काठमाडौं । नेपालीमा एउटा उखान छ– अजिंगरको आहार दैवले पुर्याउँछ । छिमेकीको घरमा चलचित्र हेरेर हिरो हुने रहर पालेका विल्सवविक्रम राईको जीवनमा पनि यो उखान चरितार्थ भयो । राई ९ वर्षका थिए । चलचित्र ‘साथी’ को सुटिङ उनको गृह जिल्ला झापा पुग्यो । राई सुटिङ स्पट नजाने कुरै थिएन । उनले टेलिभिजनमा देखेको राजेश हमाल हिरो थिए, ‘साथी’मा ।
‘साथी’मा बाल कलाकारको खोजी भइरहेको रहेछ । उनले राजेश हमाललाई भेटे र भने, “आई विल लाइक टु प्ले द मुभी, आई वील लाइक द एक्टर” राजेश हमाल विल्सनको साहस देखेर छक्क परे । विल्सन सम्झिन्छन्, “उहाँ (राजेश हमाल) मुस्काउनु भयो र धाप मार्नुभयो ।” उनीसँग अझै पनि त्यो बेला राजेश हमालसँग खिचेको फोटो अझै सुरक्षित छ रे !
निर्देशक लक्ष्मीनाथ शर्माले ‘साथी’मा राईलाई बे्रक दिए । राजेश हमाल, करिष्मा मानन्धर, नीर शाह, गौरी मल्ल, मिथिला शर्मा, नारायण त्रिपाठीसँगै राई पनि चलचित्रमा देखिने भए । मनको ब्यग्र इच्छा पूरा हुने भयो । मनै फुरुङ्ग ।
एक दिन पूरै लाग्यो सुटिङ गर्न । झापा मोफसलको शहर । त्यसमा पनि सेमी भिलेज । नेपाली चलचित्रको ‘गोल्डेन युग’ चलिरहेको समय । राजेश हमाल त्यो समयको ‘मोष्ट डिमान्डेड’ नायक । अनि त्यही नायकसँग विल्सनको हिमचिम । गाउँमा पूरै हल्लियो राजेश हमालले विल्सनलाई चिन्छ भनेर । विल्सनको पूरै गाउँ ‘साथी’ चलचित्रको रिलिज डेटको प्रतिक्षामा बस्यो ।
चलचित्र रिलिज हुने भयो । पहिलो दिन नै उनी हेर्न गए । पूरै एक दिन लगाएर सुटिङ गरेको । कस्तो देखाउँछ, कति समय देखाउँछ होला, कस्तो देखिन्छु होला ? यस्तै प्रश्न मात्रै थिए उनको दिमागमा ।
चलचित्र सुरु भयो हलमा । प्रतिक्षाको घडी समाप्त भयो । तर, चलचित्रमा झुलुक्क एक पटक पो देखाउँछ । कि राजेश हमाललाई देखाउँछ कि कुकुरलाई । अनि बाँकी कलाकारलाई । फेरि फेरि देखाउला देखाउला भन्दाभन्दै पर्दामा चलचित्रको प्रिन्ट लाइन आयो तर विल्सनलाई थप देखाएन । झुलुक्कमै सकियो उनको रोल ।
“कुकुरलाई जति पनि देखाएन मलाई,” हाँसोको फोहोरा छोड्दै पहिलो चलचित्रमा आफ्नो रोलको कहानी सुनाए विल्सनले, “मुस्किलले पज गर्दा मात्रै देखिन्थ्यो मलाई । आएँआएँ त्यही हो म भन्दाभन्दै मेरो रोल सकियो ।”