
काठमाडौं । इस्लिङ्टन कलेजले आईएनजी स्किल एकेडेमी, काठमाडौंको सहकार्यमा ‘फ्युचरामा २०२५’ प्रविधि महोत्सव सम्पन्न गरेको छ । यही साउन २१ देखि २३ गतेसम्म इस्लिङ्टन कलेज परिसरमा आयोजित तीनदिने महोत्सवमा नयाँ पुस्ताको सिर्जनशीलता, प्रविधिमैत्री सोच र सीपको प्रभावशाली प्रदर्शन गरिएको थियो ।
प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका स्वचालित सवारीसाधनका मोडल, रोबोटिक सहायक र विभिन्न एनिमेसन अनुभव दर्शकको विशेष आकर्षण बने । साथै, डिजिटल सुरक्षा, कृत्रिम बुद्धिमत्ता (एआई)लगायत विषयमा अन्तरक्रियात्मक कार्यक्रम गरिएको थियो ।
“फ्युचरामाको उद्देश्य प्रविधिमा रुचि राख्ने युवाहरूलाई प्रयोगात्मक सिकाइको अवसर दिनु थियो, जसले उनीहरूमा आत्मविश्वाससँगै दिगोपन र उद्यमशीलताको सोच विकास गर्छ,” कार्यक्रमका प्रमुख समन्वयकर्ता अनिशा आचार्यले भनिन् ।
अन्तिम दिन ‘कफी रेभ’ नामक विशेषसत्र समेत आयोजना गरिएको थियो । तीन दिनमा ३५ सयभन्दा बढी युवाले प्रदर्शनी अवलोकन गरेका थिए ।
निकट भविष्यमै यो महोत्सव नेपालका अरू प्रमुख सहरमा आयोजना गरिने आयोजकले जनाएको छ ।