अँगेनाको छेउमा बसेर बितेका दिन सम्झिरहेछ । पुसको रात । जाडो निकै बढेको छ । यस्तै पुस ५५ वटा उसको जीवनमा आए–गए ! बितेका ५५ पुसको होइन, उसकी एकमात्र छोरी सन्तुको बारेमा ऊ सोचिरहेछ ।
दाउरा केही काँचा भएकाले धुवाँइरहेका थिए । घरि–घरि फुक्थ्यो, अगुल्टा ठोस्थ्यो अनि फेरि तन्मय हुन्थ्यो अतीतको सम्झनामा । गाला चाउरी परिसकेका थिए । दाँत प्रायः थिएनन् । केश पनि आधाजसो पाकिसकेको थियो । पुुसको मुटु छिचोल्ने जाडो भगाउन आगो तापिरहेको थियो तर अँगेनामा बलेको आगोभन्दा कडा आगो उसको मनमा दन्किरहेको थियो । मनमनै हरहरी डढिरहेको थियो क्षोभ, घृणा, लाज र संकोचले ।
सन्तु थिई जसवीरकी एकमात्र सन्तान । छोरी भने पनि छोरा भने पनि । ऊ ५ वर्षकी नहुँदै आमाचाहिँको चोला उठ्यो । जसवीरले फेरि घरजम गरेन । धेरैले ऊसँग नयाँ घरजम गर्ने आग्रह गरेका थिए तर उसले मानेन, सन्तुका लागि । उसले भएभरको माया सन्तुमै पोख्यो । सन्तुलाई नै केन्द्र गरी ऊ जीवन–भविष्यतिर अघि बढ्यो ।
तर, आज उही सन्तु जसवीरका लागि जीवन–केन्द्र नभई पहेली सिद्ध भई । जुन सन्तुका लागि उसले घरजमसम्म गरेन, उही सन्तुको सम्झनाले उसको हृदयमा क्षोभ र ग्लानिको आगो सल्काइरहेको छ ।
जसवीर तेल कम्पनीको कर्मचारी थियो । उसले कमाएको पैसाले दुई बाबु–छोरीको संसार खेलीखेली चल्थ्यो । सन्तुको प्रत्येक आग्रह ऊ पूरा गथ्र्यो । सन्तु नै त थिई उसको प्राणकी केन्द्रबिन्दु । फूलको थुंगाझैं उसले सन्तुलाई आदरले हुर्कायो । अभाव कस्तो हुन्छ, सन्तुलाई त्यसको अनुभवसम्म कहिल्यै हुन दिएन । कसैकी छोरी–चेलीभन्दा सन्तुलाई तलकी हुन दिएन । ६ वर्षकी हुनासाथ स्कुलमा हालिदियो । आफू निरक्षर भएकाले घरमा पनि उसले शिक्षक राखिदियो तर आज उसलाई ती कुराहरू सपनाझैं लागिरहेछन् । जुन हृदयमा सन्तुप्रति स्नेहको सरोवर थियो, आज उही हृदयमा घृणाको सागर छचल्किन लागेको छ ।
विचरो जसवीर ! अँगेनाको डिलमा बसेर अतीत सम्झिरहेछ । त्यसबाहेक थियो पो के र उसले गर्नुपर्ने ? जति जे गर्नुपर्ने, उसले गरिसकेको थियो अनि बाँकी थियो मात्र ती गरिसकेका कामको सम्झना । त्यसैले ऊ आज एक्लै भ्वाङ परेको अतीतलाई नियालिरहेको छ, सम्झिरहेको छ । पुसको मध्यरातमा पनि ऊ बसिरहेको छ । धुवाँउन लागेको अगुल्टो ठोस्दै आफ्नो दुर्भाग्यलाई धिक्कारिरहेछ ।
हुन त जसवीर दूरदर्शी नै थियो । सन्तु १७ की हुँदै बिहा गरिदिने कुरा पनि उसले विचार गरेको थियो । सन्तुको चालचलनमा, बोलीचालीमा परिवर्तन आउन लागेको उसले अनुभव गरेको थियो । तर, सन्तुले छकाउलीझैं उसलाई लागेन । आफ्नो एकांकीपनको कुरो सम्झिएर पनि उसले एक त सन्तुलाई अर्काको घरमा सुम्पिन सकेन । तर, आज एक्लै बसेर मनमनै डढिरहेछ, आफ्नो मूर्खतालाई धिक्कारिरहेछ ।
वीरेसँग सन्तुको घनिष्ठता बढ्दै गएको कुरो पनि उसले सुनेको थियो । उसलाई डर–डर लाग्थ्यो । ऊ सन्तुलाई सम्झाउँथ्यो, बुझाउँथ्यो । तर, उही डर नै आज मूर्त भई उसको हृदय छियाछिया पारेर छेड्न लागिरहेछ ।
वीरे थियो जसवीरकै छिमेकी मानध्वज थापाको छोरो । १० कक्षासम्म पढेर म्याट्रिकमा उक्लन नसकी घरै बसेर यताउतिका केटाकेटीलाई पढाउने गथ्र्यो । उसका आमाबाबु, दाजुभाइ, दिदीबहिनी सबै थिए । घरको अवस्था पनि साह्रै नराम्रो थिएन । दाजु र बाबु तेल कम्पनीमा काम गर्थे । भएन, आफैंले पनि केटाकेटीलाई पढाएर ६०–७० रुपैयाँसम्म कमाउँथ्यो । नपुग्दो केही थिएन तर थियो मगरको छोरो । त्यसैले जसवीरको मन खुम्चिन्थ्यो । उसमा आफ्नो घरको अभिमान थियो । आफू क्षेत्री भएर मगरलाई ज्वाइँ भन्न ऊ मरे सक्दैनथ्यो । त्यसैले ऊ वीरेदेखि डराउँथ्यो ।
तर, सन्तु वीरे दाइ भनेपछि हुरुक्क हुन्थी । पाठ सोध्ने निहुँले प्रायः वीरेको घरमा जान्थी । त्यसरी नै उनीहरूमा घनिष्ठता छिप्पियो । अनि त के थियो र, यौवनको अन्धो मादकतामा दुबै बग्दै गए । सन्तुको म्याट्रिक परीक्षा नजिक आइपुगेको थियो तर त्यसको पनि ख्यालै नराखी वीरेसँग जीवन–मरणको सम्बन्ध जोर्न तीन दिनअघि बूढो जसवीरलाई छकाएर भागी ।
विचरो जसवीरले यी तीन दिन उसैको खोजीमा बितायो । अघिअघि ६ नबज्दै बिहानै ऊ काममा पुग्थ्यो तर आज ३ दिनदेखि ऊ काममा पनि गएको छैन । पकाएर खाने जाँगरसम्म आएन । हिजो राति रतन बंगालीको दोकानबाट चिउरा ल्याएर चपाएथ्यो । आज भने ऊ भोकै छ । खान मन लागेरै पनि उसले पकाएन । हिजो चिउरा लिन जाँदा उसको मुखमा हेरेर रतन मुुसुक्क हाँसेको उसले लक्ष्य गरेको थियो, त्यसैले आज चिउरा लिन जान उसलाई लाज लाग्यो । भोकै पुसको मध्यरातमा आगो तापेर बसिरहेछ सन्तुलाई सम्झिएर ।
(हरिभक्त कटुवालको आठ कथाहरूको संग्रह ‘स्पष्टीकरण’ बाट ।)