सरी साथी, सहमत हुन सकिएन 

सरी साथी, सहमत हुन सकिएन 

यही बैशाख १२ गते करिब तीन बजे मोबाइलमा एउटा निमन्त्रणा आयो । देशमा भूकम्प गएको चार वर्ष पुगेको दिन आएको यो निमन्त्रणाले आफ्नै सोचमा एउटा भूकम्प ल्यायो । समाज परिवर्तनका सारथी हुने चाहना र उत्प्रेरणा लिएर पत्रकारितामा बिताएको यत्रो वर्षमा पनि हामी समाज परिवर्तनको बाटोमा अघि हिँड्न सकेका रहेनछौँ । अझै विवाद, विग्रह र द्वन्द्व नै हाम्रो मानसिकतामा जकडिएर बसेको रहेछ भन्ने सोचले विचलित बनायो ।  

निमन्त्रणा साथी नामक संंस्थाले पठाएको रहेछ । सो संस्थाले एउटा अभियान थाल्दै रहेछ ‘पुरुषमात्र हुने मञ्च इन्कार गरौँ’ । झट्ट हेर्दा अत्यन्त स्वाभाविक । महिला अधिकारका लागि यसभन्दा सशक्त अर्को अभियानै हुँदैन कि जस्तो । जहिले, जहाँ गएपनि पुरुषको मञ्च । जहाँ पनि पुरुषकै आवाज । जहाँ पनि पुरुषकै संलग्नता । नेपालको समाजमा महिलाको कुनै अस्तित्व नै नभएको जस्तो । मानौं, नेपालमा महिलाको आवाज नै छैन, आधा आकाशको कुनै सामर्थ्य नै छैन । 

वास्तवमा हाम्रो समाजमा महिलाको जुन अवस्था छ त्यसमा परिवर्तन ल्याउनु हुँदैन भनेर कसैले भन्छ भने त्यसभन्दा पुरुषसत्तात्मक सोचको व्यक्ति अर्को हुनै सक्तैन । तर, महिलाको प्रगतिका लागि के पुरुष बाधक हो ? के पितृसत्तात्मक समाजको सोच र यस्तो विचारको वाहक छोरा मान्छेमात्र हो ? हामीले चाहेको आमूल परिवर्तन कुनै विदेशी संस्थामा राम्रो ‘प्रपोजल’ लेखेर आएको पैसाले मात्र संभव छ त ? 

नेपालमा महिलाका हकहित र सहभागिताको सबालमा अहिलेसम्म अर्बाैं रुपैयाँ खर्च भयो । त्यस पैसाले महिलाको अवस्थामा परिवर्तन ल्यायो वा ल्याएन तर संविधान, कानुन र महिलाप्रति गरिने व्यवहारमा अवश्य परिवर्तन ल्याएको छ । अहिलेसम्म ल्याएको परिवर्तन पर्याप्त छ त्यसैले अब संघर्षका अभियान मिथ्या हुन् भन्न खोजिएको पनि हैन । तर, परिवर्तनको बाटो सही भएन भने त्यसले विग्रह निम्त्याउँछ भन्नमात्र खोजेको हो । अहिलेसम्म जति स्रोत र साधन यस विषयमा खन्याइयो त्यसले समाज परिवर्तनको दिशामा ठोस योगदान दिएन । हो, बाहिरी लिपपोत भएको छ, संविधान र ऐन कानुनको कागजी ढड्डामा । तर, झन् नयाँ र विभाजित बाटो हिँडदा हाम्रो समाज कहाँ पुग्ला ?

संविधानमा महिलाको हक र हितका कुरा राख्दा पनि धेरैले प्रश्न उठाएका थिए । महिला सक्षम नै छैनन् अधिकारमात्र दिएर केही हुँदैन भन्ने तिनको धारणा थियो । त्यस्ता सरोकार एक हदसम्म तर्कसंगत भए पनि कानुनीरुपमा कुनै पनि अवस्थामा महिलाको अधिकार कम हुनुहुँदैन भन्ने आवाजले बल पायो । नागरिकताका सबालमा पनि धेरै पुरुषले महिलाको नामबाट नागरिकता दिनुपर्ने विषयमा सशक्त ढंगले सहमति जनाए । कुनै पनि जातिको नस्ल जोगाउनका लागि पुरुष भए पुग्छ भन्ने सोच आफैँमा गलत हो भन्ने आवाज पुरुषहरूबाटै पनि आयो । 

