
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पूर्वमहामन्त्री देवेन्द्रकुमार यादवलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा भित्र्याएका छन् ।
तत्कालीन सद्भावना पार्टीको राजनीतिबाट राजपा हुँदै यादव लोसपामा पुगेका थिए । तत्कालीन राजपामा राजेन्द्र महतोको ‘कोटा’बाट उनी महामन्त्री बनेका थिए । महतो लोसपा छाडेर जातीय समूहमार्फत राजनीतिमा लागेपछि यादव निष्क्रिय बसेका थिए ।
कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव र मधेस प्रदेश सभापति कृष्ण यादवको पहलमा उनलाई पार्टी प्रवेशमा सहमत गराइएको थियो ।
बिहीबार (साउन २९) सानेपामा यादवलाई देउवाले सदस्यता प्रदान गरी स्वागत गरेका हुन् । उनलाई कांग्रेस केन्द्रीय सदस्य बनाउने तयारी छ ।
“उहाँ (देवेन्द्र यादव)ले निःसर्त भन्नुभएको छ । तर, हामी उहाँलाई सम्मानसहित अघि बढाउँछौँ,” सहमहामन्त्री यादवले बाह्रखरीसँग भने, “उहाँलाइ सम्भवतः नेपाली कांग्रेसको केन्द्रीय समितिमा राखेर जिम्मेवारी दिइनेछ ।”
उनले मधेसका अरू पाँच नेता पनि कांग्रेस केन्द्रीय सदस्य बन्ने गरी पार्टी प्रवेशको तयारीमा रहेको सुनाए । कुनकुन पार्टीका नेताहरू प्रवेश गर्ने भनेर अहिले नै खुलाउन नमिल्ने उनको भनाइ छ ।
कांग्रेस प्रवेश गरेका देवेन्द्र यादव पेसाले इन्जिनियर र व्यवसायी हुन् । उनले राजपामा हुँदा विदेश विभाग प्रमुखको समेत जिम्मेवारी सम्हालेका थिए ।