site stats
बाह्रखरी :: Baahrakhari
देश
तीन घण्टामा यी स्थानमा भयो भारी वर्षा
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा शनिबार (साउन १७) राति र आइतबार (साउन १८) बिहान भारी वर्षा भएको छ । उदयपुर, सिरहामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उदयपुरका गाईघाट, मुरखुचीबजार, चुरेमाई, सिरहाको लहानलगायत स्थानमा भारी वर्षा भएको छ । त्रियुगा, चहका खोलामा बहाव बढ्ने सम्भावना रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

“साउन १८ गते, बिहान १ः३० बजे । पछिल्लो तीन घण्टामा उदयपुर जिल्लास्थित गाईघाट, मुरखुचीबजार, चुरेमाई वर्षामापन केन्द्रहरूलगायत सिरहा जिल्लास्थित लहान, सिरहा हाइड्रो वर्षामापन केन्द्रहरू र आसपासका क्षेत्रहरूमा भारी वर्षा मापन भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले सो क्षेत्र भई बहने त्रियुगा खोला, चहका खोलालगायत अन्य स–साना खोलाहरूमा बहाव बढ्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।

कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

efmg-1754179411.jpg
 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  ०५:४८
प्रतिक्रिया दिनुहोस्