site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
साढे ८२ करोड लगानीमा धनगढीमा चारतारे होटेल बन्दै
फाइल तस्बिर ।

काठमाडौं । निजी लगानीमा सुदूरपश्चिमको धनगढीमा चारतारे होटेल निर्माण सुरु भएको छ । आफ्नो घर टेम्पल रिसोर्ट प्रालिले ९५ कोठा भएको रिसोर्ट बनाउन लागेको हो । रिसोर्टको अनुमानित लागत ८२ करोड ४० लाख रुपैयाँ रहेको छ । 

रिसोर्ट बनाउन ५५ करोड रुपैयाँ ऋण र बाँकी २७ करोड ५० लाख रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी भएको छ । कुल स्वपुँजीमध्ये ४७ प्रतिशत अर्थात् १३ करोड रुपैयाँ लगानी भइसकेको रिसोर्टले रेटिङका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । 

रिसोर्टले ५६ करोड रुपैयाँ ऋणको रेटिङ गर्दा ‘ए’ फोर स्कोर प्राप्त गरेको छ । यसअघि रिसोर्ट पूर्वाधार बनाउन ७४ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । पछि सुविधा थप भएपछि बढेर ८२ करोड रुपैयाँ पुगेको आफ्नो घरले जनाएको छ । 

होटेल आउँदो सन् २०२८ को जनवरीदेखि सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ । 

होटेलमा बसोबासका साथै क्यासिनो, व्यापार केन्द्र सुविधा, स्विमिङ पूल, स्पा, जिम सेन्टर र रेस्टुरेन्टलगायत अत्याधुनिक सेवा दिने भएको छ । होटेल उच्च गुणस्तरको फर्निचर र एकरूप डिजाइनका साथै विलाशी सेवा हुने बताइएको छ । 

होटेल सुदूरपश्चिमको केन्द्रविन्दु धनगढीमा रहेको छ । धनगढी विमानस्थलबाट आठ किलोमिटर दुरीमा रहेको छ । यो ठाउँबाट नेपाल–भारत सीमा सहरमा सजिलै पुग्न सकिन्छ । यो स्थान साप्ताहिक बिदा मनाउनको लागि रुचाइएको छ । प्रमुख आकर्षण गन्तव्यमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, घरेलु र भारतीय पर्यटकहरूलाई आकर्षित गर्ने मनपर्ने वन्यजन्तु अन्वेषण गन्तव्यहरूमध्ये एक घोडाघोडी र जोखर ताल समावेश रहेको छ ।

आफ्नो घर टेम्पल रिसोर्ट प्राइभेट लिमिटेड सन् २०१२ देखि अस्तित्वमा आएको हो । कम्पनीमा तीन सदस्यीय सञ्चालक समिति छ ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १७:२२
प्रतिक्रिया दिनुहोस्