
प्रकाशचन्द्र खतिवडा
साइरन बजाउँदै कलमले
अब नेटो काटे हुन्छ
अग्निशिखाहरू दन्किरहेछन्
चेतनाका सदाबहार बिगुलहरू बजाउँदै
ओ कवि !
आक्रोशका कविताहरू लेख ।
जोडदार चिच्याऊ, कराऊ
भावनाहरू सीमाभित्र कैद गरिनु हुन्न
कविता स्वच्छन्द बग्न देऊ
जन्जिरले नबाँध
बन्धक नबनाऊ
कविको कवितालाई ।
उन्मुक्त हाँसो थिएन
भावनाहरू साट्नै नपाई
पीडाले पिल्सिएको शरीर घसारेर
छट्पटाउँथ्यो, तड्पिन्थ्यो कवि
ऊ आफैँभित्र लेख्थ्यो
भित्रभित्रै निसास्सिएर
ऊ आफैँभित्र पढ्थ्यो
भित्रभित्रै छट्पटिएर
सपनाहरू बाजले लुटी लान्थे
चाहनाहरू गिद्घले ठुङी जान्थे ।
न उसको कुनै मान्यता थियो
न त महत्ता नै
ऊ बन्दीगृहमा थियो
कुनै ज्यानमाराजस्तो
निर्मम यातना दिएर
सियोले शरीर घोप्दै
उसलाई पाता कसेर लडाइएको थियो
ऊ मौन थिएन
बन्दीगृहमा चिच्याइरहेकै थियो
हराएको मानवता नभेटेपछि ।
उफ् !
यो अमानवीयताको पीडा
कहिलेसम्म थेग्नुपर्ने ?
मानवताको पक्षधर कवि
दानवको घेराबन्दीमा परी
स्वतन्त्रता गुमाएर
आफ्नै कविताको
आफ्नै भावनाको
सिराने लगाई
एक निन्द्रा सुत्नै पाउँदैन कवि ।
चाटुकार शब्दहरू थोपरेर
कार्टुन शब्दहरूको फुर्को हाली
भजन गाउनेहरू
कीर्तन फलाक्नेहरू
दासतावादी सोच बोकेर
प्रतिष्ठानमा विराजमान थिए
घुम्ने कुर्सीमा सयर गर्दै
ऐसआराममा थिए
तक्मा र पुरस्कार एकलौटी हत्याई
जदौ हजुर गरिरहेका थिए
जबकि,
जनताका कविहरू
पर्खालभित्रै थुनिएका थिए
यातना शिविरमै घायल बनाइएका थिए
मानवता रोई बसेथ्यो
कविहरूको दुर्दशा देखेपछि ।
यातना शिविरबाटै
युद्धको नगरा बजाएर
सैतानहरूको ताण्डव नृत्य हेर्दै
सैतानहरूकै पदच्युतको दिनगन्ती गन्दै थिए कवि
तानासाह बेजोडले हाँसेथ्यो
मृत्यु आमनेसामने घुमेपछि ।
ओ कवि !
अलिकति
समय सुल्टिएको बेला
अलिकति
मिर्मिरे छाएको बेला
आऊ
सम्भावित कलम युद्घ गरौँ
सम्भावित तर्क युद्घ गर्दै
साइरन बजाएर कलमले
मुक्तिका कविता लेखौँ
स्वतन्त्रताका गीत लेखौँ ।
आऊ प्रिय कवि,
गगनभेदी नारा लगाउँदै
एक मुस्लो नारा उचालेर पछारेर
चाटुकार शब्दहरू मुर्दावाद
कार्टुन शब्दहरू मुर्दावाद
भाट साहित्यकार मुर्दावाद
जनएकता जिन्दाबाद
युग हाम्रो हो
युगान्तकारी कथा लेखौँ ।
(सुन्दरहरैँचा–०६, मोरङ)