
बागलुङ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कालीगण्डकी करिडोरमा पुनः यातायात सञ्चालनमा ल्याइएको छ ।
बागलुङ नगरपालिका–१२, कालाखोलामा सडकमाथिबाट पहिरो खस्दा शुक्रबार (साउन २३) साँझ ७ बजेदेखि करिडोर पूर्ण रूपमा अवरुद्ध थियो । शनिबार (साउन २४) बिहान १० बजेदेखि सडक सञ्चालनमा ल्याइएको जिप्रका बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।
करिडोर अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको यातायात विच्छेद भएको थियो । सडक सञ्चालनमा ल्याइएपछि मुस्ताङतर्फ हिँडेका पर्यटक गाडी र बागलुङदेखि बुटवल, भैरहवा र सुनौलीलगायत स्थानमा जाने सवारीसाधान गन्तव्यतिर लागेको प्रहरी निरीक्षक थापाले बताए ।
उनले भने, “राति नै सडक खुलाउने प्रयास गरेका थियौँ, तर भारी वर्षा भइरहेको र पहिरो पनि खसिरहेको हुँदा खुलाउन सकिएन । आज बिहानैदेखि मेसिन लगाएर सडक खुलेको छ । सडक खुलेपछि अलपत्र सवारी र यात्रु गन्तव्यतर्फ लागेका छन् ।” रासस