
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका पदाधिकारी र जनप्रतिनिधिले अबदेखि आफ्ना सन्तानलाई अनिवार्य रूपमा सार्वजनिक विद्यालयमै अध्ययन गराउनुपर्ने बताएका छन् । बिहीबार (साउन २२) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
केन्द्रीय कमिटीको बैठकपछि आफूले काठमाडौंमा पार्टीका नेता एवं जनप्रतिनिधिको भेला गरेर आफ्ना सन्तानलाई सार्वजनिक विद्यालयमै अध्ययनका निम्ति पठाउने व्यवस्था गर्न निर्देशन दिइसकेको उनले स्पष्ट पारे । उक्त निर्णय लागु भइरहेको उनको भनाइ थियो ।
अब पार्टीका नेताहरूलाई आफ्ना सन्तान पढाउन विदेश नपठाउने निर्णय गरिएको उनले बताए । आफ्ना सन्तान कसैले पनि विदेशमा अध्ययन नगरेको उनले सुनाए ।
कार्यक्रममा प्रचण्डको भनाइ पढ्नोस्–
मैले अस्ति भर्खरै पार्टीको केन्द्रीय समितिको बैठकपछि माओवादी केन्द्रको नेतृत्वमा भएका १२३ वटा सरकार प्रमुख, उपप्रमुख र पार्टी नेताहरूको काठमाडौंमा भेला गरेर एउटा निर्णय गरिएको छ । त्यो लागु भइरहेको छ । अब सबै स्थानीय सरकारका नेताहरू र स्थानीय पार्टीका नेताहरूले सार्वजनिक विद्यालयमा नै विद्यार्थी पढाउनुपर्ने र निजी क्षेत्रमा नजाने, विदेश नपठाउने भन्ने निर्णय भएको छ । म सबैभन्दा ठूलो नेता पार्टीको, माओवादीको अध्यक्ष, मेरा कुनै पनि छोराछोरी विदेश पढ्न गएका छैनन् । पार्टी केन्द्रमा अब सबै नेताहरूले आफ्ना छोराछोरीलाई सार्वजनिक स्कुलमा पढाउने, विदेश नपठाउने भन्ने छलफल भएर निर्णयतिर गइरहेका छौँ । न्युज एजेन्सी नेपाल