
काठमाडौं । विश्व स्वास्थ्य संगठनले नेपालमा रुबेला उन्मूलन भएको घोषणा गरेको छ । यो सँगै बालबालिकाको प्राणघातक रोग रुबेला उन्मूलनमा नेपालले सफलता पाएको हो ।
नेपालको सफलतामा विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बधाई दिएको छ ।
संगठनका दक्षिण पूर्वी एसिया कार्यालय प्रमुख डा. क्याथरिना बोएह्मले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सोमबार पत्र पठाउँदै सो बधाई दिएका छन् ।
लामो समयदेखि प्रयास भइरहे पनि बालबालिकाको ज्यान लिने कारक यस रोगको उन्मूलन हुन सकेको थिएन । केही समययता नेपालले गरेको प्रगतिको मानकलाई आधार मानेर विश्व स्वास्थ्य संगठनले नेपालमा रुबेला उन्मूलन भएको घोषणा गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमार्फत यस कार्यमा सक्रिय सबै स्वस्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालगायत साझेदारहरूलाई धन्यवाद दिएका छन् । रासस