site stats
बाह्रखरी :: Baahrakhari
खेल
टिकटक बन्यो एभरेस्ट महिला भलिबल लिगको इन्टरटेनमेन्ट पार्टनर

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभी)को दोस्रो संस्करणका लागि टिकटक आधिकारिक इन्टरटेनमेन्ट पार्टनरको रूपमा जोडिएको छ । आयोजक इन्फिनिटी ड्रिम्सले बिहीबार प्रेस विज्ञप्तिमार्फत टिकटक लिगको आधिकारिक मनोरञ्जन पार्टनर बनेको जानकारी दिएको हो ।

एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण सेप्टेम्बर ५ देखि सेप्टेम्बर १३ (भदौ २० देखि २८ गते) सम्म आयोजना हुँदै छ ।

टिकटकसँगको साझेदारी नेपालको राष्ट्रिय खेलका लागि एक परिवर्तनकारी अध्याय रहेको आयोजकले जनाएको छ ।

"विश्वकै चर्चित छोटो भिडियो प्लेटफर्म टिकटक अब वात्सल्य ईडब्लूभी लिगको अन्तर्राष्ट्रियकरण, राष्ट्रिय भावना, महिला खेलाडीहरूको सशक्तिकरण र सांस्कृतिक महत्त्वलाई अझ फैलाउने उद्देश्यका साथ भलिबल कोर्टमा प्रवेश गर्दै छ," विज्ञप्तिमा उल्लेख छ ।

टिकटक साउथ एसियाका कन्टेन्ट अपरेसन लिड उमैस नविदले एभरेस्ट महिला भलिबल लिगसँग सहकार्य गर्न पाउँदा टिकटक निकै उत्साहित रहेको बताए ।

"हामी यसलाई नेपाली राष्ट्रिय खेललाई उत्सवको रूपमा मनाउन, महिला सशक्तिकरणमा टेवा पुर्‍याउन र नेपाली भलिबललाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने ऐतिहासिक अवसरको रूपमा हेरिहरेका छौँ," उनले भने ।

सहकार्यअन्तर्गत वात्सल्य ईडब्लूभी र टिकटक मिलेर टिम र खेलाडीहरूको पर्दा पछाडिको भिडियो सामग्री निर्माण गर्ने, इन्स्टाग्राम–टिकटक च्यालेन्ज (#EWVOnTikTok #AbaPaloMahilako) प्रयोग गरेर गर्ने, भलिबल स्टारहरूसँग कन्टेन्ट क्रिएटरको सहकार्य गर्ने, डिजिटल दर्शकहरूका लागि हाइलाइट भिडियो र लाइभ अपडेटहरू प्रदान गर्ने, स्टेडियममा दर्शकहरूले आफैँ भिडियो बनाउन सक्ने टिकटक जोनहरू बनाउनेजस्ता गतिविधि रहनेछन् ।

एभरेस्ट महिला भलिबल लिग एसियाकै पहिलो पसागत महिला भलिबल फ्रेन्चाइज लिग हो । दोस्रो संस्करणका लिगका लागि खेलाडीको अक्सनसमेत गरिएको थियो । यस लिगलाई नेपाल भलिबल संघले पनि स्वीकृति प्रदान गरेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  २२:०८
प्रतिक्रिया दिनुहोस्