भन्न खोजिएको के हो भने लैंगिक भेदभावरहित उदार लोकतान्त्रिक समाज बनाउन महिला र पुरुष समानरुपमा अघि बढ्नु पर्छ । महिलाले पुरुष जातिलाई नै महिला हक हितका सबालमा बैरी देख्ने परम्परा कम गर्दै पुरुषको सोचमा परिवर्तन ल्याउनुपर्ने अवस्थामा कुनै पनि रुपमा लैगिंक विभेद वा लैगिंक द्वन्द्व बढाउने कार्यलाई समर्थन गर्न सकिँदैन । जुनसुकै तरिकाबाट पनि महिलालाई अघि बढाएको खण्डमा महिलाको उन्नति हुन्छ भन्नु गलत हो । हरेक बाउमा छोरीको उज्वल भविष्यको चाहना हुन्छ । कुनै पनि दाजु आनो बहिनीको विकासमा बाधक हुँदैन । 

पैसा त यो देश टुक्य्राउनका लागि पनि आउँछ, बम पड्काउन पनि आउँछ अनि देशको अस्मिता लुटाउन पनि सहयोग आउँछ । बन्द गराउन र हिंसा बढाउन विदेशी डलर आएको कारण एक देशको रुपमा नेपालमा स्थायित्व आउन नसकेको सबैले भोगेकै छौँ । महिला आन्दोलनमा सहयोग आयो भन्दैमा पैसाका लागि सामाजिक विग्रहमा नलागौँ ।

महिला पदमा देखिँदा महिला अधिकारका लागि तलब लिएकालाई अर्को ‘प्रपोजल’ बनाउन अवश्य सजिलो हुन्छ । तर, तिनै महिलाले समाजको विकासका लागि कति कार्य गरे भन्ने हिसाबकिताब राख्नु पर्छ कि पर्दैन ? अहिलेसम्म सहभागिताको नाममा प्रतिनिधिसभामा महिलाको संख्या त पुर्‍याइयो तर देशको हक हितमा कति काम भयो ? यो प्रश्न महिलालाई मात्र होइन, पुरुष सांसदका लागि पनि उत्तिकै सान्दर्भिक छ । यो देशमा दुई, चार जना नेताले चाहेको कुरा भइरहेको छ, जनप्रतिनिधि बेकम्मा साबित भइरहेका छन् । यस्तो अवस्थामा जनताका प्रतिनिधि सशक्त हुने कि कोटा पूर्ति गर्ने मूर्ति भइरहने ?

महिला नेतृत्वमा पुग्नुपर्छ तर महिलाको मात्र हक हित हेर्ने होइन समाज बनाउने, राष्ट्र बनाउने महिला हुनुपर्छ । विद्यादेवी भण्डारी राष्ट्रपति भएपश्चात महिलाको हकहितमा केही फरक प¥यो कि परेन भनेर विवाद गर्नु परोइन । तिनले समाज परिवर्तन गर्न सकिन् कि सकिनन् भनेर मूल्यांकन गरौँ । राष्ट्रपतिले सुख, सुविधाको मोहमा राष्ट्रको ढुकुटीमा पारेको असरका बारेमा गीत नै बनिसकेको अवस्थामा धेरै लेखिरहनु परेन । 

काठमाडौं मेलम्चीको पानी पर्खेर घाँटी सुकाइरहेको छ । महिला मन्त्रीको पालामा कामले गति लियो कि? भ्रष्टाचार कम भयो कि? त्यस्तै, एक दुई प्रधानमन्त्रीका सशक्त पत्नी देखिए, पतिलाई कामको निर्देशन दिंद अर्बौं हसुरे । अब मञ्चमा त्यस्ता भए पनि कुनै न कुनै महिला देखिनै पर्‍यो त ? त्यस्ता भए हाम्रा साथीलाई मान्य हुने हो ? 

