site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संवैधानिक इजलासका विषयमा कानुन व्यवसायीको चासो

काठमाडौं । कानुन व्यवसायीहरूले सर्वोच्च अदालतको संवैधानिक इजलास बस्न नसकेको विषयमा प्रधानन्यायाधीश र वरिष्ठतम् न्यायाधीशको ध्यानाकर्षण गराएका छन् । एक महिनादेखि संवैधानिक इजलास नबस्दा महत्त्वपूर्ण मुद्दाको सुनुवाइ अवरुद्ध भएको भन्दै संवैधानिक कानुन व्यवसायी मञ्चका पदाधिकारी र पूर्वअध्यक्षहरूले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लको ध्यानाकर्षण गरेका हुन् ।

दिउँसो २ बजेदेखि सुरु भएको छलफल एक घण्टासम्म चलेको थियो । “हामी चाँडै इजलास बस्ने सुनिश्चितता गछौँ र सुनुवाइ पनि अघि बढ्छ भनेर प्रधानन्यायाधीशज्यूले भन्नुभएको छ,” संवैधनिक कानुन व्यवसायी मञ्चका अध्यक्ष ओमप्रकाश अर्यालले बाह्रखरीसँग भने, “के कारणले बस्न सकेन, नमिलेको विषय के हो भनेर हामी पनि प्रवेश गरेनौँ, उहाँहरूबाट पनि त्यो विषय आएन ।” 

उनले आफूहरूको चासो इजलास बसोस् भन्ने रहेकोमा प्रधानन्यायाधीशबाट पनि चाँडै बस्छ भन्ने जानकारी आएको बताए । मञ्चका पूर्वअध्यक्ष दिनेश त्रिपाठीले छलफल सकारात्मक भएको भन्दै दुवै पक्षबीच छलफल जारी राख्ने र सुधारका सुझाव निरन्तर गर्ने समझदारी बनेको बताए । 

उनले संवैधानिक इजलास चाँडै बस्ने व्यवस्था गर्ने भनेर प्रधानन्यायाधीशले बताएपछि त्यस विषयमा धेरै समय नखर्चिएको बताए । सर्वोच्च अदालतमा न्यायाधीशहरूबीच नै मतभेद हुँदा संवैधानिक इजलास गठन हुन सकेको छैन । प्रधानन्यायाधीश राउतले गोला प्रणालीबाटै संवैधानिक इजलास बनाउने प्रस्ताव फूलकोर्ट बैठकमा राखेपछि न्यायाधीशहरू विभाजित भएको थिए ।

वरिष्ठतम् न्यायाधीश मल्लले गोला प्रणालीबाट संवैधानिक इजलास गठनको प्रस्ताव अस्वीकार गरेपछि न्यायाधीशहरू पक्ष र विपक्षमा उभिँदा विवाद बढेको थियो । यसअघिको संवैधानिक इजलासमा प्रधानन्यायाधीश नै अल्पमतमा परेर ५२ पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा संवैधानिक प्रश्नबाटै इजलास पन्छिएर आदेश गरेको थियो । त्यसयता इजलास अलग बनाउने अभियानमा लागेको आरोप प्रधानन्यायाधीशमाथि न्यायाधीशहरूबाटै लागेको छ ।

उनीहरूले संवैधानिक इजलास गठनको अधिकार प्रधानन्यायाधीशकै भएकाले रोजेर इजलास गठन गर्दा आफूहरूले असहमति नजनाउने भन्दै गोला प्रणाली भने नस्वीकार्ने बताउँदै आएका छन् । त्यहीकारण पछिल्लो समय संवैधानिक इजलास बसिरहेको छैन ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १६:३९
प्रतिक्रिया दिनुहोस्