site stats
बाह्रखरी :: Baahrakhari
देश
देशभर मनसुन सक्रिय, २४ घण्टामा सबैभन्दा धेरै वर्षा तनहुँमा

काठमाडौं । देशभर हाल वर्षा गराउने प्रणाली मनसुन सक्रिय छ । मनसुनको न्यूनचापीय रेखा नेपालको तराई आसपास (सरदर स्थानभन्दा केही उत्तरतिर) रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहँदा नेपालमा वर्षाको सम्भावना बढी हुन्छ । देशभर त्यसको प्रभाव पर्ने हुन्छ ।

पछिल्लो २४ घण्टा (सोमबार दिउँसो ३ बजेसम्म)मा केही जिल्लामा भारी वर्षा भएको छ । तनहुँ, कास्की, सिन्धुपाल्चोक, बारा, कञ्चनपुरलगायत जिल्लामा भारी वर्षा भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, यो अवधिमा सबैभन्दा धेरै पानी तनहुँको श्याम्घामा ११४ मिलिमिटर परेको छ ।

यस दिन राति कोसी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना छ । मधेस र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षाको पूर्वानुमान छ ।

के हो भारी वर्षा ?
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्