अध्ययनशीलता, क्षमता, समाजको हित गर्ने सशक्त चाहना र इमानदारी महिला वा पुरुष कुनै एक लिंग विशेषमा हुने गुण होइन । कतिपय महिला छन् जसको नाम लिँदा छाती चौडा हुन्छ । महालक्ष्मी, महासरस्वती, दुर्गा भवानीको उपमा दिएर महिलालाई चुप लगाउने बहाना गरेको हैन । सीता र भृकुटी पनि पुरातन भए । तर, सुशीला कार्कीले लोकमानसिंह कार्कीविरुद्ध कारबाही गर्ने तयारी गर्दा त कुनै लिंग विशेषमात्र खुसी भएको थिएन । बन्दना राणा संयुक्त राष्ट्रसंघको महिला हिंसा अन्त्यका लागि बनेको समितिमा उपसभापति बनेर देखाउँदा सबैलाई गर्व भएकै थियो । बबिता बस्नेतले मञ्चबाट सबैलाई प्रभावित गर्ने वक्तव्य दिँदा वा यशोदा तिमिल्सनाले सूचनाको हकका लागि मुठी बटारेर दबाब दिँदा वा महिला हितका कार्यक्रम चलाउने आरती चटौत र निर्मला शर्मालगायतका अनेक महिलाले क्षमता देखाउँदा किन प्रश्न उठ्दैन ? मञ्जुश्री थापा, सरु श्रेष्ठ, चाँदनी जोशी, प्रमदा शाह, रमयता लिम्बु, रागिनी उपाध्याय, मिथिला शर्मा, निशा शर्मा, करिश्मा मानन्धर, रेखा थापा, नविना लामा, पुष्पा भुषाल, बिन्दा पाण्डे, पम्फा भुषाल, रञ्जु दर्शना, मोहना अन्सारी, सलोनी सिंह, दुर्गा घिमिरे, अंगुरबाबा जोशी जस्ता कैयौं नाम छन् जसले आफ्नो क्षमताको आधारमा आ–आफ्नो क्षेत्रमा योगदान गरेका छन् । 

पुरस्कारमा, मञ्चमा, तस्बिरमा, पदमा लिंग हेरेर बस्दैमा महिलाको हित हुने कुरामा कमसेकम यो लेखक विश्वास गर्दैन । मञ्चमा बसेर कुनै विचार व्यक्त गर्न नसक्ने एउटा महिला थपना राखेर महिला हित आत्मसात गर्न नसकेको पुरुषको भेलामा सहभागिता जनाउन जानुभन्दा महिला हितका लागि राष्ट्रिय नीतिमा परिवर्तन ल्याउन दबाब सिर्जना गर्नसक्ने पुरुषमात्र भएको मञ्च बढी सान्दर्भिक होइन र ? फेरि महिला हक र हितका लागि समाज परिवर्तन गराउन खोज्नेविरुद्ध उठेका महिलाको अर्को समूहलाई कसरी हेर्ने जसले परिवर्तनकारी शक्तिलाई डलरवाली भन्ने गरेका छन् ? हाम्रा साथीहरूलाई महिला भए डलरवाली भनेर गाली गर्ने पनि ग्राह्य हुन् त ?

भन्न खोजिएको महिला र पुरुष भनेर जसरी नागरिकतामा छुट्याउन हुँदैन त्यसरी नै मञ्चमा पनि छुट्याउन हुँदैन । कुनै पनि व्यक्ति समाजको हितका लागि बोल्छ, समाजमा समानताको लागि आवाज उठाउँछ भने सो व्यक्तिको लिङ्ग हेरेर उसलाई बहिष्कार गर्नुको औचित्य हुँदैन । लिङ्ग, धर्म, वर्ण, क्षेत्र, नाताजस्ता विषय हेर्न छाडेर चरित्र हेर्ने कार्य गरेको भए नेपाली समाज अहिलेसम्म धेरै माथि पुगिसक्थ्यो । तर अफसोच्, अब त मञ्चमा पनि लिङ्ग हेर्नुपर्ने अवस्था हुनलाग्यो । त्यसैले साथी माफ पाऊँ म त्यस संस्थाको निमन्त्रणा स्वीकार गर्न नसक्ने भएँ !  

प्रतीक प्रधान

प्रतिकृया दिनुहोस
ad