site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई घरमै नजरबन्दमा राख्न आदेश

काठमाडौं । ब्राजिलका एक न्यायाधीशले पूर्वराष्ट्रपति जेयर बोल्सोनारोलाई सामाजिक सञ्जाल प्रतिबन्ध उल्लंघन गरेको आरोपमा घरमै नजरबन्दमा राख्ने आदेश दिएका छन् । 

सोमबार आएको यो निर्णयले अदालत र दक्षिणपन्थी राजनीतिज्ञ बोल्सोनारोबीचको तनावलाई झन् चर्काएको समाचार संस्था एएफपीले जनाएको छ ।
 
बोल्सोनारोलाई सन् २०२२ मा वामपन्थी उमेदवार लुइज इनासियो लुला दा सिल्भासँगको निर्वाचनमा पराजयपछि सत्ता कब्जा गर्ने योजना बनाएको आरोप लागेको छ । 

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगीसमेत रहेका बोल्सोनारोविरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ । 
गत महिनामा उनलाई खुट्टामा इलेक्ट्रोनिक निगरानी उपकरण (ब्रेसलेट) लगाउने र सामाजिक सञ्जाल प्रयोग गर्न निषेध गर्ने आदेश दिइएको थियो ।
 
उनले आफ्ना छोराहरू र सहयोगीहरूद्वारा सामाजिक सञ्जालमा साझा गरिएका उग्र भाषणमार्फत मुद्दालाई प्रभाव पार्ने प्रयास गरेको आरोप लागेको थियो ।

प्रतिबन्धअनुसार, तेस्रो पक्षलाई पनि बोल्सोनारोका सार्वजनिक अभिव्यक्ति सेयर गर्न निषेध गरिएको छ । तर, आइतबार उनका समर्थकहरूले ब्राजिलभर आयोजित समर्थन र्‍यालीमा पूर्वसैन्य क्याप्टेन बोल्सोनारो र उनका छोराबीचको प्रत्यक्ष संवाद प्रसारण गरेर अदालतको आदेश उल्लंघन गरेका थिए ।

एएफपीले प्राप्त गरेको सोमबारको फैसलाको पत्रमा न्यायाधीश अलेक्जान्ड्रे डे मोराएसले कुनै पनि प्रतिवादीले आफ्नो राजनीतिक र आर्थिक शक्तिको आडमा न्यायपालिकालाई मुर्ख बनाउन नपाउने बताएका छन् । 

उनले अदालतको प्रतिबन्धको पटकपटक पालना नगरेको भन्दै उनलाई राजधानी ब्रासिलियास्थित घरमै नजरबन्दमा राख्न आदेश दिएका छन् । एएफपी

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  ०७:१०
प्रतिक्रिया दिनुहोस्