
काठमाडौं । प्यालेस्टाइनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम गर्ने र इजरायलसँग बन्धकको रिहाइका निम्ति मध्यस्थकर्ताको नयाँ प्रस्तावमा सहमति जनाएको छ । प्यालेस्टाइनी समूहको एक स्रोतले बेलायती अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीसित यो विषय पुष्टि गरेको हो ।
इजिप्ट र कतारको यो प्रस्ताव गएको जुनमा अमेरिकी राजदूत स्टीव विटकफले दिएको ढाँचामा आधारित रहेको जनाइएको छ ।
यो योजना अनुसार, पहिले ६० दिनको युद्धविराम लागु गरिनेछ । त्यसपछि हमासले बाँकी ५० इजरायली बन्धकलाई दुई समूहमा रिहा गर्नेछ । यीमध्ये २० जना जीवित रहेका विश्वास गरिएको छ । त्यसपछि स्थायी युद्धविरामका निम्ति वार्ता अगाडि बढाइनेछ ।
नयाँ प्रस्तावमा हमास सहमत भए पनि इजरायलको प्रतिक्रिया अझै आएको छैन ।
गएको साता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सबै बन्धकलाई एकैचोटि रिहाइको सम्झौता मात्र स्वीकार गर्ने बताएका थिए । नेतान्याहूले हमास एकदम दबाबमा रहेको जनाएका छन् ।