
काठमाडौं । देशका केही सानाठूला नदीमा आज (साउन ३०) पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस दिन ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, म्याग्दी, गुल्मी, रोल्पा, रुकुम पश्चिम, कालीकोट, बाजुरा, बझाङ, डोल्पा, मुगु, हुम्ला र दार्चुलामा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको ‘मध्यम’ सम्भावना रहने औँल्याइएको छ । यी जिल्ला भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको अनुमान छ ।
शुक्रबार बिहानको मापनमा कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल छ । कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।